काठमाडौं । भुटानको सरकारले १० कराेड अमेरिकी डलर (करिब १३ अर्ब ५० कराेड रुपैयाँबराबर) को बिटक्वाइन बेचेको छ । भुटानको सरकारी कम्पनी ड्रुक होल्डिङ एन्ड इन्भेष्टमेन्टले हालै दुईपटक गरेर यति मूल्यका बिटक्वाइन विक्री गरेको ब्लकचेन एनालिटिक्स फर्म अर्खाम इन्टेलिजेन्सलाई उद्धृत गर्दै याहु फाइनान्सले उल्लेख गरेको छ ।
भुटानको शाही सरकारले प्रमुख क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘बिनान्स’ मार्फत् प्रतिबिटक्वाइन ९० हजार डलरका दरले बिहीबार बिहान ३६७ वटा बिटक्वाइन बिक्री गरेको र त्यसबापत ३ करोड ३५ लाख डलर बराबरको बेचेको हो ।
अर्खाम इन्टेलिजेन्सका अनुसार सो दिन बिटक्वाइनको मूल्य ९० हजार डलरभन्दा माथिको इन्ट्राडे उच्च विन्दुमा पुगेर ८७ हजार डलरमा फर्कनुअघि उक्त कारोबार भएको हो ।
पछिल्ला केही हप्ताहरूमा भुटानले बिक्री गरेको यो दोस्रो उच्च मूल्य हो । त्यसअघि गत साता उसले ६ करोड ६० लाख डलर (८ अर्ब ९१ करोड रुपैयाँ) को बिटक्वाइन ७० हजार डलरका दरले बिक्री गरेको थियो ।
भुटानसँग अझै १ अर्ब १० करोड डलर अर्थात् १ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको १२ हजार २ सय ६ वटा बिटक्वाइनहरू छन् ।
भुटानसँग प्रचुर मात्रामा जलविद्युत रहेकाले उसले त्यसलाई बिटक्वाइन माइनिङमा लगाएको सञ्चारमाध्यहरूले जनाएका छन् ।
संयुक्त राज्य अमेरिका, चीन, बेलायत र युक्रेनपछि भुटान धेरै बिटक्वाइन भएका देशहरूमा विश्वकै पाँचौं स्थानमा पर्छ । अन्य राष्ट्रहरूले पनि हालको बुल बजारबाट फाइदा लिइरहेका छन् ।
एल साल्भाडोर बिटक्वाइनलाई टेन्डरको रूपमा स्वीकृत गर्ने पहिलो देशहरू मध्ये एक हो । यसले बिटक्वाइनको वृद्धिलाई आफ्नो राष्ट्रिय ऋणको बोझ हटाउने र योजनाबद्ध बिटक्वाइन सिटी जस्ता महत्वाकांक्षी परियोजनाहरूमा लगानी गर्ने अवसरको रूपमा प्रयोग गरिरहेको छ।