काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले झापाको धुलाबारीमा बनाइरहेको पाँचतारे होटल ‘इस्ट्रन’ बिक्री गरेका छन्।
सञ्चालन तयारीमै रहेको अवस्थामा उर्जामन्त्री खड्काले गैरआवासीय नेपाल संघ(एनआरएनए)का पूर्वअध्यक्ष भवन भट्टलाई १ अर्ब ३० करोड रुपैयाँमा होटल बेचेको बताएका हुन्।
‘डेढ महिना अघि होटलको बैना भएको हो,’ उर्जामन्त्री खड्काले क्यापिटल नेपालसँग भने, ‘बाँकी पैसा आएपछि पास हुन्छ।’ पछिल्लो समय मुलुकमा उत्पन्न आर्थिक संकटले बैंकको ब्याज बढ्दै गएपछि अकल्पनीय दूर्घटनाबाट जोगिन बिक्री गरेर सुरक्षित स्थान बनाएको उर्जामन्त्री खड्काको भनाइ छ।
खड्काले तीन महिना अघि (भदौं)मा बुढानिलकण्ठमा पाँचतारे होलिडे इन रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। खड्काले बुढानिलकण्ठ र झापाको होटल एकसाथ सञ्चालन गर्ने योजना बनाएका थिए। मुलुकको विग्रँदो आर्थिक कारण होटल बेच्ने धिनो गरेका थिए।
१८ रोपनी क्षेत्रफलमा फैलिएको होटल इस्ट्रनमा स्विट र डिलक्स गरी ८७ कोठाहरु निर्माण भइरहेका छन्। होटलमा फुड एन्ड बेभरेज सेवाका साथै, क्यासिनो, स्विमिङ पुल, बैंकेट हल, रेष्टुराँ, कन्फेरेन्स हल र स्पालगायत अन्य धेरै सुविधा रहने जनाएको छ।
होटलले १ अर्ब ७ करोड रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ। केयर रेटिङस् नेपालले २०७९ मा होटलको ऋणलाई केयर एनपी ए फोर रेटिङ दिएको छ।
झापाको चन्द्रगढी विमानस्थलबाट ३ किलोमिटर दूरीमा छ। भारत नजिक भएका कारणले पश्चिम बंगालबाट बढी आउने अपेक्षा गरिएको छ। होटल र पश्चिम बंगाल राज्यको सीमाना ६ किलोमिटर मात्रै छ। होटल भारतीय पर्यटकमा निर्भर रहनेछ।
को हुन् भट्ट
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भट्ट जापानसहित नेपालमा लगानी विस्तार गर्दै आएका व्यक्ति हुन्। उनले केही समय अघि मात्र धुलिखेलमा रहेको धुलिखेल माउन्टेन रिसोर्ट बिक्री गरेका थिए। यस्तै उनको बिबि एयरवेज सञ्चालनको तयारीमा छ। लामो समयदेखि स्थापना भएको बिबिले अन्तर्राष्ट्रिय उडानका लागि तयारी थालिरहेको छ। २०२४ भित्रै उडान गर्ने घोषणा गरेको बिबिले अहिलेसम्म जहाज ल्याउन सकेको छैन।