काठमाडौं। पछिल्लोपटक नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभाव र कालोबजारीबारे अध्ययन तथा अनुगमन गर्न पर्यटन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेका अनुसार, बिहीबार मन्त्रीस्तरीयबाट सहसचिवको नेतृत्वमा कार्यदल गठन भएको हो । कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य छन् ।
‘कार्यदलले बिहीबारबाटै काम सुरु गरीसक्यो,’ सहसचिव घिमिरेले भनिन्,‘दसैं-तिहार, विपत लगायतका बेला हुने चर्को हवाई भाडा कसरी हुन्छ, नियमन गर्ने उपायसहित अहिले देखिएका कमीकमजोरीबारे विस्तृत अध्ययन गरेर सरकारलाई सिफारिस गर्नेछौं ।’ उनका अनुसार, कार्यदलले यसअघि कोभिडमा सरकारले गरेको अध्ययन प्रतिवेदन र त्यसले सुझाएका कारबाही सिफारिसहरु पनि अध्ययन गर्ने छ । कार्यदललाई केही दिनभित्रै प्रतिवेदन बुझाउन समयसीमा दिइएको मन्त्रालयले जनाएको छ ।
यसैबीच बुधबार पर्यटनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय हवाई सेवा गर्ने सबै वायुसेवालाई उनीहरुले बिक्री गरेका टिकटको मूल्य, टिकटको उपलब्धतासहित विस्तृत जानकारी मागेका थिए । सहसचिव घिमिरेका अनुसार, बिहीबार अधिकांश वायुसेवाले टिकटको मूल्य, यात्रुसहितको विवरण बुझाइसकेका छन् । ‘केही वायुसेवाबाहेक अधिकांशले मन्त्रालयले माग गरेको विवरण बुझाएका छन् । शुक्रबारसम्म सबैको विवरण प्राप्त हुने छ ।’
मन्त्री पाण्डेले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हब भएका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र हिमालय एयरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठलाई बेग्लै भेट गरेका छन् । उनीहरुसँगको बैठकमा के भएको थियो भन्नेबारे मन्त्रालयले जानकारी गराइसकेको छैन ।