काठमाडौं। विश्वभरका परामर्शदाताको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एसिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। सोमबार फिडिक अध्यक्ष क्याथरिन काराकात्सानीस तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले संयुक्त रुपमा सम्मेलन उद्घाटन गरे।
नेपाली परामर्शदातृ संस्थाहरूको छाता संगठन ‘सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फम्र्स’ (स्काएफ)को आयोजनामा सुरु भएको सम्मेलन मंसिर ५ सम्म चल्नेछ।
२३ देशको प्रतिनिधि तथा १०० बढी अन्तर्राष्ट्रिय र ३०० जना राष्ट्रिय सहभागी तथा पर्यवेक्षक सहभागी उक्त कार्यक्रममा फिडिक अध्यक्ष क्याथरिनले जलवायु परिवर्तन जस्तो संवेदनशील विषयमा केन्द्रित यस प्रकारको महत्त्वपूर्ण सम्मेलनलाई भेटघाटमा मात्रै सीमित पार्नुभन्दा सम्मेलनबाट आएका विषय वस्तुलाई कार्यान्वयन तहमा पुर्याउनुपर्ने बताइन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव शर्माले सम्मेलनबाट जलवायु परिवर्तनबाट निम्तिएका समस्या समाधान गर्न र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने सन्दर्भमा उचित सल्लाह र सुझाव आउनेमा विश्वस्त रहेको धारणा व्यक्त गरे।
‘यो सम्मेलनमा उठेका विषय र छलफलबाट आएका निष्कर्ष नेपालजस्तो जलवायु परिवर्तनको असरबाट जुधिरहेका देशकका लागि मार्गचित्र हुन सक्छ। सम्मेलनले नीति निर्माण तहमा हामीलाई पक्कै पनि सहयोग पुर्याउनेछ।’
आयोजक स्काएफका महासचिव ई. कमल कार्कीले यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलन नेपालले आयोजना गर्न पाउनु आफैंमा महत्त्वपूर्ण उपलब्धि भएको र छलफलबाट आउने सुझाव र मार्गनिर्देशलाई सम्बन्धित तहसम्म लगेर कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए।
‘गभर्नेन्स फर क्लाइमेट सक्स’ नारासहित सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा पर्यावरणीय विपदलाई सम्बोधन गर्ने प्राविधिक तथा नीतिगत विषयमाथि ७ वटा विशिष्टीकृत शीर्षकमा छलफल हुनेछ।
सम्मेलनमा फिडिक एसिया प्रशान्त क्षेत्रका अध्यक्ष सुधीर धवन, नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहलगायत उपस्थित थिए।