काठमाडौं। आईडिया स्टुडियो नेपाल र दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले संयुक्त रूपमा आईडिया स्टुडियो नेपाल सिजन आठको आवेदन खुलाएका छन्। आईडिया स्टुडियो नेपाल सिजन आठ को यस वर्षको नारा ‘अवरोधहरु तोड्दै, भविष्य निर्माण गर्दै’ रहेको छ।
यस वर्ष सिजन आठमा समावेशीतालाई विशेष प्राथमिकता दिदै नेपालका बिभिन्न सीमान्तकृत समुदायका व्यक्तिहरुलाई सशक्त बनाउनका लागि अवसरहरू पहिचान गर्ने र उद्यमशीलताको माध्यमबाट व्यवसायि बनाउने लक्ष्य राखेको छ।आवेदन खुलाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आईडिया स्टुडियो नेपाल र दलित लाइभ्स म्याटर ग्लोबल अलायन्ससंग जोडिएका नेपाल सरकारका प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, आइडिया स्टुडियो नेपालका बिभिन्न सिजनका आइडिएटर, साथै मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले यस सहकार्यको महत्व साथै उद्यमशीलतामा समावेशीताको भूमिकाको बारेमा बताउदै विदेशबाट फर्कने नेपालीहरुसंग भएको ज्ञान र शिप को सदुपयोग नभएको कुरा बताउदै विदेशबाट फर्कने आप्रवासी नेपालीहरुका लागि लागि सूचना, सल्लाह र मार्गदर्शन केन्द्र आइडिया स्टुडियो नेपालमा रहेको कुरा जानकारी गराए।
‘हामीले पहिलो सिजनबाटै लुकेका आईडियालाई चिन्ने र खोजेर ल्याउने गर्यो। त्यसमा सबै समूदायबाट प्रतिनिधित्व नभएको पनि हैन, तर बिभिन्न कारणले उनिहरु व्यवसाय छोड्न वाध्य भएको देखिएको छ। त्यसैले अब चाहिँ त्यस्ता समुदायकालाई पनि प्राथमिकता दिन आवश्यक ठान्यौं। जसको लागि दलित लाईभ्स म्याटरको अनुभव र विज्ञतालाई यसमा जोडेर आईडिया स्टुडियो नेपाललाई थप समावेशी बनाउने योजना बनाएका हौं,’ डा. छिरिङ लामाले भने।
लामाले आईडिया स्टुडियो नेपालको इकोसिस्टममा रहेका संस्थाहरुः डिएलएम, विश्वविद्यालयहरु, वित्तिय संस्था, ०७७ वटै जिल्लामा रहेको आईडिएटरहरु, साथै विभिन्न निजी तथा सरकारी संस्थाहरुको मार्फतबाट हामी पहिले झैं आईडिया स्टुडियो सिजन ऑठ लिएर आएको बताए। यस्तै, विदेशबाट फर्किएकाको लागि आईडिया स्टूडियो नेपाल अन्तर्गत नै रहनेगरी जन्मिएको नयाँ कार्यक्रम आईएजी सेन्टरमा जोडिएर योगदान दिनसकिने लामाले बताए। जसको लागि आईडिया स्टुडियो नेपालको वेबसाईट, आईडिया स्टूडियो नेपालको सामाजिक संजाल साथै संचार माध्यम मार्फत आवेदन दिन सकिने पनि उनले जानकारी दिए। ‘अहिले हाम्रो विश्वविद्यालयसँगको सहकार्यमा रिसर्च भईरहेको छ। यो अध्ययनमा चाहिँ बाहिरबाट आएका आप्रवासी नेपालीहरुहरु कसरी र के सीप बोकेर आएका छन् भनेर हेरिरहेका छौं’ लामाले भने।
