काठमाडौं। बैंगलोरलाई भारतको सिलिकन भ्यालीका नामले पनि चिनिन्छ। सहज पूर्वाधार र कर छुट तथा सहुलियतका कारण बैंगलोरलाई विदेशी लगानीकर्ताले पनि मन पराउँछन्। यही कारण बैंगलोरलाई भारतको आईटी हबको रुपमा पनि चिनिन्छ। बैंगलोरलाई भारतको आईटी हब यत्तिकै भनिएको होइन, विश्वका दिग्गज आईटी कम्पनीका ८० प्रतिशत कार्यालय बैंगलोरमै छन्।
आईटी हबको रुपमा स्थापित भएपछि समग्र भारतीय अर्थतन्त्रमा बैंगलोरको आर्थिक योगदान महत्त्वपूर्ण छ। अर्थात्, बैंगलोरले ११० विलियन अमेरिकी डलर जिडीपीमा योगदान गर्दछ। यस सहरको जिडीपीले कर्नाटकको कुल जिडीपीको ८७ प्रतिशत बढी हिस्सा ओगटेको छ। बैंगलोर आईटी हबले भारतको कुल आईटी निर्यातमा सबैभन्दा धेरै (३४ प्रतिशतदेखि ४० प्रीतशत) योगदान गर्दछ। यसैले बैंगलोरलाई विश्वका धेरै संस्थाहरूले सबैभन्दा स्मार्ट सहरमध्ये एक रुपमा घोषणा पनि गरेका छन्।
बैंगलोरलाई प्रविधि र पूर्वाधारको हिसाबले विश्वको शीर्ष ३० स्मार्ट शहरहरू मध्ये एक मानिन्छ। यद्यपि, यो सहर आईटी विकासमा थप तिब्र गतिमा अगाडि बढीरहेको छ। कतिपयले बैंगलोरले सिलिकन भ्यालीलाई पछि पार्ने तर्क पनि गरिरहेका छन्। बैंगलोर सहर बर्लिन, शेन्जेन र अन्य आईटी केन्द्रित सहरलाई पछि पार्दे संसारको सबैभन्दा ठूलो आईटी क्लस्टर बन्ने बाटोमा छ।
खासगरी बैंगलोर भारतको आईटी राजधानी बनेको छ। पत्यक्ष विदेशी लगानी, स्थानीय फर्म र स्टार्टअपका लागि प्रमुख छनौट भएका कारण बैंगलोरले छोटो समयमा आईटी क्षेत्रमा फड्को मारेको हो।
बैंगलोरले आईटी उद्योग तथा आईटी राजस्वमार्फत् भारतलाई स्थापित गरेको छ। विश्वका आईटी कम्पनी, यस क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको रोजाईमा बैंगलोर परिरहेको छ। विश्वभरका कम्पनीहरूका लागि बैंगलोर वास्तवमै लोकप्रिय स्थान बनेर गएको छ।
आईटीमा कसरी लोकप्रिय बन्यो बैंगलोर
बैंगलोर आईटी हब धेरै विशेष आर्थिक क्षेत्र र सफ्टवेयर पार्क (आईटी पार्कहरू) मिलेर बनेको छ। बैंगलोरमा ३० बढी सेज छन्। यसमा एयरोस्पेस र बायोटेक्नोलोजी उद्योगहरूको लागि समर्पित क्षेत्र पनि छन्। यीमध्ये अधिकांश सेज आईटी कमम्पनी र आईटी उद्योगका लागि बनाइएका हुन्। त्यहाँको सरकारले बैंगलोरमा आईटी कम्पनी स्थापना गर्न सहज तयार गरिदिएको छ।
बैंगलोरले आफ्ना सेज र आईटी पार्कहरूलाई चौबीसै घण्टा सञ्चालन गर्न सो किसिमको पूर्वाधार दिएको छ। बैंगलोरको पूर्वाधार धेरै उन्नत भएका कारण विश्वभरका कम्पनी यसतर्फ आकर्षित भएका छन्। आईटी उद्योग सञ्चालनमा ल्याउन चाहनेले केही समयमै काम सुरु गर्न सहजता बनाइदिएको छ। बेंगलोर र शहर नजिकै थप आईटी हबहरू बनाउने योजना एकपछि अको गर्दै थप भइरहेका छन्।
बैंगलोरमा आफ्नो कार्यालय स्थापना गर्दा ठुला कम्पनीहरुले दक्ष जनशक्ति सहजै पाउनसक्छन्। यस सहरमा केही वर्ष अगाडिसम्म १५ लाख भन्दा बढी दक्ष आईटी क्षेत्रमा काम गर्ने व्यक्ति रहेकोमा यो संख्या बढेर चाँडै ८० लाख पुग्ने अपेक्षा गरिएको छ। यही कारण विश्वभरका आईटी कार्यालयका लागि याे ठाउँ आकर्षक बनेको छ।
सञ्चार संस्था द इकानोमिक्स टाइम्सले विश्वका धेरै सफ्टवेयर इन्जिनियर यस सहरमा सार्न इच्छुक भएको उल्लेख गरेको छ। यसले सीप भएका सबै जनशक्तिमा पहुँच प्राप्त गर्न पनि सजिलो बनाउनेछ।
बैंगलोर हाल विश्वको कुनै पनि सहरको तुलनामा रोजगारदाताका लागि बढी आकर्षक छ। बर्लिन वा अन्य अमेरिकी सहरको तुलनामा उनीहरूले भारतमा सस्तो दरमा जनशक्ति प्राप्त गर्न सक्छन्। हुन त, बैंगलोर संगठित संस्था, कारोबार र प्रविधिमा उन्नत छ। पूर्वाधार मात्र होइन, व्यापक आर्थिक वृद्धि, सहज नीति र दिगोपनमा पनि बैंगलोरले अलग पहिचान बनाएको छ।
