‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा...
एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा...।
स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको यो गीतले अधिकांश व्यक्तिको जीवनमा मेल खाएकै हुन्छ। चाहे त्यो सफलताको शिखरमा पुगेको व्यक्ति होस् या असफलताले थलिएर संघर्षको भूमरीमा फसेको नै किन नहोस्। जीवनमा एउटा मान्छेको माया र साथले लक्ष्य, उद्देश्य नै बदलिदिएको हुन्छ। यस्तै, बिमएउटा मान्छेको माया र साथले जिन्दगी बदलिएका व्यक्तिमध्ये एक हुन्, दीपप्रकाश पाण्डे।
नेपालको बिमा क्षेत्रमा ‘पायोनियर’को चिनारी बनाइसकेका शिखर इन्स्योरेन्सका कार्यकारी अधिकृत (सीईओ) पाण्डे तीन दशकअघि आफूलाई मन परेकी प्रियसीलाई आफ्नै बनाउने चाहमा यस क्षेत्रमा प्रवेश गरेका थिए। बाल्यकालदेखि नै ‘बिजनेस’ गर्ने लक्ष्य बुनेका दीपप्रकाश सञ्चिता स्वाँरलाई आफ्नी बनाउनकै लागि सबै त्यागेर बिमा कम्पनीका जागिरे भए। पूर्वगृहमन्त्री स्व. नैनबहादुर स्वाँरले आफ्नी छोरीको श्रीमान् हुन जागिरे नै चाहिने सर्त राखेपछि पाण्डे व्यवसायी हुने सपना त्यागेर एभरेष्ट इन्स्योरेन्समा फाइनान्स म्यानेजरका रुपमा आबद्ध भए।
नेपालमा आधिकारिक रुपमा बिमा व्यवसाय सुरु भएको ६ दशक मात्रै भएको छ। विसं २०२४ मा सरकारले राष्ट्रिय बिमा संस्थानको स्थापना गरेपछि आधिकारिक रुपमा बिमा व्यवसाय सुरु भएको मानिन्छ। नेपालमा निर्जीवन बिमा व्यवसायमा विगत र वर्तमान दुवै समय सम्झनैपर्ने व्यक्तित्वमा पर्छन्, सीईओ पाण्डे। पूर्वसचिव दुर्गाप्रकाश पाण्डेका छोरा र भेट्रान बैंकर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेका सहोदर भाइ हुन्, दीपप्रकाश।...
५९ वर्षअघि काठमाडौंको क्षेत्रपाटीस्थित रक्तकालीमा जन्मिएका दीपकप्रकाश पूर्वसचिव स्व. दुर्गाप्रकाश पाण्डेका कान्छा छोरा हुन्। गुरुजु खलकको पाण्डे परिवारमा हजुरबुबा चन्द्रबहादुर थापा र बुबा दुर्गा अलि कडा स्वभावका थिए। दीपप्रकाशका बुबा र हजुरबुबा कर्मचारीपछि राजदूतसमेत बने। दीपक सिलसिलामा भारतको कोलकाता गए।
दीपप्रकाश बाल्यकालदेखि नै क्षेत्रपाटी दरबारमा हुर्किएका हुन्। यो दरबार ७२ भूकम्पले भत्काए पनि आधा आरती होटलभित्र आधा बाँकी छ। पण्डे काकासहित ७ सन्तानमा सबैभन्दा कान्छा हुन्। परिवारमा कान्छो सदस्य भएकैले सबैको प्यारो र पुलपुलिएर हुर्किन पाए।
