काठमाडौं। सर्वोच्च अदालतको २०२४ अगस्तको फैसलालाई सम्मान गर्दै डा. बद्री केसी नेतृत्वको आईसीसी बैठकले गैरआवासीय नेपाली संघ (एनआरएनए)एकता र प्रगतिका लागि पुनः प्रतिबता जाहेर गरेको छ।
ऋाज बसेको आईसीसी बैठकले एनआरएनएको ११औं महाधिवेशनलाई स्वायत्त, सार्वभौम र २÷२ वर्षमा नियमित रूपमा सञ्चालन हुने वैधानिक अधिवेशनका रूपमा मान्यता दिएकामा वर्तमान कार्यसमितिले उक्त निर्णयलाई पूर्ण सम्मान गर्दै संघको एकता र प्रगतिका लागि दृढ प्रतिबद्ध रहेको महासचिव गौरीराज जोशीले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको हो।
सर्वोच्चको फैसलाले संघको निर्वाचित कार्यसमितिलाई स्वायत्त तथा सार्बभौम स्वीकार गरेको, आफ्नो कार्यकालभरि काम गर्ने र प्रत्येक २÷२ वर्षमा महाधिवेशन सम्पन्न गर्ने अधिकार प्रत्यायोजन गरेको हुँदा वर्तमान कार्यसमिति सबैलाई सम्मान र संवादको माध्यमबाट विश्वासमा समेट्दै एकताबद्ध संस्थाका रूपमा अघि बढ्न कटिबद्ध रहेको बताइएको छ।
२०२३ अक्टोबरमा एकताको ११औं महाधिवेशन सम्पन्न भइसकेपछि लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित वर्तमान कार्यसमितिको १०२औं आईसीसी बैठकले सर्वोच्चको पछिल्लो फैसलाको आधारमा १०औं अधिवेशन सम्बन्धी उच्चस्तरीय समिति ११औं महाधिवेशन हुन नसकेको अवस्थामा परिकल्पना गरिएकाले हाल फरक परिवेश सिर्जना भइसकेको हुँदा औचित्य तथा सान्दर्भिकता समाप्त भइसकेको ठहर बैठकले गरेको छ।
वर्तमान कार्यसमितिको स्वायत्तता तथा सार्वभौमतामा प्रतिकूल असर गर्ने प्रकारको क्रियाकलाप नगर्न सम्बन्धित पक्षलाई सचेत गराइएको छ।
‘वर्तमान कार्यसमिति संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, अग्रज र अभियन्तासँग संवाद र सहकार्य गर्दै संघका दीर्घकालीन विवाद तथा आन्तरिक संगठनात्मक मतभेदलाई वैधानिक रूपमा समाधान गर्न प्रतिबद्ध छ। यो साझा प्रयासले एनआरएनएलाई अझ सुदृढ, एकीकृत र सबल बनाउनेछ। स्मरण रहोस्, सर्वोच्च अदालतको अघिल्लो फैसला नम्बर–१५०७, जुन अप्रिल २०२४ मा आएको थियो, त्यसमा एनआरएनएको १०औं महाधिवेशनका विवाद समाधान गर्न संघकै २०१९–२०२१ कार्यकालको ८१औं आईसीसी बैठकद्वारा गठन गरिएको समितिलाई आधार मानी थप विस्तार गरिएको थियो। तर, उक्त समितिले तत्कालीन समयमा पनि निर्धारित जिम्मेवारी समयमा पूरा गर्न नसकेकाले ८२औं आईसीसी बैठकले उक्त समितिलाई खारेज गरेको थियो’, विज्ञप्तिमा भनिएको छ।
हाल विभिन्न व्यक्ति तथा समूहले सहमतीय पद्धतिमा सहमति, सहकार्य र एकता गर्दै गरिएको १०औं अधिवेशन सम्बन्धमा पनि सर्वोच्चमै पुनरावेदन निवेदन दर्ता गरिएकामा निर्णय आउन बाँकी रहेको छ। बैठकले विगत विषयमा भएका संगठनात्मक असामन्जस्य बाबजुद संघले निर्दिष्ट सेवामूलक कर्तव्य पूरा गर्ने निर्णय गरेको छ।
१०२औं आईसीसी बैठकले भर्खरै सम्पन्न एनआरएन डे २०२४, ग्लोबल कन्क्लेब तथा वार्षिक साधारणसभा २०२४ भव्य रूपमा सम्पन्न भएकोमा नेपाल सरकारलगायत सरोकारवालालाई धन्यवाद प्रस्ताव पारित गरेको छ।
बैठकले मार्चभित्र सम्पूर्ण क्षेत्रीय परिषद् सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको छ। यसअन्तर्गत एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन मार्चमा, कम्बोडियामा, युरोप क्षेत्रीय सम्मेलन मार्चमा माल्टामा, अन्य क्षेत्रीय सम्मेलनको मिति र स्थान छिट्टै निर्धारण गरिने बताइएको छ।
संघले नेपालमा गर्दै आएका परोपकारी कार्यलाई थप प्रभावकारी बनाउन मेची कप फुटबल प्रायोजन गर्ने र बर्दियाको बर्थिङ सेन्टरमा सुविधासम्पन्न कोठा निर्माणका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।
सरकारको स्वास्थ्य सम्मेलनमा सक्रिय सहभागिता जनाउने, विश्व महिला सम्मेलन सहआयोजना गर्ने, थाइल्यान्डमा युथ पिएनओ सम्मेलन गर्ने थप निर्णय पनि भएको छ।
संघका सम्पूर्ण संगठनात्मक गतिविधिलाई निर्वाचित महासचिवमार्फत सम्बन्धित सबैलाई जानकारी गराउने तथा थप सशक्त बनाउने र संघका प्रवक्तामार्फत सकारात्मक सूचनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।