काठमाडौं। सरकारले चीनसँग विद्युत् व्यापारको तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चिनियाँ सरकारसँग नेपालका जलस्रोत क्षेत्रमा लगानीसँगै विद्युत व्यापार प्रक्रिया सुरु गरेको हो।
नेपाल विद्युत् प्राधिकरणले गत वर्ष जेठदेखि भारततर्फ विद्युत् निर्यात शुरु गरेको थियो भने, गत काक्तिक ३० गतेदेखि बंगलादेशमा पनि विद्युत् निर्यात् सुरु भइसकेको छ। नेपालबाट भारत मात्रै नभएर सम्भावित अन्य देशमा पनि विद्युत् व्यापार विस्तार गर्ने तयारी सरकारले अघिल्लो वर्षदेखि नै गरेको थियो।
सोहीअनुसार बंगलादेशपछि चीनसँग विद्युत् व्यापार सम्झौता छलफल सुरु गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताए। ‘नेपालका लागि चिनियाँ राजदूत नेपाल भेटमा आउँदा मैले दुई ठूला छिमेकीमध्ये एउटाले किनिसकेको छ, अर्कोेले किन नकिन्ने भन्ने हिसाबमा मैले कुरा गरेको थिएँ,’ मन्त्री खड्काले क्यापिटल नेपालसँग भने, ‘तपाईंहरुको यति ठूलो देश, लाखौं मेगावाट अयात गर्न सक्नेले ६÷७ हजार मेगावाट विद्युत् किन्दा केही ठूलो कुरा होइन। त्यसले तपाईंहरुलाई पनि लगानी गर्न सहज हुन्छ भनेर प्रस्ताव गर्दा उहाँले आफ्नो सरकारसम्म कुरा पुर्याउने बताउनुभएको थियो। मलाई लाग्छ, उहाँहरु (भारत)ले किन्नुहुन्छ।’
नेपालबाट अहिले भारतको बाटो भएर बंगलादेशमा विद्यु्त निर्यात सुरु गरिएसँगै भोलिका दिनमा चीन हुँदै भुटान, पाकिस्तान, श्रीलंका, थाइल्यान्डलगायत अन्य देशमा नेपाललाई विद्युत् हबका रुपमा विकास गरेर व्यापार गर्ने योजना बनाइएको उनले जानकारी दिए।
सरकार विद्युत् उत्पादन बढाएर निर्यातको तयारीमा लागे पनि भारत र चीनबीचको राजनीतिक मनमुटावको कारण नेपालले चीनतर्फ खुलेर व्यापार विस्तार गर्न सकेको छैन। नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले आफूलाई भेट्न आउँदा पनि चिनियाँ लगानी भएका आयोजनाको विद्युत् भारतले नकिन्ने गुनासो गरेको मन्त्री खड्काले बताए।
‘तर, मैले हाम्रो प्राथमिकता भनेको जसले नेपालको बिजुली किन्छ, त्यसलाई प्राथमिकतामा राख्छौं र उसको लगानीलाई सजिलै स्वीकार छौं। उसको निर्माण व्यवसायीले सजिलै काम पाउँछन् भनेको छु,’ मन्त्री खड्काले भने, ‘भारत सरकारसँग पनि मैले राजनीतिलाई एक ढंगले अघि बढाऔं र व्यापारिक सम्बन्धलाई पृथक ढंगले हेर्नुपर्छ भनेको छु। व्यापारिक सम्बन्धलाई अलि बढी स्वतन्त्र हुन दिनुपर्छ भन्ने विषयमा उहाँहरु सकारात्मक हुनुहुन्छ।’
राजनीति र व्यवसायलाई अलग्गै राखेर काम अघि बढाउने विषयमा भारत र चीन दुवै देश सकारात्मक रहेको हुँदा विद्युत व्यापार सम्झौता प्रक्रिया अघि बढाउने तयारी मन्त्रालयले गरेको हो। आवश्यकताको आधारमा नेपालले भारत र चीन दुवैसँग विद्युत् व्यापार गर्ने गर्ने मन्त्री खड्काले भारत सरकारसँग कुरा गरेका हुन्।
‘म मन्त्री भएर आएपछि ऊर्जा मन्त्रालयसँग सम्बन्ध राख्ने तर अवरुद्ध भारतसँगका काम अघि बढ्न थालेका छन्। भारतले हामीलाई सहयोग गरेरै बंगलादेश विद्युत् निर्यात गर्न सकेका हौं। यसलाई सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने, ‘चीनले पनि सहयोग गर्न खोजिरहेको छ। मात्रै के भने त्यस्तो सहयोग लिन सक्ने क्षमता हामीले पनि बनाउनुपर्छ। त्यसपछि चीनसँग हामीले विद्युत् कारोबार गर्न सक्छौं।’
राजनीतिक सम्बन्ध र व्यापारिक सम्बन्धलाई अलग राख्ने गरी चिनियाँ लगानीका आयोजनाको उत्पादित विद्युत् खरिदका लागि मन्त्री खड्काले भारतसँग छलफल गरिसकेको बताए।