‘बुबाले आफ्नो भाइको अपनत्व लिएका कारण सामूहिक परिवारिक बसाइँ थियो। ‘काम गर्ने र परिवार सदस्य गरेर त्यो समय हामी फुटबल टिमजत्तिकै हुन्थ्यौं’, पाण्डेले भने, ‘म परिवारको सबैभन्दा कान्छो सन्तान थिएँ। पढाइमा बुबाआमाले कहिल्यै सम्झौता गर्नु भएन।’
राजकुलबाट पढाइ सुरु गरेका भए पनि परिवारका सबै दाजुभाइ र दिदीहरुले सेन्ट जेभियर्स स्कुलमा अध्ययन गरेकाले उनले पनि त्यहीँ पढे। ३ कक्षासम्म सेन्ट जेभियर्स पढे पनि ४ कक्षादेखि बूढानीलकण्ठ स्कुलमा भर्ना भए, पाण्डे।
‘एउटै परिवारका बच्चा एकै परिवेशमा छाप गहिरो छ। त्यहाँको पढाइ मेरो जीवनमा धेरै महत्त्वपूर्ण पनि छ’, उनले भने। पाण्डे पढाइमा उत्कृष्ट विद्यार्थी नभए पनि जेहेनेदारमध्येमा भने गनिन्थे।
पाण्डे बूढानीलकण्ठमा कक्षा ९ मा पढिरहेका बेला बुबा कोलकाताका लागि कल्चर जनरल (महावाणिज्यदूत) भएपछि सेन्ट जेभियर्स कोलकातामा पुनः सोही कक्षामै भर्ना भए। फुटबल, हकी, क्रिकेट, भलिबललगायत खेलमा रुचि राख्ने पाण्डेले कोलकाता बस्दा कराँते पनि सिकेका थिए। उनले कोलकाताको सेन्ट जेभियर्सबाट स्नातक गरे।
व्यवस्थापनको पहिलो पाठशाला बुबा
सही व्यवस्थापनकै कारण इन्स्योरेन्स क्षेत्रको शिखरमा पुगेका पाण्डेले व्यवस्थापनको कला (कल्चर) भने आफ्ना बुबाबाटै सिक्ने अवसर पाए। कोलकातामा कल्चर जनरल रहेका पाण्डेका बुबाका लागि ३ वटा सुविधासम्पन्न गाडी थिए। घरमा काम गर्ने नोकरचाकर हुँदा पनि उनका बुबाले छोराछोरीलाई व्यक्तिगत काम आफैं गर्नुपर्छ भनेर सिकाए।
‘बुबाको चाहना हामी पुलपुलिनु हुँदैन भन्ने थियो। हामीले बुबासँग हुँदा मात्रै गाडी चढ्ने मौका पाउँथ्यौं। अन्यथा बजार जाँदा होस् या स्कुल, कलेज जाँदा। जहिल्यै पैदल वा सार्वजनिक यातायात चढ्थ्यौं’, पाण्डेले भने, ‘हामी गुरुजुको दरबारमा बसेका बुबाआमाले कहिल्यै केही कुराको कमी हुन दिनु भएन। तर, उहाँहरुले सधैं पैसाको महत्त्व बुझाएर जीवनयापन गर्न सिकाउनुभयो।’ पाण्डेले आफ्ना बुबाले सिकाएको अनुशासन र सानैमा व्यवस्थापनबारे दिएको ज्ञानलाई अहिले व्यवहारमा उतारेका छन्। आफू सफल हुनुमा प्रमुख योगदाननै बुबा भएको उनी बताउँछन्।
‘हामीलाई बुबाले पहिलो पटक म्यानेजमेन्टको अवसर दिनुभएको हो। दुई दाजुभाइलाई नै मासिक बजेट दिएर २÷३ महिना घरखर्च चलाउन भन्नुहुन्थ्यो,’ सीईओ पाण्डेले भने, ‘बुबा दुर्गाप्रकाशले ९÷१० कक्षा पढ्दादेखि नै एकमुष्ट पैसा दिएर महिनाभर घर खर्च चलाउन, घरमा आउने पाहुना व्यवस्थापन गर्न, चाडपर्व खर्च पु¥याएर आफ्ना लागि पकेट खर्च जोगाउन सिकाउनुभयो।’
