काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालसहितका पदाधिकारीले भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मासँग भेटेर नेपाल–भारत व्यापार सजीकरण एवं नेपालमा लगानीका लागि आग्रह गरेको छ।
भेटमा चेम्बर अध्यक्ष अग्रवालले भारतसँग नेपालले स्वतन्त्र एवं खुला व्यापार नीति अंगीकार गरे पनि व्यावहारिक लाभ प्राप्त गर्न नसकेको बताए।
भारतबाट हुने आयातमा खासै समस्या नरहे पनि निर्यातका क्रममा भन्सारमा सहजीकरण हुन नसकेको अध्यक्ष अग्रवालको भनाइ छ। पर्यटन आर्कषण र लगानी मार्फत भारतसंगको व्यापार घाटा न्यूनीकरण गर्नसमेत नवनियुक्त राजदूत शर्मालाई चेम्बरले सुझाव दिएको छ।
चेम्बरका अध्यक्ष अग्रवालले भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत् तथा सेवा क्षेत्रमा भारतीय लगानी आर्कषित गर्नुपर्नेमा जोड दिए।
व्यापार सहजीकरणका लागि रेलवे ट्रान्सपोर्टेसनमा सहजीकरण, भन्सारमा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टिन ल्याब राख्न पहल गर्नसमेत अध्यक्ष अग्रवालले नवनियुक्त राजदूत शर्मासमक्ष आग्रह गरे।
अग्रवालले भने, ‘भारतमा दीर्घकालीन व्यापारिक लाभ प्राप्त गर्ने गरी निर्यात सहजीकरण गरिनुपर्दछ। रेलवे तथा वाटरवेको प्रभावकारी सञ्चालनका लागि पहल कदमी गरिनुपर्दछ।’
चेम्बर पदाधिकारीले विशाखापट्नम बन्दरगाहा, उडिसाको धर्मा पोर्ट तथा गुजरातको मुन्द्रा पोर्टमा नेपाली व्यवसायीले अनावश्यक दुःख पाइरहेको गुनासो गरे। नेपाली सामान बोकेका कन्टेनर लामो समयसम्म रोकिँदा अतिरिक्त भार बढेकाले पारवहन सहजीकरण गरिदिन चेम्बर पदाधिकारीले आग्रह गरे।
जवाफमा राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजीकरण आफ्नो प्राथमिकतामा रहेको बताए। उनले क्वारेन्टिन ल्याब स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाएको चेम्बरले बताएको छ।