काठमाडौं । विगत ४ महिनादेखि रोकिएको बिजुली बस खरिद प्रक्रियामा साझा यातायात लिमिटेडबाहेक अन्य कम्पनीलाइ जिम्मा दिने बिषयमा सरकारले छलफल अघि बढाएको छ । साझालाइ नै पुनः बस खरिद गर्न दिने कि मन्त्रालय वा अन्य कम्पनीमार्फत बस खरिद गर्ने भन्ने बिषयमा छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताए ।
मन्त्रालयले आफैंले नै बस खरिद गरी चलाउने कि भन्ने बिषयमा छलफल भएको तर, टुङ्गो नलागेको उनले बताए । ‘साझालाइ नै पुनः खरिद गर्न दिने या मन्त्रालयले आफैं बस खरिद गर्ने भन्ने बिषयमा छलफल भइरहेको छ’ उनले भने, ‘तर, यस्को टुङ्गो लागिसकेको छैन् ।’
उनका अनुसार, बिजुली बस खरिद प्रक्रिया कसरी अघि बढाउने भनेर मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक समिति गठन भइ अध्ययन भइरहेको छ । सरकारले निर्दिष्ट गरेको ‘स्पेसिफिकेसन’ भन्दा बाहिर गरेर साझाले बस खरिद गर्ने निर्णय अघि बढाउन खोजेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असोज १ गते खरिद प्रक्रिया यथास्थितिमा राख्न पत्र पठाएको थियो । त्यसयता साझाले खरिदको कुनै पनि प्रक्रिया अघि बढाएको छैन् ।
मन्त्रालयले औपचारिक रुपमा केही नभनेकाले खरिद प्रक्रिया यथावत रहेको साझा यातायात कम्पनीका अध्यक्ष कनकमणी दिक्षितले बताए । सरकारले विश्वास गरेर दिएको जिम्मेवारी साझाले पूरा गर्ने उनको तर्क छ । यसअघि साझाले काठमाडाैं उपत्यकामा सञ्चालनमा ल्याएका बिजुली बस नचलेर अहिले ग्यारेजमा थन्किएका छन् ।
अहिले निजीक्षेत्रबाट सुन्दर यातायात प्रालिले ४ अाेटा बिजुली बस काठमाडाैं उपत्यकामा चलाइरहेकाे छ ।
यसअघि सरकारले विश्वास गरेपछि अब भने बिजुली बस खरिद गर्ने साझाले पाउने कुरा सतप्रतिशत टुङ्गिएको एक यातायात व्यवसायीले बताए । ‘साझाले ३०० ओटा बिजुली बस किन्ने ‘टपिक’ करिव करिव समाप्त भइसक्यो’ ती अधिकारीले भने, ‘साझा यातायातले कुनै पनि हालमा बस खरिद गर्दैन । अहिलेलाइ यत्ति बुझ्नुस ।’
अर्का एक अधिकारीले नेपालमा विद्युत्तीय बस सञ्चालनमा ठूलै समुहले अवरोध गरिरहेको बताए । उच्च पदस्थ देखि पेट्रालियम सवारी तथा यातायात कम्पनीका व्यवसायी समेत बिजुली बस नचलोस् भनेर शक्रिय रुपमा खेल्न थालेको ती अधिकारीले बताए ।
प्रदेश ३ ले आफैं बिजुली बस किन्ने
लामो समयदेखि बस खरिद प्रक्रिया अलपत्र बनेपछि प्रदेश नम्बर ३ सरकारले बिजुली बस खरिदका लागि साझासँग गरेको सम्झौता खारेज गर्दै आफैं बिजुली बस खरिद गर्ने निष्कर्षमा पुगेको छ । उसले बिजुली बस खरिद गर्नका लागि ३० करोड रुपैयाँ दिने घोषणा गरेको थियो । अहिले प्रदेश सरकारले आफैंले बिजुली बस खरिद गर्ने योजना बनाएको छ ।
त्यस्तै, काठमाडौं र ललितपुर महानगरपालिकाले पनि सरकारले खरिद प्रक्रिया रोकेको भन्दै आफुले पनि बिजुली बस खरिदमा साझा सँग गरिएको सम्झौता खारेज भएकाे बताएका छन् ।