महिनावारी घरमा चाहिने दाल, चामल, तेल, तरकारीलगायत कति ल्याउने हो, कुकसँगै बसेर लिस्ट बनाउँथे, दाजुभाइ। ‘हामीबीच दैनिक खाने मासु, दूध, तरकारीलगायत चीज कति ल्याउने र कसले राम्रो घरखर्च चलाउने भन्ने प्रतिस्पर्धा हुन्थ्यो। अहिले त्यही प्रतिस्पर्धा मेरा लागि सबैभन्दा ठूलो पाठशाला बन्यो’, पाण्डेले भने।
बुबासामु घर व्यवस्थापनमा अब्बल हुने स्पर्धाको सिकाइकै कारण अहिले दुवै दाजुभाइले बिमा र बैंकिङ क्षेत्रको अब्बल मानिएका संस्थाको व्यवस्थापन हाँकिरहेको पाण्डेको बुझाइ छ। बुबाले सानैदेखि सम्पन्न भए पनि पैसाको महत्त्व सिकाउँदै संर्घषको जीवन जिउने बाटो देखाएकै परिणाम सफलताको चुचुरोमा पुग्न सफल भएको उनी ठान्छन्।
‘बुबाले जीवन बुझ्नुपर्छ, पैसाको महत्त्व के हो भनेर देखाउनुभएको आदर्शले हाम्रो जीवनमा महत्त्वपूर्ण भूमिका खेल्यो,’ सीईओ पाण्डेले भने, ‘उहाँको निधनपछि सम्झन्छु– भाइसहितको ११ जनाको परिवारमा नोकरचाकर पनि थिए। सरकारको तलबले कसरी घरखर्च चलाउनुभएको थियो होला भनेर। हामीले बाहिर पढ्नुमा मावलीको पनि सहयोग हुनुपर्छ।’ उनीहरुको घरमा खाना खाने, खेल्ने, पढ्ने समयतालिकै बन्थ्यो भने त्यहीअनुसार चल्थे।
बैंकको अफर छाडेर बिमामा
सन् १९८४ मा उच्चमाध्यमिक तह (हाईस्कुल) र सन् १९८८ मा बीकम अध्ययन सकेर सन् १९८९ मा नेपाल आए, पाण्डे। त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर अध्ययन थाले। सँगै उनले चार्टर्ड एकाउन्टेन्सी (सीए)को पढाइ सकाए पनि पूरा गर्न भने सकेनन्।
‘सीएको कोर्स पूरा गर्न ट्याक्सका केही विषय इन्डिया गरेर पढ्नुपथ्र्यो। तीनवर्षे मास्टर्स सकिनेबित्तिकै विवाहको कुरा चल्यो। विवाह गर्न जागिर नभई ससुराले छोरी नदिने हुनुभयो। त्यसपछि जागिरे प्रक्रियामा लाग्दा सीए पढाइ छुट्यो,’ उनले भने, ‘विवाह गर्नकै लागि जागिर खाने क्रममा बिमा क्षेत्रमा लागेको हुँ, जुन अहिलेसम्म निरन्तर छ।’ बाल्यकालदेखि उद्यमी बन्ने सपना बुनेका पाण्डे ससुराका लागि योग्य ज्वाइँ बन्न जागिरे बनेका रहेछन्।
पाण्डे हिमालयन र एसबीआई बैंकमा जागिरको प्रस्ताव छाडेर एभरेष्ट इन्स्योरेन्समा फाइनान्स म्यानेजरको रुपमा आबद्ध भए। उनले जागिर सुरु गर्दा निरञ्जन तिवारी र राजेन्द्र खेतान थिए। सन् १९९४ मा मासिक ८ हजार रुपैयाँ तलबसहितको जागिर सुरु गरेसँगै उनी विवाह बन्धनमा पनि बाँधिए।
एभरेष्ट इन्स्योरेन्सबाट शिखरसम्मको यात्रा
