काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले राजस्व नीति र कर प्रणालीबारे बृहत् अन्तरक्रिया सम्पन्न गरेको छ। जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभाग, निजी क्षेत्रका प्रतिनिधिलगायत सरोकारवाला निकायलाई बोलाएर चेम्बरले कर प्रणालीमा देखिएका चुनौती र सम्बोधन गर्नुपर्ने विषयबारे बृहत् छलफल गरेको हो।
चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कर प्रणालीलाई लगानीसँग जोड्नुपर्ने बताए। उनले भने, ‘कर प्रशासन र कर नीति सहज र सरल भयो भने लगानीमैत्री वातावरण बन्छ। लगानी वृद्धि भएर निजी क्षेत्रले नाफा कमाए मात्रै कर वृद्धि गर्न सकिन्छ।’
मुलुकमा पुँजी निर्माण भएर रोजगारी सिर्जना, उत्पादन वृद्धि हुने गरी सरल र सहज नीति बनाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए। कृषकलाई खेती उब्जनीमा मलबिउ आवश्यक परेजस्तै निजी क्षेत्रलाई सरल र स्थिर नीति चाहिने उनको भनाइ छ।
अर्थतन्त्रमा झन्डै ८१ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई सहजीकरण र स्थिर नीतिगत व्यवस्था गरे दिगो अर्थतन्त्रको विकास एवं राजस्व संकलनको लक्ष्य पूरा गर्न समस्या नहुने अध्यक्ष अग्रवालले दाबी गरे।
भन्सारमा कारोबार मूल्यलाई मान्यता दिएर सन्दर्भ मूल्यलाई खारेज गर्नुपर्नेमा उनको सुझाव छ। नक्कली भ्याट बिलमा संलग्नलाई कारबाही गर्नुपर्ने तर, छानबिनका नाममा असल व्यापारीलाई दुःख नदिन अध्यक्ष अग्रवालले आग्रह गरे। २०५८ मा आएको आयकर ऐनलाई संशोधन गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए।
कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले कर प्रणालीलाई लगानीसँग जोड्न सरकारले पनि काम गरिरहेको बताए। उनले भने, ‘लक्ष्यअनुसारको उपलब्धि हासिल गर्न नसकिए पनि अर्थतन्त्र अहिले ठिक ठाउँमा छ। राजस्व प्रणाली र सरकारको खर्च प्रणालीमा सुधार हुँदै आएको छ।’
नक्कली भ्याट बिलबिजकको समस्या समाधान गर्ने गरी प्रयास भइरहेको उनको भनाइ छ।