साथै, आईडिया स्टुडियो नेपाल अन्तर्गत नै रहेर गण्डकी प्रदेशका तीनवटा कलेजमा विद्यार्थीहरुको उद्यमशीलता प्रबद्र्धन गर्न इनकुँवेसन सेन्टरको स्थापना गरिने भएको पनि लामाले जनाए। प्रभु आईडिया प्लस नाम दिईएको यस कार्यक्रममा प्रभु बैंकको सहकार्य रहेको उनले बताउ। साथै दलित लाइभ्स म्याटर ग्लोबल एलायन्सका संस्थापक अध्यक्ष प्रदिप परियारले आइडिया स्टुडियो नेपाल संगको सहकार्यको बारे बताउदै नेपालमा समावेशीता के हो र यस्को अवस्था को बिषयमा पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राखे।
‘सबै क्षेत्रमा अब्बल नेतृत्व विकास गरौं, दलित र उत्पीडित वर्गले पनि उत्तिकै स्थान पाउनु भनेर हामी निरन्तर क्रियाशील छौं। त्यसैको शिलशिलामा उद्यमशीलताको क्षेत्रमा कसरी जोडिने र काम गर्ने भनेर सोचिरहेका थियौँ। जसको लागि आईडिया स्टुडियो नेपालेले निरन्तर गरिरहेको कर्म हेर्दा यससँग जोडिएर काम गर्न सहज हुने ठान्यौँ,’ परियारले भने, ‘अब मेरो १५०० युवा उद्यमी तयार गर्ने सोचले सार्थकता पाउला भन्नेमा आशावादी छु। यसैगरी लागिरहे आउने ५० वर्षमा समावेशीकरणको कुराहरु गरिरहनु नपरोस् भन्ने अपेक्षा छ।’
आईडिया स्टुडियो नेपालको इकोसिस्टममा विभिन्न वित्तीय, शैक्षिक र सरकारी संस्थाहरु समावेश छन्। यसै सन्दर्भमा डब्लुडब्लुएफ नेपालमा नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङ, सि. एन.आई.वाई.ई.एफका स्टार्टअप चेयर साइनी खेतान र फाइनान्स चेयर पुनित अग्रवालले आईडिया स्टुडियो नेपालसँगको सहकार्यबारे जानकारी दिए। डा. गुरुङले समाजका हरेक संस्था र क्षेत्रमा विविधता भएमात्र उद्यमशीलताको क्षेत्रमा विविधता देखिने भएकोले आईडिया स्टुडियो नेपालको आठौं सिजनको पहल सकारात्मक रहेको जनाए। आजसम्म ग्रीनोभेसनमा प्राथमिकता दिएकोले यहाँका आईडिएटरले यो मुद्धा छोडेका छैनन्, त्यस्तै अब विविध समूदायका प्रतिनिधि यहाँ हुँदा आईडिया स्टुडियो नेपाल अझै नयाँ र बलियाँ भएर अघि बढ्ने विश्वास व्यक्त गरे।
स्टार्टअप चेयर साइनी खेतानले भने सिएनआई. वाईईएफसँग विभिन्न क्षेत्रमा काम गरेका उद्यमी भएकाले त्यहाँको अनुभव र विज्ञतालाई आईडिया स्टुडियो नेपालसँगको सहकार्यमा प्रयोग हुने प्रतिबद्धता जनाईन्। त्यस्तै, फाइनान्स चेयर पुनित अग्रवालले पनि आईडिया स्टुडियाका आईडिएटरलाई ईन्भेस्टमेन्ट देखि मेन्टरसीप प्रदान गर्नेसम्मका कुरामा आफूहरु साथ रहेने बताए। आइडिया स्टुडियो सिजन १ का आइडिएटर अनिल बस्नेतले कार्यक्रममा फाउन्डर्स क्लबबारे जानकारी दिए। यस्तै, सिजन ७ का आइडिएटर मोटर सेवा (घरमै कार मर्मत सेवा) का सह–संस्थापक सुदर्शन शिवाकोटी र सिजन ३ की आइडिएटर तथा नेपाल मेडकी संस्थापक सुप्रिया शाक्यले आइडिया स्टुडियोसँगको आफ्नो अनुभवहरू पत्रकार सम्मेलनमा गरिन्।
