काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक) मा आन्तरिक राजस्वमा केही सुधार देखिएको छ ।
आन्तरिक राजस्व विभागले कात्तिकसम्म १ खर्ब ४९ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ । यो रकम आव २०८०/८१ को यसै अवधिको तुलनामा १७.०९ प्रतिशत धेरै हो । अर्थ मन्त्रालयका अनुसार विभागले गत आवको कात्तिक मसान्तसम्म १ खर्ब २७ अर्ब ४५ करोड रुपैयाँ संकलन गरेको थियो ।
अर्थ मन्त्रालयका अनुसार आन्तरिक राजस्व विभागले लक्ष्यको ८८.५५ प्रतिशत मात्र राजस्व उठाएको छ । कात्तिकसम्म विभागले १ खर्ब ८० अर्ब १५ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो ।
आन्तरिक राजस्वतर्फ मूल्य अभिवृद्धि कर ४१ अर्ब ४५ करोड रुपैयाँ संकलन भएको छ । यस अवधिमा उत्पादन, बिक्री र सेवामा ५१ अर्ब १ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर उठाउने लक्ष्य रहेको थियो ।
अन्तःशुल्कतर्फ आन्तरिक राजस्व विभागले ३९ अर्ब ५५ करोड रुपैयाँ उठाएको छ । यस अवधिमा ४२ अर्ब १९ करोड अन्तशूल्क उठाउने लक्ष्य थियो । आयकर समेत लक्ष्य अनुसार उठ्न सकेन । कात्तिकसम्म आयकर ६६ अर्ब ९३ करोड उठेको छ । यस अवधिमा ८६ अर्ब २७ करोड रुपैयाँ आयकर उठाउने लक्ष्य थियो ।
भन्सार विभागको संकलन भने आन्तरिक राजस्वको तुलनामा समेत कम छ । विभागले कात्तिकसम्म १ खर्ब ४० अर्ब ६७ करोड रुपैयाँ राजस्व उठाएको छ । कात्तिकसम्म विभागले पाएको लक्ष्य १ खर्ब ८८ अर्ब ५६ करोड रुपैयाँ हो । विभागले गत वर्षको तुलनामा १०.९० प्रतिशत धेरै राजस्व उठाएको देखिन्छ । यद्यपि लक्ष्यको तुलनामा भने ७४.६० प्रतिशत मात्र भन्सार राजस्व उठेको छ ।
भन्सार राजस्वतर्फ भन्सार महसुल ६७ अर्ब ६० करोड रुपैयाँ उठेको छ । यस अवधिमा भन्सार विभागले ९४ अर्ब ७२ करोड रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य राखेको थियो । मूल्य अभिवृद्धि करतर्फ ५७ अर्ब ३० करोड मात्र संकलन भएको छ । लक्ष्य ७४ अर्ब २६ करोड रुपैयाँ थियो । अन्तःशुल्कतर्फ १५ अर्ब ७५ करोड रुपैयाँ मात्र उठेको छ । लक्ष्य भने १९ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।