ठूलो जंगलको बीचमा घाँसेमैदान। आँखै अगाडि पुथा, गुर्जा, मानापाथी, धवलागिरिलगायत दर्जन बढी हिमशृंखलाको दृश्यावलोकनले जोकोही मोहित हुन्छन्। जलजला विभिन्न जंगली फूलहरुले भरिएको मैदान पनि हो। यो ठाउँ गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला क्षेत्र हो।
पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय आन्तरिक/बाह्य पर्यटकको रोजाइमा परेको छ। द्वन्द्वकालको प्रख्यात गुरिल्ला पदमार्गमा पर्ने जलजला म्याग्दीमा पर्छ। गुरिल्ला पदमार्ग म्याग्दीबाट सुरु भएर जलजला हुँदै बाग्लुङको ढोरपाटन, रुकुमको भूभाग छिचोल्दै रोल्पामा गएर टुंगिन्छ। जलजला समुद्री सतहबाट तीन हजार चार सय २० मिटर उचाइमा छ।
जलजलाबाट बिहानै सूर्योदयको मजा लिँदै आँखै अगाडि सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृश्यावलोकन गर्न सकिन्छ। जलजलाम बर्खामा गोठ राख्न म्याग्दी, बागलुङबाट गोठाला चराउन आउने गर्दछन्। अरु समय म्याग्दी धवलागिरि लुलाङका फूलमान विकले आफ्नो गोठ राख्ने गर्छन्। लामो समयदेखि ट्रेकिङ गाइड गरिसकेका फूलमान गाइडको पेसा छाडेर आफ्नो ठाउँमा पर्यटकलाई सुविधा दिन गोठमा बस्दै आएका छन्। जलजलामा अहिले उनको मात्र एउटा गोठ सञ्चालन छ।
आगन्तुक पर्यटकलाई पानी, चियाले स्वागत गर्छन्, फूलमान। लुलाङका विकले ६ वर्षदेखि जलजलामा पाहुनालाई खाना खुवाउने र बसोबास व्यवस्था मिलाउँदै आएका छन्। जलजलासम्म पुग्न ढोरपाटनको पाखाथरबाट कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घन्टाको यात्रा गर्नुपर्छ। पैदलयात्रा गर्न ढोरपाटनबाट गुर्जाघाट हुदै तल्लो जलजला सम्म ५ देखि ६ घन्टा लाग्छ। बेनीबाट धवलागिरि गाउँपालिकाको मुना हुँदै खोरियासम्म गाडीमा जान सकिन्छ। त्यहाँदेखि ५ घन्टा उकालो यात्रा गरेपछि जलजला पुग्न सकिन्छ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी