काठमाडौं। गरिमा विकास बैंकले १८औं वार्षिकोत्सव अवसरमा आउँदो मंसिर ८ गते ‘गरिमा रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्ने भएको छ। खुलातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दूरीको रोड रेसमा दुवै विधाअन्तर्गत महिला र पुरुषतर्फ गरी चार वटा प्रतिस्पर्धा हुनेछन्।
खुलातर्फको १० किलोमिटर रोड रेसमा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेटतर्फको ५ किलोमिटर रोड रेसमा संघसंस्थाका कर्मचारी तथा पदाधिकारीले मात्र सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई क्रमशः ७५,०००, ६०,०००, ४५,०००, ३०,००० र १५,००० रुपैयाँ नगद पुरस्कार उपलब्ध गराइनेछ।
प्रतिस्पर्धामा सहभागिता जनाउन चाहने इच्छुकले मंसिर ५ सम्म बैंकको आधिकारिक वेबसाइट तथा आधिकारिक फेसबुक पेज वा केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ। निर्धारित सहभागी संख्या पूरा भएको अवस्थामा बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ।
बैंकले वार्षिकोत्सव अवसरमा देशभर १८ वटा फरक–फरक कार्यक्रम आयोजना गर्दै छ। हाल बैंकले देशभर १२३ शाखा, १ एक्सटेन्सन काउन्टर र ५० एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।