सिटी मोमेन्टम इन्डेक्सले यो सहरलाई विश्वको सबैभन्दा गतिशील सहर घोषणा गरेको छ। वर्ल्ड इकोनोमिक फोरमले पनि बैंगलोरको गतिशील सहर भएको विषय उल्लेख गर्दै आएको छ। गुगल, माइक्रोसफ्ट, आईबीएम, टिसीएस, अमेजन, विप्रो, इन्टेल जस्ता कम्पनीहरूले बैंगलोरमा आफ्ना कार्यालय स्थापना गरेका छन्। यसमध्ये बैंगलोरमा धेरैको भारतीय मुख्य कार्यालय रहेका छन्।
बैंगलोरमा सामसङ, फिलिप्स, एचसीएल, फ्लिपकार्ट र सिजीएलजस्ता उद्योग पनि छन्, जसले अन्य साना तथा ठूला आईटी उद्योगलाई यस ठाउँमा आउन प्रेरित गरिरहेको छ।
बैंगलोरलाई स्टार्टअप संस्कृतिको भूमि पनि मानिन्छ। यसले आधुनिक समयमा भारतलाई चिनाएको छ। भारतका धेरैजसो स्टार्टअप यही सहरबाट आइरहेका छन्। जुमकार, ग्रोओ, सिग्यो, डुन्जो र ओयोजस्ता कम्पनी सबै बैंगलोरका हुन्। बैंगलोरमा १३ हजार बढी स्टार्टअप सञ्चालनमा छन्।
बैंगलोरमा शैक्षिक संस्थान र इन्जिनियरिङ कलेजको उपस्थिति राम्रो छ। यसले विद्यार्थीहरूलाई कलेजबाट बाहिर काम पाउन सजिलो छ। यस सहरमा प्राविधिक सीपका लागि धेरै प्रशिक्षण संस्थान पनि छन्। कर्मचारीले पनि यी संस्थानबाट नयाँ सीप सिक्न सक्छन्।
बैंगलोरमा कर र निर्यात/आयात शुल्कमा छुट छ। विशेष आईटी र सफ्टवेयर पार्क योजनाका लागि दर्ता भएका कम्पनीलाई सरकारले करमा भारी छुट दिएको छ। भारत सरकार र राज्य सरकारले पनि स्टार्टअप र स्थानीय फर्मका लागि धेरै अवसर उपलब्ध गराएका छन्।
बैंगलोरका शीर्ष आईटी पार्क
अन्तर्राष्ट्रिय टेक पार्क बैंगलोर (आईटीपिबी)
यो बैंगलोरको एक प्रमुख ह्वाइटफिल्ड आईटी पार्क हो। यसमा बहुराष्ट्रिय दिग्गज आईटी उद्योग र धेरै सफ्टवेयर तथा प्रविधि कम्पनी समावेश छन्। यसमा उन्नत सुविधा, डाटा केन्द्र र व्यापारलाई सहयोग पुर्याउने सेवा छन्। यसले विभिन्न प्राविधिक कार्यक्रम, सेमिनार र सम्मेलन आयोजना गर्दछ।
इलेक्ट्रोनिक सहर
भारतको सबैभन्दा ठूलो आईटी पार्कमध्ये इलेक्ट्रोनिक सहर बेंगलोरमा नै अवस्थित छ। सफ्टवेयर विकास, आईटी सेवा र इलेक्ट्रोनिक्स निर्माणमा केन्द्रित छ। यसमा अत्याधुनिक पूर्वाधार, अनुसन्धान सुविधा र इन्क्युबेसन सेन्टर छन्। यो धेरै प्राविधिक कम्पनी र बहुराष्ट्रिय निगमको संगमस्थल हो।
बागमाने टेक पार्क
बैंगलोरको केन्द्रभागमा यो आईटी पार्क रहेको छ। यसमा आईटी कम्पनी, सफ्टवेयर फर्म तथा र अनुसन्धान केन्द्रको मिश्रण छ। यसमा राम्रोसँग डिजाइन गरिएको अफिस स्पेस, हरियो परिदृश्य र मनोरन्जन क्षेत्रहरू छन्। यसले दिगोपन र पर्यावरणमैत्री पहलमा जोड दिन्छ।
ग्लोबल भिलेज टेक पार्क
बैंगलोरको राजराजेश्वरी नगरमा रहेको यो एक फराकिलो टेक पार्क हो। यसमा आईटी कम्पनी, अनुसन्धान संस्था, र शैक्षिक क्याम्पसहरूको विविध दायराको घर छ। यसमा आधुनिक पूर्वाधार, हरियाली र पर्यावरण मैत्री पाइन्छ। काम, फुर्सद र नवीनताको लागि समग्र पारिस्थितिकीय प्रणाली याे पार्कले दिन्छ।
सालारपुरिया सत्व ज्ञान सहर
यो बैंगलोर करिडोरमा रहेको आईटी पार्क हो। यसमा व्यापक ज्ञान हब आवास आईटी फर्म, शैक्षिक संस्था र अनुसन्धान केन्द्र छन्। यसले स्मार्ट अफिस स्पेस र अनुसन्धान प्रयोगशालासहित विश्व–स्तरीय सुविधा छन्। निरन्तर सिक्ने, नवीनता र ज्ञान साझेदारीको संस्कृतिलाई यसले बढावा दिने गर्दछ। यातायात हब र आवासीय क्षेत्रमा सजिलो पहुँच रहने स्थानमा यो पार्क छ।
-एजेन्सीको सहयोगमा