काठमाडौं। आधारहीन र झुटो समाचार प्रकाशन गरेको भन्दै न्युज अफ नेपाल विरुद्ध प्रेस काउन्सील नेपालमा उजुरी परेको छ। जीबी राईको जग्गा किन्ने बाजेको सेकुवाका सञ्चालकलाई सीआईबीले खोजेपछि दुबई पुगे भन्ने विषयमा लेखिएको समाचार झुटो भन्दै नीतिमा कार्कीले प्रेस काउन्सील नेपालमा उजुरी दिएकी हुन्।
उनले आधारहीन समाचार प्रकाशन गरी संस्था र व्यक्तिको ख्यातिमा प्रभाव पारेको भन्दै उक्त उजुरी दर्ता गरेकी हुन्।यही २०८१ कात्तिक ६ मा प्रकाशित जीबी राईको जग्गा किन्ने बाजेको सेकुवाका सञ्चालक भण्डारी सीइआईबीले खोजेपछि दुबई पुगे’ शीर्षक समाचारप्रति ध्यानाकर्षण भएको र यो झटो समाचार भएको कार्कीको भनाई छ।
यस्तो छ ध्यानाकर्षण
समाचारमा निम्नअनुसारका विषयमा हाम्रो गम्भीर ध्याकर्षण भएको हुँदा त्यसलाई सच्याउन काउन्सिलसँग हार्दिक अनुरोध छ :
१) समाचारको सुरुमै लेखिएको, ’सहकारीमा बचतकर्ताको १६ अर्ब रुपैयाँ अपचलन गरी जीवी राईले खरिद गरेका जग्गा किन्ने बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खोजेपछि पक्राउ पर्ने त्रासले दुबई पुगेका छन्।’
बाजेको सेकुवाका सञ्चालक मेरा पति चेतन भण्डारी सिआइबीले खोजेपछि पक्राउ पर्ने डरले दुबई गएको भन्नु सरासर गलत हो। यससम्बन्धी विषयमा हामीले पहिल्यै सिआइबीमा पुगेर आफ्नो बयान मिति २०८१÷०७÷२७ मा अभिलेख गराइसकेका छौं। उहाँ आफ्नो व्यवसायिक काम विशेषले त्यसतर्फ जानु भएको हो। कुनै विषयमा समाचार लेख्दा सत्यतथ्यमा आधारित हुनुपर्छ भन्ने हामीले बताइरहन पर्ने विषय होइन।
२) ’जग्गा खरिद गर्ने भण्डारी र अर्का साझेदार पवनकुमार साह पनि सिआइबीले खोजेपछि सम्पर्कविहीन भएको’ भनिएको छ। यो कुरा पनि तथ्यमा आधारित होइन। प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जोडेर उहाँ निकट ’बस्नेत थरका बिचौलिया’ प्रयोग गरेको भनेर समेत उल्लेख गरिएको छ । यसरी कुनै विषयमा आफैं कथा बनाएर आफ्नो व्यवसाय गरिरहेका स्वतन्त्र व्यक्तिलाई लाञ्छित गर्नु उचित होइन।
३) जतिबेला जग्गा खरिद गरिएको हो, त्यतिबेला ( गितेन्द्र) जिबी राई सहकारी ठगीमा संलग्न भएको भन्ने अभियोग लागिसकेको हामीलाई थाहा हुने कुरा भएन। आफूलाई आवश्यक पर्ने जग्गा खरिद गरेको हो, त्यसमा उनी कसरी जोडिन आउँछन् ? चेनी क्यापिटल भन्ने छुट्टै संस्थाले खरिद गरेको उक्त जग्गाका निम्ति बाजेको सेकुवाजस्तो स्थापित ब्राण्डको मूल्य समाप्त पार्ने गरी जोड्नु आवश्यक छैन।
उक्त समाचार यसै निवेदनसाथ संलग्न गरी निवेदन गरेकी छु। यसमा आवश्यक छानबिन गरी सम्बन्धित समाचार संस्थालाई यसबारे सत्यतथ्य प्रकाशित गरी दिन निर्देश हुनेछ भन्ने आशा राखेकी छु। हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षपाती हौं, तर यसको अर्थ यो होन कि तथ्यबाहिरका विषय प्रस्तुत गरी समाचार लेखी कसैको व्यवसायमाथि क्षति पुरÞ्याउन सकियोस्। उक्त समाचारले हामीमाथि गम्भीर रुपमा आक्रमण गरेको र हामीसँग यसबारे एक बचन समेत नसोधेको हुँदा पूर्णरुपमा असहमति प्रकट गछौं।
उक्त समाचारका विषयमा जानकारी गराउन यसका सम्पादक दिरेकलाल श्रेष्ठलाई सम्पर्क गर्दा ’यो कुरा रिपोर्टलाई मात्र थाहा हुन्छ, मलाई थाहा हुँदैन’ भन्ने जवाफ प्राप्त भयो। त्यसैगरी समाचार डेस्कमा कार्यरत एक महिला पत्रकारले टेलिफोन गरी यस्ता समाचार देशभरिबाट आउने भएको हुनाले आफूलाई थाहा नहुने बताउनु भयो।
अतः यसरी मनोमानीपूर्वक ढंगले समाचार प्रकाशन गरी हामीमाथि व्यक्तिगत र संस्थागतरुपमा आक्रमण भएको हुँदा आवश्यक कारवाही गरिदिनु हुन प्रेस काउन्सिल नेपाल समक्ष हार्दिक अनुरोध गर्छौं।