काठमाडौं। विद्युतीय सवारीसाधन (ईभी) बिक्रेताबीच चार्जिङ स्टेसन राख्ने होड चल्न थालेको छ। जसरी ईभी गाडी ल्याउने प्रतिस्पर्धा चलिरहेको छ, त्यसैगरी पूर्वधार निर्माण अर्थात् चार्जिङ स्टेसन राख्न बिक्रेताबीच होड देखिएको हो।
विद्युतीय सवारीसाधनको संख्या बढ्दै जाँदा ईभी ब्रान्डहरुले चार्जिङ स्टेसन थप्ने काम व्यापक बनाउँदै लगेका हुन्। धेरै ईभी ब्रान्डले विभिन्न ठाउँमा चार्जिङ स्टेसन निर्माण र तयारी गरिरहेका छन्।
अटोब्रान्ड एमएडब्लु वृद्धिले ८० डिसी चार्जिङ स्टेसन निर्माणको तयारी गरिरहेको हो। नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले २० वटा डिसी, पारामाउन्ट मोटर्सले ७ वटा डिसी, लक्ष्मी इन्टरकन्टिनेन्टलले ३ वटा डिसी फास्ट चार्जिङ, सिजी मोटर्सले २० वटा डिसी फास्ट चार्जिङ स्टेसन बनाउने तयारी गरेको छ।
शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले १०० वटा डिसी फास्ट चार्जिङ स्टेसन सञ्चालन सम्झौता गरेका छन्। लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि ३ वटा डिसी फास्ट चार्जिङ स्टेसन डिसेम्बरसम्म सञ्चालनमा ल्याउने तयारी गरेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले एउटा चार्जिङ स्टेसन र वर्कसप साथै अर्काे दुई वटा भेइकल टु भेइकल चार्र्जिङ एउटा काठमाडौं र अर्काे राजमार्गमा बनाउन लागेको हो।
हाल नेपालमा बिवाईडीका ३४ डिसी फास्ट चार्जिङ, एमजीका १२ फास्ट चार्जिङ, टाटाका ३० वटा फास्ट चार्जिङ, हुन्डाईका ४३, एमएडब्लुका ७२, निसानका ९, ओमोडा र जेक्को २५, सिट्रोनका १२, सिजीका २०० बढी फास्ट चार्जिङ स्टेसन सञ्चालनमा छन्।
यस्तै, शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनका देशभर १६ बढी फास्ट चार्जिङ नेटवर्क सञ्चालनमा छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष तथा जीओ फोर्डको प्रबन्ध निर्देशक आकाश गोल्छा १०० वटा फास्ट चार्जिङ स्टेसन बनाउन शारडा ग्रुपसँग सहकार्य गरेको बताउँछन्।
‘हामीले अझै बढी चार्जिङ स्टेसन थप्न अन्य व्यवसायीसँग पनि सहकार्य गर्दै छौं। सहज ठाउँमा सबैले चार्जिङ स्टेसन राखेका छन्। तर, टाढा र कठिन ठाउँमा कसैले पनि राख्दैनन्,’ गोल्छा भन्छन्, ‘त्यसैले सबै ठाउँमा चार्जिङ स्टेसन सहज होस् भनेर गोल्छा अर्गनाइजेसनले जहाँ स्थापना गर्छ, त्यहीँ शारडा ग्रुपले पनि राख्नुको सट्टा दुवैले फरक–फरक ठाउँमा राख्ने योजनामा छौं।’ उनले यसो गर्दा धेरै ठाउँमा चार्जिङ स्टेसन पुग्ने पनि बताए।
नेपालमा कम रेन्जदेखि हाई रेन्जसम्मका गाडी बजारमा उपलब्ध छन्। नेपालमा जति पनि ब्रान्ड आयात भएका छन्, ती सबै कम्पनीले आफ्ना छुट्टैै चार्जिङ पोइन्ट सञ्चालन गरिरहेका छन्।
पछिल्लो समय गाडी खरिद गर्ने ग्राहकले गाडीका साथमा उक्त ईभी ब्रान्डले सर्भिस सेन्टर, चार्जिङ स्टेसनमा कति लगानी गरेको छ र कति पर्याप्तता छ भन्ने विषय पनि हेर्न थालेका छन्। यसैले पनि धेरै ब्रान्डले चार्जिङ स्टेसन निर्माणलाई तीव्रता दिएका हुन्।
खासगरी ईभी प्रयोगकर्ता बढ्दै जाँदा गाडी चार्जका लागि कतिपय राजमार्गमा लाइन बस्नुपर्ने बाध्यता छ। यो बाध्यता अन्त्य गर्न अटो ब्रान्डले चार्जिङ स्टेसन निर्माणलाई प्राथमिकता दिएका हुन्। काठमाडौंदेखि लामा तथा छोटा दूरीका विभिन्न राजमार्ग विद्युतीय गाडी चार्ज गर्न सहजता होस् भन्ने ढंगमा बढी मात्रामा डिसी फास्ट चार्जिङ बनाउने काम भइरहेको छ।
चार्जिङ स्टेसन निर्माणमा कति लाग्छ खर्च
चार्जिङ स्टेसन निर्माण कार्यले तीव्रता पाउँदै गर्दा यसमा अटो ब्रान्डले राम्रै लगानी गरेको देखिन्छ। हुन त, चार्जिङ स्टेसन निर्माणस्थल, आकारलगायतका विभिन्न कुराहरुले यसको लागत निर्धारण गर्दछ।
नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्याल डिसी फास्ट चार्जिङ स्टेसन बनाउन त्यसको आकार र क्षमता अनुसार लागत लाग्ने बताउँछन्।
‘हाम्रोमा एउटा चार्जिङ स्टेसन बनाउन जग्गाबाहेक लगभग १५ लाख रुपैयाँ लाग्ने गरेको छ,’ म्यानेजर अर्याल भन्छन्, ‘जग्गाको लागत ठाउँअनुसार फरक हुने भएकाले यति लाग्छ भन्न अलि गाह्रो छ। कतिपय ठाउँमा १० लाखमा पनि बन्छ। तर, कस्तो आकार र क्षमताको हो भन्ने कुरामा भर पर्छ।’ उनले कस्तो र कुन ठाउँमा निर्माण गर्ने भन्ने कुराले पनि लागत कति लाग्छ भन्ने विषय निर्धारण गर्ने बताए।
लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक दिपक थपलिया एउटा डिसी चार्जिङ स्टेसन निर्माणका लागि ५० लाख रुपैयाँसम्म खर्च भएको बताउँछन्। ‘एउटा डिसी फास्ट चार्जिङ स्टेसन बन्नको लागि लगभग ५० देखि ६० लाख रुपैयाँ खर्च हुने गरेको छ। तर, एसी चार्जिङ स्टेसनका लागि भने तीनदेखि चार लाख रुपैयाँ भए पुग्छ,’ प्रबन्ध निर्देशक थपलिया भन्छन्, ‘साधारणतया, हाम्रो ब्रान्डको एउटा डिसी फास्ट चार्जिङ तयार गर्न ५० लाख लगानी लागिरहेको छ।’