काठमाडौं। आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले घटेर ३८ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असोजसम्म कुल वस्तु निर्यात ६.१ प्रतिशतले घटेको हो। गत वर्षको सोही अवधिमा यस्तो निर्यात २।३ प्रतिशतले कमी आएको थियो।
गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ५.३ प्रतिशत, २४.८ प्रतिशत र ६.६ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा सोयाबिन तेल, चिया, पार्टिकल बोर्ड, जुत्ता तथा चप्पल, पिनालगायत वस्तुको निर्यात बढेको छ भने जिंक सिट, पाम तेल, अलैंची, जुस, तयारी पोसाकलगायतका वस्तुको निर्यात घटेको छ।
आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटी ३ खर्ब ९० अर्ब ७५ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.७ प्रतिशतले वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.९ प्रतिशत, १.५ प्रतिशत र ७.९ प्रतिशतले कमी आएको छ।
वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्ट्स्, खानेतेल, स्पन्ज आइरन, लसुन, तेलहनलगायत वस्तुको आयात बढेको छ भने सुन, पेट्रोलियम पदार्थ, विद्युतीय उपकरण, कच्चा पाम तेल, एमएस बलिेटलगायत वस्तुको आयात घटेको छ।
निर्याततर्फ विराटनगर, कैलाली, कृष्णनगर, नेपालगञ्ज र रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ जलेश्वर, कैलाली, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।
आर्थिक वर्ष २०८१÷८२ को तीन महिनामा कुल वस्तु व्यापार घाटामा ४।० प्रतिशतले कमी आई ३ खर्ब ५२ अर्ब ३७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २।१ प्रतिशतले वृद्घि भएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९।८ प्रतिशत पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.० प्रतिशत रहेको थियो। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४४ अर्ब १३ करोड बराबरको वस्तु आयात भएको छ।