काठमाडौं। चालू आर्थिक वर्षको ३ महिना असोज मसान्तसम्म शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड बचतमा पुगेको विवरण नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिने तथ्यांकअनुसार गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोडले बचतमा थियो। अमेरिकी डलरमा गत वर्षको असोजसम्म ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति यो वर्षको असोजसम्म १ अर्ब ३८ करोडले बचतमा छ।
यस अवधिमा चालू खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५९ अर्ब ६५ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ४ अर्ब ८१ करोड रहेको छ। विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च पुगेको छ।
विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्म नेपालको विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ, जुन गत आव असार मसान्तको तुलनामा ९.४ प्रतिशतले बढी हो।
२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड कुल विदेशी विनिमय सञ्चिति थियो। गत भदौसम्ममा कुल विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब थियो। अमेरिकी डलरमा यस्तो सञ्चिति ८.७ प्रतिशतले बढेको छ।
२०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा १६ अर्ब ६० करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा २०८१ असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा २६.९ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ। २०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८१/८२ को ३ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।