काठमाडौं। नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय स्तरमा मान्य हुने गरी नयाँ आधार वर्ष तय गरी ‘तलब तथा ज्याला सूचकांक’ तयार गरेको छ। केन्द्रीय बैंकले आधार वर्ष २०८०÷८१ अनुसार तलब तथा ज्याला सूचकांक प्रकाशन सुरु गरेको हो।
अर्थतन्त्रमा आएको संरचनात्मक परिवर्तनसँगै रोजगारी स्वरूपमा आएको फेरबदललाई ध्यानमा राखेर सूचकांक निर्माणमा प्रयोग हुने भारांकलाई अद्यावधिक गर्न नयाँ आधार वर्ष परिवर्तन गरेको केन्द्रीय बैंकले जनाएको छ।
हालसम्म तलब तथा ज्यालादर सूचकांकको आधार वर्ष २०६१/६२ रहेको थियो। नयाँ आधार वर्षमा आधारित सूचकांकबाट तथ्यांक प्रयोगकर्तालाई थप सहज हुनुका साथै अन्य मुलुकसँग अन्तर्राष्ट्रिय स्तरमा समेत तुलना गर्न सजिलो हुने राष्ट्र बैंकले जनाएको छ।
नयाँ सूचकांक थप बृहत्, विश्वसनीय, प्रयोगकर्तामैत्री रहने र आय तथा उत्पादन लागतसम्बन्धी निर्णय लिन सहयोगी हुने अपेक्षा राष्ट्र बैंकको छ।
राष्ट्रिय तथ्यांक कार्यालयबाट सम्पन्न नेपाल श्रमशक्ति सर्वेक्षण, २०१७÷१८ मा उपलब्ध नेपालस्तरीय औद्योगिक वर्गीकरण (नेपाल स्ट्यान्डर्ड इन्डस्ट्रियल क्लासिफिकेसन, एनएसआईसी) तथा नेपालस्तरीय पेसागत वर्गीकरण (नेपाल स्ट्यान्डर्ड क्लासिफिकेसन अफ अकुपाइजेसन, एनसिआईसी)अनुसार नतिजा आधारमा भारांक अद्यावधिक गरिएको छ।
तलब तथा ज्याला छोटो अवधिमा परिवर्तन नहुने भएकोले मासिक रूपमा गणना हुँदै आएको तलब तथा ज्याला सूचकांक त्रैमासिक रूपमा गणना गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ। सूचकांक निर्माण गर्न मोडिफाइ लास्पेयरेस मेथोड (यंगर लास्पेयरेस इन्डेक्स) विधि प्रयोग गरिएको छ।
यो विधिअनुसार म्याचड स्याम्पल मेथोड (मिलाइएको नमुना विधि)को सिद्धान्तबमोजिम आधार वर्षमा छनोट गरिएको नमुना तलब तथा ज्याला त्रैमासिक रूपमा संकलन गरी प्रत्येक पेसागत कामको तल्लो तहको सूचकांक निर्माण गरिने उल्लेख छ।
राष्ट्र बैंकका अनुसार सो सूचकांकलाई पहिलो चरणमा उस्तै प्रकृतिको पेसाको ज्यामितीय औसत निकालिन्छ। दोस्रो चरणमा उक्त सूचकांकलाई भारांकले गुणन गरी माथिल्लो तहमा प्रादेशिक, औद्योगिक, पेसागत तथा राष्ट्रिय सूचकांक निर्माण गरिन्छ। यसमा देखापर्ने नयाँ पेसालाई समावेश गर्ने तथा हराउँदै गएका पुरानो पेसालाई प्रतिस्थापन गर्ने व्यवस्था छ।
नयाँ सूचकांक गणना गर्दा सबै प्रदेशका ३० वटा जिल्लास्थित बजार क्षेत्रमा रहेका सबै औद्योगिक क्षेत्र तथा पेसा समावेश हुने गरी १ हजार २५ वटा संस्थाबाट ५, हजार २९६ प्रकारका पदसँग सम्बन्धित तथ्यांक संकलन गरी सूचकांक निर्माण गरिएको छ।
यसअघिको सूचकांक गणना गर्दा ११ वटा बजार केन्द्रबाट तलबको हकमा ६ प्रकारका संस्था (निजामती सेवा, सार्वजनिक संस्था, बैंक तथा वित्तीय संस्था, सेना तथा प्रहरी, शैक्षिक संस्था र निजी संस्था) तथा ज्यालादरको हकमा तीन प्रकारका औद्योगिक वर्गको ज्यालादर (कृषि, उत्पादन र निर्माण क्षेत्र) गरी ९ समूहअन्तर्गत तथ्यांक संकलन गर्ने गरिएको थियो।