सहकारी ठगी कसुरमा पूर्व-डिआइजी एवम् गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीको बयान सकिएको छ। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचनलको आरोपमा बिहीबार उनको सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेका अनुसार बयान अहिलेलाई सकिएको हो। ‘अहिलेलाई उहाँको बयान सकिएको छ। अनुसन्धान गर्दै जाँदा के देखिन्छ त्यसपछि थप होला,’ उनले भने।
उनका अनुसार जोशीलाई शुक्रबार नै कास्की पठाइनेछ। स्रोतका अनुसार जोशीले इन्कारी बयान दिएका छन्। जोशीविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार बेलुका फ्लाइटबाट काठमाडौं ल्याइएको थियो।
पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए। उनको बयान सकिएसँगै अब कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ।
स्रोतका अनुसार उनलाई अर्को सातामात्रै काठमाडौं ल्याउने प्रहरीको तयारी छ। त्यहीबीचमा रूपन्देहीको सुप्रिम सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बयानका लागि उनलाई रूपन्देही पनि लगिएको थियो।
लगत्तै काठमाडौं जिल्ला अदालतले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो। त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो। यसअघि कुमार रम्तेलसँग पनि बयान लिएर कास्की फर्काइएको थियो।
यस सहकारीविरूद्ध ६४५ जनाले जाहेरी दिएका छन्। सहकारीका अध्यक्ष जिबी राई थिए। उक्त सहकारीमा २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूले दाबी गरेका छन्।
प्राप्त विवरण अनुसार जिबी राई र रवि लामिछानेका नाममा २०७८ पुस १ मा ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै ४६ लाख ८८ हजार लगेको खुलेको छ। भ्यान किन्न भनेर लगेको कर्जामध्ये २९ लाख ५२ हजार ४ सय ३६ रुपैयाँ तिर्न बाँकी देखिएको छ।
२०७८ साउन ४ मा पनि सोही सहकारीबाट गोर्खा मिडिया अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछानेले ‘फोर ह्विलर’ गाडी किन्न ४६ लाख ९८ हजार कर्जा लगेको देखिएको छ। गाडी किन्दा लिएको ऋणमध्ये ३२ लाख २१ हजार ६ सय ३३ रुपैयाँ ५१ पैसा तिर्न बाँकी देखिन्छ ।