काठमाडौं। नेपालले सार्वभौम क्रेडिट रेटिङ (कन्ट्री रेटिङ)मा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। बेलायतको फिच रेटिङ्स कम्पनीले गरेको रेटिङअनुसार नेपालले डबल बी माइनस प्राप्त गरेको छ। यो भनेको बंगलादेशभन्दामाथि र साउथ अफ्रिका बराबरको हो। बंगलादेशले बी प्लस पाएको छ।
पूर्व अर्थसचिव रामेश्वर खनाल कन्ट्री रेटिङमा डबल बी माइनस पाउनु मुलुकका लागि ऐतिहासिक उपलब्धी भएको बताउछन्। ‘यो सँगै वैदेशिक लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आउने बाटो सहज हुनेछ। अहिले आएको रेटिङले मुलुकको आर्थिक सुधार भइरहेको देखाउँछ,’ खनालले भने, ‘अन्तर्राष्ट्रिय वित्त बजारबाट ऋणलिन समेत सहज हुन्छ।’ लामो समयदेखि मुलुकमा कन्ट्री रेटिङ नहुँदा ठूला लगानीकर्ताहरु नेपालमा आउन नसकेको आरोपहरु खेपीरहेको बेला अब सहज हुने र ठूला आयोजनाहरुका लागि ऋण लिन समेत सजिलो हुने उनको भनाइ छ।
सार्वभौम रेटिङले कुनै मुलुकको ऋणपत्रमा लगानी गर्दा आउनसक्ने जोखिमहरुबारे जानकारी दिन्छ, त्यसमा राजनीतिक जोखिम पनि पर्छ। कुनै देशको अनुरोधमा क्रेडिट रेटिङ एजेन्सीले त्यो मुलुकको आर्थिक तथा राजनीतिक वातावरणको स्वतन्त्र मूल्यांकन गर्छ र त्यसलाई रेटिङ प्रदान गर्छ। त्यति मात्रै होइन, विदेशी लगानीकर्ताहरुले कुनै मुलुकमा लगानी गर्नु कत्तिको सुरक्षित छ भनेर मूल्यांकन गर्न त्यो मुलुकको कन्ट्री रेटिङलाई हेर्ने गर्छन।
अर्थशास्त्री नरबहादुर थापाले यो उपलब्धीले मुलुकमा बैदेशिक लगानीको लागि बाटो खुल्ने बताउछन्। ‘प्राप्त उपलब्धीलाई सहि सदुपयोग गर्दै आगामी दिनमा अझै राम्रो गर्न सरकारलाई दबाब बढ्यो,’ अर्थशास्त्री थापाले भने, ‘बी, र ए मा पुग्न के के गर्नुपर्छ र त्यसका लागि आवश्यक सुधारमा सरकार अहिलेदेखिनै लाग्नुपर्छ।’
कुनै मुलुकलाई अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र (बोन्ड) जारी गरी ऋण उठाउनका लागि क्रेडिट रेटिङ अनिवार्य रुपमा चाहिन्छ। साथै, मुलुकहरुले विदेशी लगानी आकर्षित गर्न पनि रेटिङ गराउँछन। सबैभन्दा राम्रो ‘एएए’ (ट्रिपल ए)देखि सबैभन्दा नराम्रो सी ग्रेडसम्म राखेर रेटिङ गर्ने गर्छन। उनीहरुबीच रेटिङ प्रदान गर्ने तरिका थोरै भिन्न हुने गर्छ। जस्तै, सबैभन्दा नराम्रो अर्थात टाट पल्टेको मुलुक वा निकायलाई भने एसडी–डी र फिचले आरडींडी रेटिङ दिन्छन्।
त्यसमध्ये बीबीबी माइनसदेखि माथिको रेटिङलाई लगानीका लागि राम्रो मानिन्छ भने त्यसभन्दा मुनि बी माइनससम्मकोलाई सट्टेबाजीको रेटिङ मानिन्छ। त्यसभन्दा मुनिको रेटिङलाई उच्च जोखिमयुक्त वा टाट पल्टिनसक्ने सम्भावना भएको मानिन्छ। जति खराब रेटिङ हुँदै गयो, त्यस्तो मुलुकले ऋण फिर्ता गर्न नसक्ने जोखिम बढी हुने वा लगानीको वातावरण खराब हुने मानिन्छ।
नेपालको बीबी माईनस आएको हो। यो बंगलादेशभन्दा माथि हो। साउथ अफ्रिकाको रेटिङ बीबी माईनस छ। क्रेटिङ रेटिङ गर्दा एजेन्सीहरुले ऋण तिर्ने अनुपात, आन्तरिक मुद्रा प्रदायको दर, आयात तथा निर्यातको दरलगायत धेरैवटा सूचकलाई हेर्ने गरिन्छ। स्ट्यान्डर्ड चार्टड बैंकको एडभाइजरीमा नेपालको कन्ट्री रेटिङ गरिएको हो।