काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमले अध्यक्षको उम्मेदवारका लागि कमल तामाङलाई गरेको निर्णय कार्यान्वयन नगराउन नेपाली काँग्रेसले निर्देशन दिएको छ ।
काँग्रेसले शुक्रबार फोरमका अध्यक्ष हंशराज वाग्लेलाई पत्र पठाउँदै फोरमका पदाधिकारीहरुले निर्णय वैधानिक, सान्दर्भिक तथा औचित्यपूर्ण नभएको भन्दै पार्टीमा निवेदन दिएकाले पार्टीको केन्द्रिय प्रतिनिधिको सल्लाह र परामर्शमा निर्णय गर्ने गरि हाल उक्त निर्णय कार्यान्वय नगर्ने निर्देशन दिएको हो ।
नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको पत्रमा फोरमको निर्णयमा अध्यक्ष बाहेक सबै पदाधिकारी र केन्द्रिय प्रतिनिधीको अनुपस्थितीमा निर्णय भएको भन्दै पार्टीमा निर्णय भएको जनाइएको छ ।
फोरमका अध्यक्ष हंशराज वाग्लेले फोरमको निर्णय विधानसम्मत भएको बताएका छन् । बहुमत सदस्यले निर्णय गरेको प्रस्तावलाई केहि असन्तुष्ट व्यक्ती पार्टीभित्रको पहुँचलाई दुरुपयोग गरेको बताए । आफु अनुकुल निर्णय नभएपछि केहि साथीहरु पार्टीमा निवेदन हाल्न पुगेको बताउँदै वाग्लेले पार्टी कार्यालयमा सभापतीकै अगाडी बसेर निर्णय गर्ने आफु तयार रहेको बताए । पार्टीको निर्देशन मान्ने बताउँदै वाग्लेले अर्काे निर्णयमा पनि अध्यक्षको उम्मेदवार तामाङ नै हुने बताए ।
फोरमका विमल ढकाल, प्रज्ञान न्यौपाने, सिता देवकोटा र सुजित श्रेष्ठले कमल तामाङ विरुद्ध पार्टीमा निवेदन हालेको फोरमका एक सदस्यले जानकारी दिए । अध्यक्षका उम्मेदवार कमल तामाङले बैदेशिक रोजगारीका क्षेत्रमा अहिले देखिएको समस्या समाधान गर्ने गरि आफु मैदानमा उत्रेपछि केहि साथीहरु कम्युनिष्टसँग मिल्नका लागि विवाद सिर्जना गर्न खोजेका बताए । ‘आफु अनुकुल निर्णय नभएपछि देखिएको कुण्ठामात्र हो यसले व्यवसायीहरुको हित हुँदैन,’ उनले भने ।
संघको निर्वाचन असार २७ गते तोकिएपनि म्यानपावर कम्पनीले सदस्यता नविकरण नगरेको र भदौ १८ गतेभित्र थप धरौटी राख्नुपर्ने भएकाले निर्वाचन असोजमा हुने गरि निर्वाचन सार्नका लागि जिल्ला प्रशासन कार्यालयमा असार १८ गते निवेदन दर्ता भएको छ ।