काठमाडौं। असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत कायम भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आव २०८१/८२ को तीन महिनाको तथ्यांकअनुसार असोज महिनासम्म उपभोक्ता मुद्रास्फीति ४.८२ कायम भएको हो।
गत वर्षको सोही महिनामा भने यस्तो मुद्रास्फीति ७.५० प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७।१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३।४९ प्रतिशत रहेको छ। गतको वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशतले वृद्धि भएको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २५.१५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९।५७ प्रतिशत र घ्यू तथा तेलको ४.९८ प्रतिशतले बढेको छ भने माछा तथा मासु उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८ प्रतिशत, मरमसलाको ०।७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.७८ प्रतिशतले घटेको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.४९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.३२ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.१२ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.०० प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.७६ प्रतिशतले बढेको छ।
प्रदेशगत रुपमा समीक्षा महिनामा कोसी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६।२६ प्रतिशत, मधेसको ५.०८ प्रतिशत, बागमतीको ४.२४ प्रतिशत, गण्डकीको ३.९८ प्रतिशत, लुम्बिनीको ४.४२ प्रतिशत, कर्णालीको ३.२५ प्रतिशत र सुदूरपश्चिमको ६.५६ प्रतिशत रहेको छ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५० प्रतिशत, तराईको ५.२३ प्रतिशत, पहाडको ४.३२ प्रतिशत र हिमालको ५.०८ प्रतिशत रहेको छ।