काठमाडौं । लगानी समूहका सात कम्पनीले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
नागरिक लगानी कोष, हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, सिइडिबी होल्डिङ लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, हाथवे इन्भेष्टमेन्ट नेपाल र इमर्जिङ नेपाल लिमिटेडले पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
उक्त वित्तीय विवरणअनुसार यी कम्पनीले चालू आवको पहिलो त्रैमास अर्थात् तीन महीनामा कुल रू. १ अर्ब ९ करोड ५४ लाख नाफा कमाएका छन् । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १ दशमलव ७१ प्रतिशत कम हो । गत आवको सो अवधिमा कम्पनीहरूले कुल रू. १ अर्ब ११ करोड ४४ लाख नाफा कमाएका थिए ।
चालू आवको पहिलो त्रैमासमा यी कम्पनीहरूमध्ये नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सबैभन्दा बढी रू. ३५ करोड ९ लाख नाफा कमाएको छ । त्यस्तै इर्मजिङ नेपालले सबैभन्दा कम रू. ६ लाख ६७ हजार मात्रै नाफा कमाएको छ ।
यो अवधिमा तीन कम्पनीको नाफा घटेको छ भने बाँकीको बढेको छ । प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले कमाएको छ । उक्त कम्पनीको नाफा ३८७ प्रतिशत वृद्धि भएको छ ।
यस कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ८८ लाख ८३ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ४ करोड ३३ लाख कमाएको छ । त्यस्तै सिइडिबी होल्डिङको नाफा २०२ प्रतिशत वृद्धि भएको छ । यस कम्पनीले गत आवमा रू. ३ करोड नाफा कमाएकोमा चालू आवमा बढेर रू. ९ करोड ७ लाख पुगेको छ ।