काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दिगो विकासका लागि आन्तरिक स्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन्।
अध्यक्ष ढकालले राष्ट्रिय कर दिवस २०८१ अवसरमा बुधबार महांसघको सचिवालयमा आयोजित ‘लगानीमैत्री वातावरण प्रवर्द्धनका लागि अन्तरनिकाय समन्वय’ विषयक अन्तरक्रियामा बताएका हुन्।
अध्यक्ष ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्ड देशले परिचालन गर्ने राजस्व आयतनमा निर्भर हुने भएकोले कुनै पनि मुलुकको सबल अर्थव्यवस्था र उन्नत समाज निर्माणका लागि आन्तरिक स्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको उल्लेख गरे।
केही वर्षदेखि निजी क्षेत्र र सरकारको समेत चासोकोे रुपमा रहेको लगानी प्रवर्द्धन विषयले समग्र कर प्रशासनलाई झकझकाई यस पटकको कर दिवसमा दिशा निर्देश गरेको हुँदा यो मुद्दाले गति लिन थालेको निजी क्षेत्रलाई आभास भएको उनले बताए।
कर प्रशासनले राजस्व लक्ष्य निर्धारण र संकलन मात्र हैन, करदाताको मनोबल बढाई व्यावसायिक गतिविधि बढाउने क्रियाकलाप र वातावरण सृजना गर्नेतर्फ ध्यान दिन सके राजस्व संकलन स्वाभाविक रुपमा वृद्धि भई आर्थिक गतिविधि बढ्ने धारणा उनको छ।
अध्यक्ष ढकालले आन्तरिक स्रोत परिचालन भन्नेबित्तिकै त्यसको प्रत्यक्ष सम्बन्ध त्यो मुलुकको कर प्रणाली र राजस्व प्रशासनसँग जोडिएको हुनाले लक्षित राजस्व संकलनका लागि उद्योगधन्दा, व्यवसायजन्य कृयाकलाप व्यवस्थित ढंगले सञ्चालन भएको हुनुपर्नेमा जोड दिए।
यसका लागि व्यवसायमैत्री वातावरण निर्माणका साथै विदेशी लगानीको हकमा लगानी र प्रतिफल फिर्ताको सुनिश्चिततासहित सबै सरकारी निकायको एकीकृत र समन्वयकारी प्रयास आवश्यक रहेको उनको भनाइ छ।
आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, उद्योग विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक उपस्थित कार्यक्रममा कार्यसमितिका पदाधिकारी र विभिन्न वस्तुगत संघ र उद्योगी व्यवसायी सहभागी थिए।
आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले औद्योगिक र लगानीमैत्री वातावरण तयार गर्न सामूहिक प्रयास आवश्यक रहेको बताए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले अपेक्षित लगानी वातावरण बन्न नसकेको अवस्थाको विश्लेषण गर्दै आफ्ना काम–कारबाहीलाई पारदर्र्शी बनाई समीक्षा हुनुपर्नेमा जोड दिए।
उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले अन्तरनिकाय समन्वयको सार औद्योगिक वातावरण प्रवर्द्धन भएकाले विभागबाट प्रदान गरिने सेवालाई अझ उन्नत र परिष्कृत बनाउने प्रतिबद्धता व्यक्त गरे।
यसैगरी राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले पछिल्लो समय कर प्रणालीसम्बन्धी नीति लगानीमैत्री बन्दै आएको बताए। कार्यक्रम समापन महासंघ उपाध्यक्ष सुरकृष्ण वैद्यले गरेका थिए।