दीपप्रकाशले जागिर सुरु गर्दा बिमा क्षेत्रमा हिमालयन, प्रिमियर, युनाइटेड र एभरेष्ट इन्स्योरेन्स मात्रै सञ्चालनमा थिए। एभरेष्टमा उनी फाइनान्स म्यानेजर हुँदा डेपुटी महाप्रबन्धक (अहिलेका सीईओ) शैलेन्द्र श्रेष्ठ थिए। तर, श्रेष्ठले एक वर्ष नपुग्दै पदबाट राजीनामा दिए। उक्त समय नेपालको बिमा क्षेत्रमा दक्ष जनशक्ति अभाव थियो। निजी क्षेत्रका बिमा कम्पनीको उच्च व्यस्थापनमा सरकारी बिमा कम्पनीबाटै जनशक्ति भर्पाइ गरिन्थ्यो।
एभरेष्टका सञ्चालकले राष्ट्रिय बिमा संस्थानको अनुभवबाट उच्च व्यवस्थापन चलाउनुभन्दा आफ्नैै कर्मचारीको क्षमता विकास गर्ने योजनाअनुसार कम्पनी अध्यक्ष मोहनगोपाल खेतानले आफ्नै मान्छेलाई ‘ग्रोथ’ गर्नुपर्छ भनेर सिक्ने अवसर पाए।
यस क्षेत्रमा अन्डरराइटिङ, रि–इन्स्योरेन्स र क्लेम (दाबी भुक्तानी) बुझ्नैपर्छ। यी तीनै विषयमा पोख्त नभएपछि उनले यसबारे विभिन्न कक्षासँगै बाहिर तालिम पनि लिए। खेतानले पाण्डेलाई ३२ वर्षको उमेरमै कार्यवाहक सीईओको जिम्मेवारी दिए। फाइनान्स म्यानेजरलाई विश्वास गर्नेे तिवारी र खेतान आफ्नो करियरलाई उचाइमा पु¥याउने सुनौलो भ¥याङ बनिदिएको उनको धारणा छ।
‘निरञ्जन र मोहन सर डायइनामिक पर्सन हुनुहुन्छ। सक्ने काम सबै गर्छन् तर नसक्ने काममा दक्ष बनाएर गर्न सक्ने बनाउनुपर्छ भनेर उहाँहरुले मलाई ग्रोथ गराउनुभयो’, पाण्डेले सफलताको कथा सुनाए। एभरेष्टमा १० वर्ष काम गरेपछि उनले बिमामै केही नयाँ गर्नुपर्छ भनेर विभिन्न क्षेत्रमा सक्रिय व्यवसायीको जमघट गराएर सन् २००४ मा शिखर इस्योरेन्स स्थापना गरे।
‘एभरेष्टमा १० वर्ष जागिरे भएपछि शिखरमा जीएममा आएको हुँ। शिखर हामीले २६ जना प्रमोटर संस्थापक)बाट सुरु गरेका हौं,’ सीईओ पाण्डेले भने, ‘सुरुमा यसमा उड्डयन क्षेत्रका लगानीकर्ता धेरै थिए।’
नयाँ बिमा कम्पनी खोलेर महाप्रबन्धक सम्हाल्ने प्रस्ताव बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत र यती एयरलाइन्सका तत्कालीन प्रबन्ध निर्देशक स्व. आङछिरिङ शेर्पाले गरेको उनी सम्झन्छन्।
बिजनेस हाउसले कम्पनी चलाउनुभन्दा फरक–फरक क्षेत्रबाट प्रतिनिधित्व गर्ने सञ्चालक बनाएर नयाँ तरिकाले बिमा व्यवसाय चलाउनुपर्छ भन्ने सोचका साथ १० करोड रुपैयाँको पुँजीबाट सुरु भएको कम्पनी अहिले ५ सय करोडको बनिसकेको छ। शिखरको सुरुआतमा दैनिक १ लाख प्रिमियम संकलन गर्नु सबैभन्दा ठूलो उपलब्धि थियो। अहिले १ करोड उठाउँदा पनि अपुगजस्तो लाग्ने उनी सुनाउँछन्।
