काठमाडौं। प्रभु केबलकार एन्ड टुरिजमले ३० करोड रुपैयाँ बराबरको प्रारम्भिक निष्कासन गर्न कुमारी क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
प्रभु केबलकार प्रभु ग्रुप्स एन्ड कम्पनिज्अन्तर्गतका प्रभु ऊर्जा कृषि पर्यटन विकास, प्रभु होल्डिंग्स एन्ड हाइड्रो डेभलपमेन्ट कम्पनी, हाइड्रो होल्डिंग्स् एन्ड पावर डेभलपमेन्ट कम्पनी, प्रभु स्टिल्स एन्ड हाइड्रो इक्युपमेन्ट इन्डस्ट्रिज गरी ४ कम्पनीको मुख्य लगानीमा स्थापित कम्पनी हो।
प्रभु केबलकारको लगानीमा तीन वटा केबलकार परियोजना अगाडि बढेका छन्। यीमध्ये बुटवलमा भगवान् गौतमबुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोटगढी पाल्पा जाने सिद्धार्थ केबलकार परियोजना गत असोजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आइसकेको छ। प्रभु केबलकार एन्ड टुरिजम सिद्धार्थ केबलकारको मुख्य लगानीकर्ता हो।
त्यस्तै, कम्पनीकै लगानीमा सुदूरपश्चिमस्थित बाजुराको बडीमालिका मन्दिर र चितवनको इच्छाकामना मन्दिरमा निकट भविष्यमा केबलकार बनाएर सञ्चालन गर्ने तयारी छ। कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादनमूलक उद्योग र साहसिक पर्यटनमा समेत लगानी गर्दै दोस्रो बजारमा राम्रो उपस्थिति जनाएको छ।
आईपीओ निष्कासन बिक्री प्रबन्धक नियुक्ति सम्झौतापत्रमा प्रभु केबलकारका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे।