काठमाडौं। काठमाडौं उपत्यकाको अटोमोबाइल हबको रुपमा परिचित छन्,थापाथली, नक्साल र टेकु। यी ठाउँमा धेरै ब्रान्डका शोरुम, सर्भिस सेन्टर, चार्जिङ स्टेसन मात्रै नभई हरेक प्रकारका सामग्री पाइन्छन्।
एक हिसावले भन्दा दर्जनौं ब्रान्डका गाडी, तिनका पाट्सलगायत सम्पूर्ण सामग्री पाउने थलो हो। क्रेता र बिक्रेतालाई हरेक प्रकारका अप्सन त्यहाँ छन्। आजको दिनमा नयाँ सवारी साधान किन्नदेखि त्यसका पार्टपूर्जा खरिदसम्मका लागि नक्साल, थापाथली र टेकु स्थापित र व्यवस्थित गन्तव्य बनिरहेको अवस्थामा नयाँ हब पनि थपिएको छ।
सडक नजिकका अधिकांश सटर अटोब्रान्डले नै ओगटेका कारण यी ठाउँलाई अटो हबको रुपमा चर्चा गर्ने गरिन्छ। तर, अटोमोबाइल्स बजार विस्तार हुँदै जाँदा उपत्यकाका अन्य ठाउँहरु पनि अटो हबको रुपमा विकसित भइरहेका छन्। त्यस्तै मध्येको एक हो– भक्तपुरको राधेराधे।
भक्तपुरको राधेराधे काठमाडौं उपत्यकाको नयाँ तथा थप अर्को अटो केन्द्रको रुपमा विकसित हुँदै गएको क्षेत्र हो, जहाँ अधिकांश अटोब्रान्डको उपस्थिति छ। अझ विद्युतीय गाडीको सोरुम खुल्नेको लर्को नै देख्न सकिन्छ।
सहरका अन्य ठाउँमा भिडभाड बढ्दै गएपछि आफ्नो ब्रान्डको नेटवर्क विस्तार गर्न तथा सहज ठाउँको खोजीमा एकपछि अर्को गर्दै दजनौं ब्रान्ड भक्तपुर राधेराधेमा पुगिसकेका छन्।
भक्तपुरको भाटभटेनीसँगै स्काइवेल ब्रान्डको शोरुम देख्न सकिन्छ। त्यहाँबाट केही अगाडि अर्थात् राधेराधे र नयाँ ठिमीबीचबाट अन्य ब्रान्डको शोरुम पाउन सकिन्छ। एमजी, हुन्डाई, टाटा, सेरेस, डिपल, किया र दुई पांग्रे सवारीसाधन टिभिएस ब्रान्डको शोरुम लस्करै छन्। राधेराधे र नयाँ ठिमीबीचमा १.५ किलोमिटरको दूरीमा ७ वटा ब्रान्डको शोरुम सञ्चालनमा छ भने त्रिवेणी ग्रुपले डोङफेङको भ्यानका लागि नयाँ शोरुम निर्माण गरिरहेको छ।
यसपछि, भक्तपुरको चारदोबाटोमा सिजी मोटर्सको नेटाको शोरुम र दिगो ग्रुपको शोरुम छ। गट्ठाघरमा दुईपांग्रे ब्रान्ड यामाहा, सोकोन भ्यान र एमजीको शोरुम सञ्चालनमै छन्। करिब दुई वर्षको अन्तरालमा मात्रै भक्तपुर क्षेत्रमा दजनौं नयाँ शोरुम सञ्चालनमा आइसकेका छन्। यसले सवारीसाधन खरिदका लागि एकै ठाउँ पुग्दा पनि व्यक्तिले धेरै वटा ब्रान्ड र गाडी हेर्न तथा बुझ्नका लागि सहज बनाएको छ।
राधेराधेमा थप अन्य ब्रान्ड भित्रिने तयारीमा पनि छन्। नेपालमा भित्रिएका पुराना तथा स्थापित ब्रान्डले मात्र नभएर नयाँ–नयाँ दुई पांग्रे र चार पांग्रे ब्रान्डसमेत भक्तपुरमा आफ्नो अटो ब्रान्डको शोरुम खोल्ने योजनालाई पहिलो प्राथमिकतामा राख्न थालेका छन्। राधेराधे भक्तपुर सहरको सेन्टरमा पर्नुका साथै नयाँ बस्ती तथा खुलापन हुनाले पनि अटो व्यवसायीको रोजाइमा पर्न थालेको हो।
भक्तपुर क्षेत्रमा सबैभन्दा पहिला हुन्डाई गाडीको शोरुम सञ्चालनमा आएको र पछि अन्य थप हुँदै गएको लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक दिपक थपलिया बताउँछन्। ‘नेटवर्क विस्तार गर्ने क्रममा भक्तपुरको राधेराधेमा २०२२ हुन्डाई गाडीको शोरुम सञ्चालनमा आएको थियो,’ प्रबन्ध निर्देशक थपलिया भन्छन्, ‘त्यसपछि विस्तारै अन्य ब्रान्डहरु आएका हुन्। अहिले यो क्षेत्र भेइकल हबजस्तो बनेको छ।’ थापाथली र नक्सालपछि भक्तपुर क्षेत्रको ग्राहकलाई समेट्न राधेराधेमा शोरुम सञ्चालन गरेको थपलियाको भनाइ छ।
सिप्रदी ट्रेडिङका भक्तपुर शोरुमका मनिक केसी राधेराधेमा टाटाको शोरुम सञ्चालनमा आएको करिब २ वर्ष पुग्न लागेको बताउँछन्। ‘टाटाको काठमाडौं र ललितपुर दुवैलाई भ्याउने मिड पोइन्टमा शोरुम छ,’ केसी भन्छन्, ‘भक्तपुर, बनेपा क्षेत्रको ग्राहकका लागि काठमाडौं अलि टाढा पर्न जान्छ। हामीलाई भक्तपुर क्षेत्रमा शोरुम आवश्यक थियो। त्यसकारण राधेराधेमा आएको हो।’ उनले भक्तपुर र बनेपालाई समेट्नका लागि उक्त ठाउँमा शोरुम स्थापना गरेको जानकारी दिए।
त्रिवेणी ग्रुपका सुरज भट्टराईका अनुसार शोरुम निर्माण हुन लागेको धेरै भइसकेको छ। राधे राधेमा डोङफेङको सोरुम डिलर अन्तर्गत निर्माण भइरहेकाले कति समयमा सञ्चालनमा आउने हो। सञ्चालनमा आउँछ आउँदैन अहिले नै भन्न नसक्ने बताउँछन्।
भक्तपुर क्षेत्रमा नयाँ–नयाँ भवनहरु बन्दै गएका छन्।
शोरुम खोल्नकै लागि पर्याप्त ठाउँ पनि छ। त्यसमाथि राधेराधे क्षेत्रमा भर्खरै बस्ती बस्दै आएकाले घरभाडा पनि तुलनात्मक रुपमा केही सस्तो छ। अहिले यस क्षेत्रमा ठूला कर्पाेरेट हाउसका अफिस र बैंकहरु पनि खुल्दै गएका छन्। खासगरी भक्तपुर क्षेत्रमा व्यावसायिक गतिविधि बढ्दै गइरहेका छन्। स्काइवेलको शोरुम भने भक्तपुरको राधेराधेमा मात्रै रहेको छ।