एभरेष्ट इन्स्योरेन्समा जागिर सुरु गर्दा ३ करोड चुक्ता पुँजी रहेकामा छाड्दा ५ करोड पुँजी पु¥याउन सकेको पाण्डे बताउँछन्। उनको समूहले शिखर इन्स्योरेन्स १० करोड पुँजी राखेर खोलेको थियो। पछि सार्वजनिक निष्कासनमार्फत साढे २ करोड पुँजी थप गरिएको उनले बताए।
‘प्रमोटरबाट १० करोड र पब्लिकबाट साढे २ करोड रुपैयाँ पुँजी जुटाएर सुरु गरेको कम्पनीको अहिले हकप्रद बोनस सेयर गरेर चुक्ता पुँजी नै २६२ करोड पुगिसकेको छ। नेथवर्थ करिब ५ सय करोड रुपैयाँ छ,’ उनले भने। शिखर इन्स्योरेन्स नेपालको १५औं निर्जीवन बिमा कम्पनीको रुपमा सञ्चालनमा आएको हो। अहिले नेपालको पहिलो निर्जीवन बिमा कम्पनीको रुपमा स्थापित भइसकेको छ।
७२ भूकम्पपछि ‘पहिलो नम्बर’को ताज
अहिले पनि निर्जीवन बिमा व्यवसाय सरकारले अनिवार्य गरेको बिमामा निर्भर छ। शिखर इस्योरेन्स बिमा क्षेत्रको दोस्रो पुस्ताको कम्पनी हो। अहिले सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीका सूचकमा ‘नम्बर वान’मा शिखर इन्स्योरेन्स छ।
शिखर स्थापनाको एक दशक नबित्दै प्रिमियम संकलन, दाबी भुक्तानीदेखि नाफा आर्जन, सेयरधनीलाई लगानीको उच्च प्रतिफल, नेट वर्किङ, पुँजी, रिजर्भलगायत सूचकमा पहिलो छ। शिखरले बीमितको विश्वास जितेरै जनतामा बिमा गर्न आत्मविश्वास बढाएर व्यवसायमा पहिलो नम्बरको ‘ताज’ पहिरिन सफल भएको पाण्डेको तर्क छ।
‘बिमा भनेको बीमितको आत्मबल बढाउँदै लग्दा उकासिने व्यवसाय हो। २०७१ चैतमा शिखर चौथो नम्बरमा थियो। त्यही समय हामीले पहिलो हुन के गर्ने भनेर बजार मूल्यांकन गरेका थियौं,’ पाण्डेले भने, ‘त्यो समय ‘नम्बर वान’मा पुग्न ४ वर्षमा लाग्छ भनेर सोहीअनुसारको व्यवसाय विस्तार लक्ष्य र योजना बनाएका थियौं। तर, २०७२ वैशाखको भूकम्पपछि हामीले जनतामा विश्वास र बिमा गर्नुपर्छ भन्ने आत्मबल विकास गरेकै कारण चार महिनामै ‘नम्बर वान’को ताज पहिरिन सक्यौं।’
भूकम्पले पु¥याएको क्षतिपूर्ति दिनुपरेकै कारण नेपालका निर्जीवन बिमा कम्पनी डुब्ने अनुमान धेरैले गरेका थिए। तर, शिखर इस्योरेन्सले यस्ता अड्कलबाजीको वास्ता नगरी भूकम्पको १४ दिनपछिबाटै दाबी भुक्तानी दिन थाल्यो।
त्यसबेला सरकारसँग सहुलियत कर्जा माग गरे पनि पुनर्बिमाले अग्रिम दाबी भुक्तानी गरेकाले लिनु नपरेको उनको भनाइ छ। ‘जब हामीले दाबी तिर्न थाल्यौं, अन्य कम्पनीलाई पनि तिर्नुपर्छ भन्ने भयो,’ सीईओ पाण्डेले भने, ‘त्यसपछि बिमा भनेको विश्वासको व्यवसाय रहेछ भन्ने महसुस भयो। सोहीअनुसार व्यवसाय विस्तारमा शिखर इस्योरेन्स टिम लाग्यो। त्यसपछि शिखरले अधिकांश वित्तीय सूचकमा निरन्तर ‘नम्बर वान’को स्थान ओगटिरहेको छ।’
