काठमाडौं। आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४४ पदका लागि ४१० जनाको मनोयनपत्र दर्ता भएको छ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
गाउँपालिका र नगरपालिका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, दुई सय ९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको मनोयन पत्र दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।
कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।
धनुषामा सबैभन्दा धेरै तथा रुकुम पूर्वमा र बझाङ जिल्लामा सबैभन्दा कम उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ। सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ र बझाङको सुर्मा गाउँपालिका–४ को वडा अध्यक्ष पदमा तीन÷तीन जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ।
आइतबार बिहान१० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र मंसिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
मंसिर ५ मा उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।