काठमाडौं। अर्थ मन्त्रालयले नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी स्कोर प्राप्त गर्नुले लगानीकर्ता, दातृ निकाय र अर्थतन्त्र पारदर्शी रहेको प्रमाण भएको बताएको छ।
प्राप्त रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको संकेत गरेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ।
क्रेडिट रेटिङको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सबल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनुपर्दा न्यून व्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको मन्त्रालयले जनाएकाे छ।
यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्नसमेत सहयोग पुग्ने देखिन्छ। सार्वभौम क्रेडिट रेटिङमा मूलतः अर्थतन्त्रका चार क्षेत्र अर्थतन्त्रको संरचनागत पक्ष, समष्टिगत आर्थिक उपलव्धि, सार्वजनिक वित्त र बाह्य क्षेत्रका आर्थिक परिसूचकको विस्तृत रुपमा लेखाजोखा गर्ने गरिन्छ। मुलुकको सार्वभौम क्रेडिट रेटिङ गर्दा यस्ता पक्षलाई विभिन्न सार्वभौम रेटिङ मोडल र गुणात्मक मापन विधिबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी प्राप्त स्कोरलाई न्यूनतम डीदेखि अधिकतम एएएसम्म रेटिङ प्रदान गर्ने गरिन्छ।
एएएले मुलुकको हाइ क्रेडिट क्वालिटी रहेको देखाउँदछ भने डीले डिफल्टकाे अवस्थालाई इंगित गर्दछ। उक्त प्रक्रियाबमोजिम फिच रेटिङले नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकको अवस्था, बाह्य क्षेत्रका आर्थिक परिसूचक, सोह्रौं योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालीन तथा दीर्घकालीन खाकालगायतका विवरण र तथ्यांकको विश्लेषण गरेको मन्त्रालयले बताएकाे छ।
यसका साथै गुणात्मक मूल्यांकनको चरणअन्तर्गत फिच रेटिङकाे विज्ञ समूहबाट २०२४ सेप्टेम्बर ११ मा नेपालको स्थलगत भ्रमण भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायतका सरकारी निकायका उच्च पदाधिकारसँग परामर्श र छलफल गरेको थियो भने निजी क्षेत्र र नेपालस्थित द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार निकायका अधिकारीसँग समेत परामर्श गरेको थियो।
नेपालले प्रस्तुत गरेको पुर्वाधार विकासको मध्यकालीन र दीर्घकालीन योजना कार्यान्वयनको मूल्यांकन गर्न नमुनाको रुपमा नागढुंगा सुरुङ मार्गको अवलोकनसमेत गरेपछि फिच रेटिङ टोलीले नेपालको सार्वभौम क्रेडिट रेटिङ गरी सोको प्रतिवेदन प्रेषित गरेको मन्त्रालयले जनाएकाे छ। सार्वभौम क्रेडिट रेटिङलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानी वातावरण मुल्यांकनको आधारको रुपमा लिने गर्छन्।
यसले मुलकको अर्थतन्त्रको संरचना र अवस्थालाई स्वतन्त्र विज्ञको आँखाबाट मूल्यांकन गरी यथार्थ अवस्थालाई विश्वभरका लगानीकर्तासमक्ष पुर्याउने गर्दछ। यस अर्थमा सार्वभौम क्रेडिट रेटिङ्गलाई मुलुकले आफ्नो अर्थतन्त्रलाई विश्वसामु खुलारुपमा मुल्यांकन गराई पारदर्शिता कायम गरेको रुपमा समेत लिन सकिने मन्त्रालयकाे भनाइ छ।
नेपालको सार्वभौम क्रेडिट रेटिङले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म प्रस्तुत गरेको र याे विगत तथ्यांक विश्लेषणको नतिजा मात्र नभएर भविश्यपरक दृष्टिकोणसमेत रहेकाे मन्त्रालयले जनाएकाे छ।
यसले अर्थतन्त्रको भावी दिशा र संभावनाको आकलन गर्दै मुलुकले भविश्यमा आफ्नो ऋण दायित्व पूर्णरुपमा र समयमै भुक्तानी गर्न सक्ने क्षमताको मापन गर्दछ। क्रेडिट रेटिङको नतिजालाई दक्षिण एसियाली मुलुकको रेटिङ नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ सन्तोषजनक रहेको छ।
यसले सरकार, निजी क्षेत्र र सम्पुर्ण लगानीकर्ताहरुको लागि उत्साह सिर्जना गरेको छ। नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नवीनतम एवं वैकल्पिक वित्तका स्रोत परिचान गर्नुपर्ने अवस्थाको पूर्वतयारीको रुपमा समेत सार्वभौम क्रेडिट रेटिङलाई लिन सकिन्छ। नेपालको सार्वभौम क्रेडिट रेटिङमा हाल प्राप्त गरेको नतिजाले नेपाल लगानीका लागि सहज वातावरण भएको स्थापित गरेकोले विदेशी लगानीकर्ताको विश्वास अभिवृद्धि हुन गई भावी दिनमा नेपालको पूर्वाधार, पर्यटन, कृषि, सेवालगायतका क्षेत्रका ठूला आयोजनामा लगानी अभिवृद्धि हुने अपेक्षा मन्त्रालयले गरेकाे छ।