बिमा गराउन हरेक विषयमा सहज व्यवस्था गरिँदै आएको उनको दाबी छ। ‘मूल्यमा धेरै मोलमोलाइ गरिएन। समयमै दाबी भुक्तानी दिएपछि विश्वासको वातावरण बन्यो र व्यापार बढ्यो। तपाईंहरु कसरी ‘नम्बर वान’ हुनुभयो भन्ने प्रश्नको जवाफ नै बिमा दाबी तिरेर भएको बताउँछु’, उनले भने।
शिखर इन्स्योरेन्सले जनतामा विश्वास जगाएरै व्यवसाय विस्तारमा सफलता पाएकाले अन्य कम्पनीलाई पनि दाबी भुक्तानीलाई प्राथमिकतामा राख्न सुझाउँछन्, पाण्डे। ‘दाबी तिरेर बढेको व्यापारले कम्पनीको सेयर मूल्य पनि बढ्यो। कम्पनीको सेयर खरिदबिक्रीले पैसा कमाएकै कारणले हामीले बिमा बिजनेस पाएका छौं,’ पाण्डेले भने, ‘बिमा पोलिसी गरिरहँदा बीमितले के पाउँछ, के पाउँदैन, प्रस्ट पार्न सकेन समस्या नहुने बिमकलाई विश्वास गर्न सक्छन्।’
बिमा कम्पनीले बीमित र तिनका परिवारलाई गरेको दाबी भुक्तानीले कतिपयको जीवन नै परिवर्तन गरेको हुन्छ। कैयौं अनुभव दीपप्रकाशसँग पनि छन्। बिमा दाबी भुक्तानी दिन पाउँदा गौरवानुभूहित हुने उनी सुनाउँछन्। यही कारणले बिमा छाडेर अन्य क्षेत्र जाने सोच कहिल्यै नबनाएको पाण्डे सुनाउँछन्।
‘बिमामा आएपछि अन्त जाने सोचै आएन। बिमा क्षेत्रका चुनौती सामना गर्दै बिजनेस गर्नुको आनन्द बेग्लै हुने हुँदा म यही क्षेत्रमै रहिरहें। आजसम्म नेपालको कुनै पनि एयरलाइन्स बिमाका कारणले डुबेका छैनन्’ पाण्डेले भने, ‘दुर्घटना भएका सबैको बिमा दाबी समयमै तिरेकाले पनि विमान कम्पनी फस्टाएका हुन्।’
भूकम्पको समय बिमाले दिएको केही लाख रुपैयाँले पुनः घर बनाउन सक्दा धन्यवाद दिनेको संख्या पनि उत्तिकै रहेको उनी बताउँछन्। ‘मरिजाने गए तर बाँचेकालाई बिमाले तिरेकै कारण जीवन जिउन, सपना पूरा गर्न सकेका कैयौं उदाहरण छन्,’ पाण्डेले भने, ‘यती एयरमा ज्यान गुमाएकी अञ्जु खतिवडाको श्रीमान् पनि पाइलटै हुनुहुन्थ्यो। श्रीमान् बित्दा अञ्जु नर्स पढिरहनुभएको थियो। बिमाले दिएको पैसा खर्चिएर पाइलट पढ्छु भन्नुभएको थियो। त्यसपछि अमेरिका गएर पाइलट बन्नु भएछ। म आमासहित विराटनगर जाँदा उहाँकै जहाजमा चढ्ने मौका पाएँ। असाध्यै खुसी लाग्यो। उहाँले बिमाले दिएको पैसाले आफ्नो सपना पूरा भएको सुनाउनुभयो।’
स्वास्थ्य क्षेत्रमा समेत बिमाकै कारण धेरै व्यक्तिको उपचार भइरहेको छ। कृषिमा कृषकले बिमाकै कारण ढुक्कले व्यावसायिक कृषि र पशुपालन गर्न सकेको उनको दाबी छ।