‘हामीसँग भएको फाउन्डर्स क्लबमा आईडिया स्टूडियो नेपाल सिजन एक देखि सातसम्मकै गरी १३१ वटा सफल व्यवसायि जोडिनुभएको छ । उहाँहरुसँग सहकार्य गर्दै विभिन्न खाले सहयोग प्रदान गर्ने कुरामा म प्रत्यक्ष जोडिएर काम गर्न सकिरहेको पनि आईडिया स्टुडियोसँगको सहयात्राकै उपज हो,’ बस्नेतले भने, ‘आईडिया स्टुडियोकै अर्को प्रोडक्ट आईमार्ट ( अनलाइन लोकल मार्केट प्लेस) पनि संचालन गरिरहेको छु। यसरी यहाँका ऑईडिएटरलाई अन्तराष्ट्रिय संघसंस्थाबाट पनि इन्भेस्टमेन्ट आएको छ। जसले हामीजस्ता आईडिएर र व्यवसायिलाई धेरै लाभ पुर्याउने छ।’
यस्तै, मोटरसेवाका संस्थापक सुदर्शन सिवाकोटीले आईडिया स्टुडियो सिजन सेभेनमा जोडिएपछि धेरै लाभ लिन सकेको बताए। मोटर सेवा नामक व्यवसाय संचालन गरिरहेका उनले भने, ‘सुरुमा यहाँ आउँदा हामी एउटा आईडियामात्र थियौं। तर, अहिले प्रत्यक्ष रुपमा १० जनालाई र २० जनालाई अप्रत्यक्ष रोजगार दिएका छौं। यो सबै आईडिया स्टुडियो नेपालकै इन्कुवेशन र मेन्टरसीपको प्रभाव हो।’ नेपालकी संस्थापक शाक्यले पनि आईडिया स्टुडियो नेपालमा आएर आफ्नो व्यवसायिक योजना बजारसम्म पुर्याउन धेरै सहयोग पुगेको अनुभव सुनाइन्। नेपाली बजारको लागि नौलो आईडिया भ्यालिडेट र बजारीकरणमा सहयोग गरेकोमा आइडिया स्टुडियो नेपाललाई धन्यवाद पनि दिइन्।
‘विशेषगरी महिलालाई व्यवसाय संचालन गर्न चार कुरा ः टाईम, मनी, इनर्जी, पारिवारिक सहयोग आवश्यक हुन्छ। यि सँगै आईडिया स्टुडियो नेपाल जस्तो संघसंस्था पनि जरुरी हुन्छ। जुन मैले प्राप्त गरेर आज यो स्थानमा पुग्न सफल भएको छु,’ उनले भनिन्। कार्यक्रमको अन्त्यमा आइडिया स्टुडियो नेपालका निर्देशक तथा मित्र समाजका कार्यकारी निर्देशक विवेक सिंह ठकुरी समापन मन्तव्य राख्दै आईडिया स्टुडियो नेपाल सीजन आठ को आवेदन खुलेको कुरा जानकारी गराए।
कार्यक्रम समापन गर्दै ठकुरीले भने, ‘अहिले नेपालजस्तो मुलुकमा उद्यमशीलतालाई सहयोग गर्ने यस्तो संस्था अत्यावश्यक छ। जुन दिन सबै राम्रो हुन्छ, त्यो दिन आईडिया स्टुडियो नेपाल जस्ता संस्थाको आवश्यकता नै पर्दैन। त्यो दिन छिटै आवोस्। तर, त्यौ दिन आउन हामी सबैको सहकार्य र मेहनत आवश्यक छ। जुन कुराको निरन्तरता आठौँ सिजनको पनि हुने विश्वास दिलाउँछु। कार्यक्रमलाई यसपटक थप समावेशी बनाउन पनि हामी गृहकार्यमा छौं।’