काठमाडौं। आगामी मंसिर १५ देखि हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा मोबाइल सेवाप्रदायक कम्पनी एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारी घोषणा भएको छ।
साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीका लागि क्रिकेट महोत्सवलाई ऊर्जा दिँदै स्थानीय क्रिकेट प्रतिभाको विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ।
व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–२० प्रतियोगिता एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आबद्ध भएको छ। यसका लागि गत साता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको एनसेलले जनाएको छ। एनपीएलमा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहनेछ भने अन्तर्राष्ट्रिय खेलकुद टिभी च्यानलमार्फत पनि प्रत्यक्ष प्रसारण हुनेछ।
प्रतियोगितामा सातै प्रदेशले आ–आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीको संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्नेछन्। यसले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिविम्बित गर्ने कम्पनीको दाबी छ।
जाब्बोरले भने, ‘यू–१९ महिला क्रिकेट टोलीले पहिलो पटक आइसीसी महिला यू–१९ टी–२० विश्वकप छनोटमा भएको उल्लेखनीय उपलब्धिलगत्तै हामी नेपाल प्रिमियर लिगका लागि क्यानसँग ‘पावर्ड बाई एनसेल’ साझेदारी घोषणा गर्न पाउँदा खुसी छौं। यसले नेपालका क्रिकेट खेलाडीलाई उत्कृष्ट अनुभव र प्रतिभा प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउने उद्देश्य राखेको छ। समझदारी नेपालको क्रिकेट यात्रामा महत्त्वपूर्ण उपलब्धि हो।’
एनसेलले आफ्ना ग्राहकका लागि लाइभ स्क्रिनिङमार्फत एनपीएलका खेल जहाँ भए पनि हेर्न सकिने सुविधा उपलब्ध गराउनेछ। एनसेलले खेल मैदानमा विभिन्न गतिविधि आयोजना गर्दै प्रतियोगिताभर ग्राहकका लागि विभिन्न योजना ल्याउनेछ।
मंसिर १५ देखि पुस ६ सम्म नेपालमा सञ्चालन हुने प्रतियोगितामा आठ टिमका १६० खेलाडी कुल ३२ रोमाञ्चक खेलमा समावेश हुनेछन्। सबै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ।
आठ टिमले राउन्ड–रोबिन फर्माटमा प्रतिस्पर्धा गर्नेछन्, जसमा प्रमुख सहर विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा र सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने टिम छन्।