सरकारले अनिवार्य गर्दा चलेको निर्जीवन बिमा व्यवसाय
बिमा गराउने चलन पुरानै भए पनि यसलाई सरकारले अनिवार्य गरेकाले मात्रै व्यवसाय विस्तार भएको छ। नेपालमा सरकारी बैंकको कर्जा जोखिम वहन गर्न सरकारले बिमा संस्थान स्थापना गरेको हो। त्यसपछि अग्नि बिमाका लागि निर्जीवन बिमा कम्पनी खोज्न थालियो। त्यसयता सरकारले अनिवार्य गरेको बिमा गराउन कम्पनीका कार्यालय जानेको संख्या धेरै छ। सोही चलन अहिलेसम्म कायम रहेको पाण्डे बताउँछन्।
‘इन्स्योरेन्स भनेको जहिल्यै ‘फोर्स मार्केट’ भयो। हिजोका दिनमा नेपाल बैंकको कर्जा बिमा गर्न बिमा कम्पनी स्थापना भएकामा अहिले पनि त्यही चलन कायम छ। बैंकबाट कर्जा लिनुपर्दा सम्पत्ति बिमा, सरकारले तेस्रो पक्ष बिमा गर्नुपर्छ भने पछि मोटर बिमा, कृषि बिमा यस्तै–यस्तै भइरहेका छन्’, उनले भने।
विगतमा औपचारिकताका लागि बिमा गरिन्थ्यो। मानिसमा त्यो सोच आज पनि फेरिएको छैन। बैंकले कर्जा दिन अनिवार्य सम्पत्ति बिमा खोज्ने हुँदा कर्जा लिन बिमा गराउँछन्। आज पनि अनिवार्य बिमा गराउनुपर्छ भन्ने सोच नागरिकमा नहुँदा समस्या भएको पाण्डे बताउँछन्।
‘बिमा व्यवसाय बैंकबाट सुरु भयो। भूकम्प गएसँगै घरको बिमा गराउनुपर्ने रहेछ भन्ने सोच आयो। त्यसपछि यातायात क्षेत्रमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटमा तेस्रो पक्ष बिमा अनिवार्य गरिएपछि बजार केही बढ्यो,’ पाण्डेले भने, ‘त्यसपछि कृषि बिमा अनिवार्य हुँदा केही बढेको छ। यसको मतलव सरकारले अनिवार्य नगरेसम्म व्यापार नबढ्ने रहेछ भन्ने हो।’
बिमा भोलिका लागि नै हो। तर, विकासोन्मुख देशको अर्थतन्त्रमा रहेका जनताले आजकै आवश्यकता पूरा गर्न सकिरहेका हुँदैनन्। यस्तो अवस्थामा भोलिका लागि भनेर बिमा स्वैच्छाले हुन सक्दैन। त्यसैले आजको अवस्थामा जनताले आफ्नो लगानीमा बिमा नगराउँदा बाध्यात्मक बिमा बजारको विकास भएको उनी बताउँछन्।
‘आजकै आवश्यकता पूरा हुन नसकिरहेका बेला भोलिका लागि कसले सोच्छ? त्यसैले बिमा गराउन कि अनिवार्य हुनुप¥यो वा अनुदानबाट आउनुप¥यो। अन्यथा स्वैच्छाले आजका दिनसम्म बिमा भएको छैन,’ सीईओ पाण्डेले भने।
धेरै पढेलेखेका व्यक्तिले समेत आवश्यक नभएसम्म सम्पत्ति बिमा गर्ने चलन नहुँदा निर्जीवन बिमा व्यवसायको आधाभन्दा बढी हिस्सा सरकारले अनिवार्य गरेको बिमालेख बिक्री गरेरै चलेको उनको बुझाइ छ। ‘बिमा गर्ने कि आजको अनिवार्य आवश्यकतामा आम्दानी खर्चिने! मरेपछि डुमै राजा’ भनेजस्तो आजको आवश्यकता पूरा नभएसम्म भोलिका लागि बिमा हुँदैन। त्यसका लागि समग्र अर्थतन्त्रमै सुधार हुनुपर्छ। मानिसकको क्रयशक्ति बढ्नुपर्छ अनि मात्रै बिमा प्राथमिकतामा पर्न सीईओ पाण्डे बताउँछन्।
