काठमाडौं। दसैं तिहार अघि देखि नै सुस्ताएको सेयर बजार गत साता सकारात्मक रह्यो। दैनिक कारोबार तीन अर्ब हाराहारीमा खुम्चिएको अवस्थाबाट गत साता भने एकै दिन ११ अर्बसम्मको कारोबार भयो।
समग्रमा गत साताको पाँच कारोबार दिनमा सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई दिन घटेर तीन दिन बढ्दा ७३.२७ अंकले वृद्धि हुँदै २७४८.७८ बिन्दुमा पुगेको छ।
अघिल्लो साताको दुई कारोबार दिनमा भने नेप्से दुई दिन नै घटेर २.११ अंकको गिरावटका साथ २६७५.५१ बिन्दुमा रोकिएको थियो। गत साता दैनिक कारोबारमा केही उत्साह कायम हुँदै साताको पाँच कारोबार दिनमा ४६ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो साताको दुई कारोबार दिनमा भने ९ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
पछिल्लो पटकको सेयर वृद्धिलाई लगानीकर्ताहरुले स्थायी किसिमको वृद्धि भनिरहेका छन्। बजार जति तिब्र गतिमा अगाडि बढेको हुन्छ, यदि केही कारण देखिएमा घट्न पनि सोही गतिमा घट्छ। तर, विस्तारै सामान्य घटबढ हुँदै बढेको बजार भने बढी टिकाउ र स्थायी किसिमको हुने विश्लेषण लगानीकर्ताको छ। लामो समय नेप्से माथिल्लो बिन्दुमा टिक्नका लागि सूचक र कारोबार विस्तारै उकालो लाग्नुलाई उचित मानिन्छ।
सूचक सकारात्मक अवस्थामा रहेकै समयमा सेयर बजारका लागि सँधै महत्वका साथ हेरिने मौद्रिक नीतिको समिक्षाको तयारीमा पनि नेपाल राष्ट्र बैंक जुटिरहेको छ। चालू आर्थिक वर्षको पहिलो मौद्रिक नीति समिक्षाको तयारीमा जुटिरहेको केन्द्रीय बैंकसँग यसपटक भने पहिलेका जस्ता धेरै अपेक्षाहरु भने लगानीकर्तासँग छैनन्। बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगततर्फ प्रदान गर्ने ऋणको हालको १५ करोडको सीमा बढाउने र भारित औसत मार्जिनलाई १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिने विषय मात्रै समिक्षासँग जोडिएका छन्।
यद्यपि, कर्जा प्रवाह हुन नसकेको र बैंकमा ठूलो रकम थुप्रिएर बसेका कारण समग्र अर्थतन्त्र चलयमान बनाउनेगरी मौद्रिक नीति समिक्षा ल्याउनुपर्ने बाध्यतामा राष्ट्र बैंक छ।
अर्थतन्त्रका अन्य क्षेत्र चलयमान हुनेगरी मौद्रिक नीति आएमा पनि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा पनि पर्ने सेयर लगानीकर्ता छोटेलाल रौनियार बताउँछन्।
‘ब्याजदर निरन्तर घटिरहेको छ। निक्षपको ब्याजदर पनि न्यून बिन्दु नजिक आइसकेको छ। तर, अर्थतन्त्र चलयमान हुन सकेको छैन भने कर्जा प्रवाह कमजोर स्थितिमा छ,’ रौनियार भन्छन्, ‘यस्तो अवस्थामा अर्थतन्त्र चलयमान बनाउने ढंगमा मौद्रिक नीति समिक्षा आउने अपेक्षा छ। यदि, यसो भएमा त्यसको सकारात्मक प्रभाव पनि सेयर बजारमा पर्नेछ।’
रौनियारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई पनि मौद्रिक नीति समिक्षामा नै कतिपय कुराहरु समेट्नुपर्ने आवश्यकता औंल्याएर लगानीकर्ताको तर्फबाट सुझाव दिइसकेको बताए।
विगतको तुलनामा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समिक्षामा लगानीकर्ताका माग र अपेक्षा कम देखिन्छन्। यसर्थ, मौद्रिक नीति समिक्षा आएपनि यसले बजारमा ठूलो प्रभाव पार्ने जस्तो भने देखिँदैन।
तथापि, बैंकहरुमा ठूलो रकम थुप्रिएर बसेको र समग्र अर्थतन्त्र चलयमान नभएको स्थितिमा समिक्षाले समग्र अर्थतन्त्र चलयमान बनाउन भने केही नीति ल्याउनुपर्ने आवाजहरु उठ्दै आएको छ। समग्र अर्थतन्त्र चलयमान बनाउने नीति आएमा त्यसको सकारात्मक प्रभाव बजारमा पनि पर्नेछ।
हुनतः समग्र बजार माहोल सकारात्मक नै छ। ब्याजदर निरन्तर घटेर न्यून बिन्दुमा पुगेको छ। मंसिरका लागि मात्रै अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। २० वाणिज्य बैंकमध्ये एक बैंकले ब्याजदर बढाउँदा दर्जन बैंकले पनि घटाए। सात वाणिज्य बैंकले पनि कात्तिकको ब्याजदरलाई नै यथावत् राखेका छन्। कात्तिकको तुलनामा बैंकहरुले औसत ०.२२ प्रतिशतले घटाएपछि निक्षपको ब्याजदर ५.९७ प्रतिशत कायम भएको छ।
कपितय लगानीकर्ताले मंसिर र पुस महिनालाई बजार बढ्ने समयका रुपमा व्याख्या गर्दै गर्दा सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई सुझाव दिने कार्यमा सेयर लगानीकर्ता, ब्रोकरहरु उत्साहित देखिएका छन्।
सेयर लगानीकर्ता तथा ब्रोकरहरुले तत्कालीन तथा दीर्घकालीन बजार सुधारका २० बुँदे सुझाव संयुक्तरुपमा आयोगलाई बुझाएका छन्। यदि, सरकारले यी सुझावलाई मनन गरेर तत्कालै कार्यान्वयनमा लागेको खण्डमा भने लगानीकर्ताको मनोबल उच्च हुनेछ जसको प्रभाव बजारमा देखिन धेरै समय लाग्दैन।
हाल सूचीकृत कम्पनीहरुले आफ्ना लगानीकर्ताका लागि बोनस सेयर र लाभांश घोषणा गरिरहेका छन्। यसले पनि बजारको चलयमान अवस्था जारी राख्न मद्दत गर्ने देखिन्छ। समग्र विषय हेर्दै गर्दा सेयर लगानीकर्ताले भने सूचक र कारोबार रकम भन्दा पनि आफ्नो पोर्टफोलियोमा बढी ध्यान दिनुपर्ने हुन्छ। आर्थिक सूचक, वित्तीय विवरण, समग्र गतिविधिलाई ध्यानमा राख्दै गर्दा आफ्नै अध्ययन र स्वनिर्णयमा लगानीकर्ताले बढी जोड दिएर अगाडि बढ्दा राम्रो हुनेछ।