काठमाडौं। रिडी पावर कम्पनीद्वारा प्रवर्द्धित साझा पावर कम्पनीमार्फत निर्माणाधीन २२.५ मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने कामअन्तरगत पहिलो ब्लास्टिङ सफलतापूर्वक सम्पन्न भएको छ। मुख्य सुरुङको आउटलेटतर्फको सुरुङमा पहिलो व्याष्टिङ भएको हो।
तल्लो बलेफी खोला जलविद्युत् आयोजना सिन्धुपाल्चोक बलेफी गाउँपालिकामा रहेको छ। आयोजनाको बाँधस्थल बलेफीको जलवीरेमा छ भने विद्युतगृह सोही गाउँपालिकाको आँपबोटेमा रहेको छ। आयोजनामा ५.५ किलोमिट लम्बाइ र ४.६ मिटर व्यास भएको सुरुङ निर्माण हुनेछ।
उक्त सुरुङ निर्माण कार्यको इन्लेट प्रोटलको काम जम्बला कन्स्ट्रक्सन प्रालिले गरिहेको छ। त्यसैगरी अडिटतर्फ देवकोटा निर्माण सेवा प्रालिले गरिरहेको छ भने आउटलेटतर्फ त्रिवेणी ब्रह्रमायणी जेभीले गरिरहेको छ। आयोजनाको हेडवर्क्सको काम बन्दना भगवती पोखरेली जेभीले गरिरहेको छ भने विद्युत् गृह निर्माणतर्फको काम ककनी देवी निर्माण सेवा प्रालिले गरिरहेको छ।
यो आयोजना निर्माण गर्न ४४५ करोड रुपैयाँ खर्च अनुमान गरिएको छ। २९५ करोड रुपैयाँ बैंकको ऋण र बाँकी रकम स्वलगानीबाट जुटाइनेछ।
आयोजनामा कुमारी बैंकको अगुवाइमा कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेसनलको संयुक्त लगानी रहेको छ। यो आयोजना २०८२ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ।
आयोजनामा रिडी पावरको ५५ प्रतिशत लगानी रहेको छ भने स्थानीय तथा सर्वसाधारणको ३० प्रतिशत र अन्य सेयरधनीको १५ प्रतिशत सेयर लगानी छ। रिडी पावर कम्पनीले सेयर लगानी गर्न हकप्रद सेयरबाट रकम जम्मा गरी सो लगानी जुटाइसकेको छ।
कम्पनीले आयोजना गरेको पहिलो बलास्टिङ कार्यक्रममा सेनाका वाहिनीपति, स्थानीय प्रहरी प्रमुख, कम्पनीका अध्यक्ष, सञ्चालकलगायत कर्मचारी, ठेकेदार कम्पनीका प्रतिनिधि, स्थानीय लब्धप्रतिष्ठित व्यक्तिको उपस्थिति थियो।