जीवन बिमा गरेपछि भोलि परिपक्व हुँदा फिर्ता पनि आउँछ। त्यसैले जीवन बिमालाई मानिसले लगानीको रुपमा लिइरहेका छन्। तर निर्जीवन बिमा क्षति भएपछि मात्रै भर्पाइ हुन्छ। कम्पनीको मूल्यांकनमा परेको जति मात्रै दाबी भुक्तानी हुन्छ। त्यसैले बीमितले निर्जीवन बिमालाई लगानी नभएर खर्चको रुपमा राखेका हुन्छन्। तर, निर्जीवन बिमालाई पनि लगानीको रुपमा हेर्नुपर्ने पाण्डे बताउँछन्। आज गरेको निर्जीवन बिमा भोलि दुर्घटना हुँदा दाबी भुक्तानीमार्फत फिर्ता आउने हुँदा त्यसलाई पनि लगानी नै मान्नुपर्ने उनको तर्क छ।
छोराले पूरा गर्दै ‘बिजनेस म्यान’को सपना
नियामक होस् या बिमक। सहकर्मी सबैले अग्रणीका रुपमा उभ्याउँदा पाण्डे आज पनि कहीँ–कतै आफ्नो उद्यमी हुने सपना छुटेको महसुस गरिरहन्छन्।
तर, उनले बाल्यकालदेखि देखेको सपना छोरा दिपांकरप्रकाश पाण्डेले पूरा गरिरहेका छन्। आफूले देखेको उद्यमी सपना पूरा गर्न नसकेको दुःखभन्दा छोरा दिपांकर उद्यमशीलतातर्फ उन्मुख भइरहेकामा उनी खुसी सुनिन्छन्। छोराको उद्यमशील सपनाका सुरुआती कथा सुनाउँदा पाण्डे उत्साहित हुन्छन्। ‘कहिलेकाहीँ सफल बिमक भनेर चिनिँदा उद्यमी हुने सपना पूरा गर्न सकिनँ कि भन्ने लाग्छ। तर, मेरो बिजनेस गर्ने सपना छोरामा पाएको छु,’ उनले भने।
दिपांकर बेलायतबाट स्नातक सकाएर फर्किएका हुन्। दिपांकरलाई बुबा दीपप्रकाश र ठूलो बुबा ज्योतिप्रकाशले स्नातक पढाइ सकिए पनि उतै स्नातकोत्तर पूरा गरेर मात्रै नेपाल फर्किन सुझाएका थिए। तर, दिपांकरले नेपाल आएर स्टार्टअप बिजनेस सुरु गरिसकेका छन्। नेपालको स्टार्टअप सफल हुन धेरै संघर्ष गर्नुपर्ने हुँदा दिपांकर सफल हुने/नहुनेमा आफू विश्वस्त भइनसकेको पाण्डे बताउँछन्।
बेलायतबाट छुट्टीमा घर आउँदा पाटनढोका परिसरमा बिक्रीमा राखेको पोट्याटो चिप्स (आलु चिप्स) ले आकर्षित गरेपछि दिपांकरले ‘हिमालयन चिप्स’ नामक स्टार्टअप कम्पनी सुरु गरेका छन्। उनले विभिन्न प्रकारका आलु चिप्स परिकार बनाएर बेच्न थालिसकेका छन्। हाल उनको कम्पनीबाट उत्पादित हिमालयन चिप्सले ७ वटा डिपार्टमेन्ट स्टोरमा बिक्री–स्थल पाएको बुबा दीपप्रकाशले बताए। बेलायतमै जागिरे पाण्डेकी छोरी सागारिका डाक्टर हुन्।