काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी (डिसीईओ) अधिकृतमा खड्काले राजिनामा दिएका छन्। सिनियर डिसीईओ खड्काले मंसिर ६ देखि लागू हुने गरी राजिनामा दिएका हुन्।
उनी तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा २०७८ मा प्रमुख कार्यकारी नियुक्त भएका थिए। कम्पनी तत्कालीन ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जर भएर एकीकृत कारोबारमा आएको सूर्यज्योति लाइफ इन्स्योरेन्समा २०७९ पुसयता खड्काले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्दै आएका थिए। उनले २०८१ मंसिर १६ गतेदेखि लागू हुने गरी राजिनामा दिएका हुन्।
खड्काको बिमा, उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल कन्सल्टिङलगायत क्षेत्रमा १७ वर्ष लामो अनुभव छ। उनले बिमा कम्पनीको उच्च व्यवस्थापनमा मात्रै करिब ९ वर्ष काम गरिसकेका छन्। खड्काले नेपाल लाइफमा पनि काम गरेका थिए।
उनको बिमा विज्ञतालाई सदुपयोग गर्न आइएमई लाइफ इन्स्योरेन्स तयार भएको छ। कम्पनीको प्रमुख कार्यकारी अधिकृत ४ महिनायता खाली छ।
तत्कालीन सीईओ कविराज फुँयाल कम्पनीबाट बाहिरिएपछि कम्पनी सञ्चालक समिति व्यवस्थापन बागडोर सम्हाल्ने योग्य व्यक्ति खोजीमा छ। कम्पनी सञ्चालकले अन्य जीवन बिमा कम्पनीको सीईओ तथा डिसीईओलाई आफ्नो कम्पनीमा ल्याउन विभिन्न चरणमा अन्तर्वार्तासमेत गरिसकेको छ।
गत साता मात्रै सूर्यज्योतिका डिसीईओ खड्काले समेत आइएमई लाइफका सञ्चालक समितिमा सीईओका लागि अन्तर्वार्ता दिएका थिए। अन्तर्वार्तामा आइएमइका सञ्चालक सकारात्मक भएपछि खड्काले सूर्यज्योतिमा डिसीईओ पदबाट राजिनामा दिएका हुन्।