काठमाडौं। बुधबार सेयर बजारमा उच्च उतारचढाव देखिएको छ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार खुल्नसाथ घटेर २६८४ बिन्दुम्म घटेको थियो। त्यसपछि उकालो लागेर ११ बजेर ३१ मिनेटमा नेप्से २७०३ बिन्दुमा पुग्यो।
फेरि २७०० बिन्दु पुगेर झरेको नेप्से १ बजेर ११ मिनेटमा २७१३ बिन्दुसम्म पुग्यो। नेप्सेको यो घटबढक्रमले यसपछि निरन्तरता पायो। कारोबारको अन्तिम समयमा भने नेप्से केही सकरात्मक बन्दै ९.०९ अंकले बढेर २७११.७५ बिन्दुमा रोकिएको छ।
अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से ५१.११ अंकले घटेर २७०२.६५ बिन्दुमा रोकिएको थियो। बुधबार सूचक सकरात्मक भएपनि कारोबार रकममा भने गिरावट आएको छ। बुधबार नेप्सेमा कुल ६ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल १० अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। बुधबार कारोबारमा आएकामध्ये १४३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
बुधबार कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, अन्य तीन कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ।
बुधबार गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ। बजार सामान्य अंकले बढ्दै गर्दा पनि विकास बैंक समूहमा भने लगानीकर्ताको उत्साह देखिएको छ। आज विकास बैंक समूहमा ३.३८ प्रतिशतको वृद्धि देखिएको छ।
यस्तै, फाइनान्स समूहको सेयर मूल्य १.६६ प्रतिशत, जलविद्युत समूहको १.२८ प्रतिशत र होटल तथा पर्यटन समूहको सेयर मूल्य ०.४५ प्रतिशतले बढेको छ।
बुधबार बैंकिङ समूहको सेयर मूल्य ०.२६ प्रतिशतले घट्दा जीवन बिमा समूहमा ०.१८ प्रतिशत र निर्जीवन बिमा समूहमा ०.२१ प्रतिशतको गिरावट आएको छ।