काठमाडौं। रोयल इन्फिल्ड नेपाली बजारमा पहिल्यैदेखि स्थापित ब्रान्ड हो। मोटरसाइकल पारखीको रोजाइमा पर्ने मुख्य बाइकमध्येमा रोयल इन्फिल्ड पनि पर्छ। रोयल इन्फिल्डप्रति ग्राहकमा बेग्लै आकर्षण भएकाले यसको लोकप्रियता अहिले पनि उत्तिकै छ। तर, रोयल इन्फिल्डकै मूल्य हाराहारीमै नेपाल भित्रिएको ट्रायम्फ मोटरसाइकले पनि पछिल्लो समय राम्रो प्रतिक्रिया पाइरहेको छ।
छोटो समयमैै बजारमा राम्रो प्रभाव पारेको र धेरैको रोजाइमा पर्दै गएका कारण ट्रायम्फलाई रोयल इन्फिल्डको प्रतिस्पर्धीको रुपमा हेर्न थालिएको छ। नेपाली बजारमा एउटा ब्रान्ड पहिल्यैदेखि स्थापित भएको र एउटा तीन महिना अगाडि मात्रै भित्रिएका कारण बिक्री र बजारीकरणका हिसाबमा दुईबीच तुलना गर्दा उचित नहोला। तर, यी दुई ब्रान्डबीच समान मूल्य रहेका कारण दुई बाइकका विशेषताबारे चर्चा गर्न सक्छौंं।
नेपालमा प्रिमियम एड्भेन्चर सेग्मेन्टका मोटरसाइकलको आयात तथा बिक्री बढ्दै गएको छ। केही वर्ष अघिसम्म सस्तो मूल्यका एड्भेन्चर मोटरसाइकल मात्रै फाट्टफुट्ट बिक्री हुने नेपाली बजारमा अब भने ठूला र प्रिमियम एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा पनि प्रतिस्पर्धा बढ्दै गएको छ।
हाल नेपालमा उपलब्ध प्रिमियम सेग्मेन्टका रोयल इन्फिल्ड र ट्रायम्फमा युवा जमातको राम्रो रुचि देखिन्छ। रोयल इन्फिल्ड नेपालमा पहिले देखि नै बिक्री हुँदै आएको ब्रान्ड हो भने ट्रायम्फ करिब तीन महिनाअघि अर्थात् नाडा अटो शो २०२४ मा भित्रिएको हो।
नेपालमा रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ हो भने ट्रायम्फ बाइकको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनी हो। नेपालमा ट्रायम्फा दुई मोडल उपलब्ध छन्। यसमा स्पिड ४०० को मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ र स्क्राम्बलर ४०० को ६ लाख ८९ हजार ९०० रुपैयाँ पर्छ। रोयल इन्फिल्ड स्क्राम ४११ को मूल्य ६ लाख ६० हजार रुपैयाँ रहेको छ।
इन्जिन पावर र पर्फर्मेन्स
ट्रायम्फ ४०० सिरिजमा ३९८ सीसी क्षमताको लिक्विड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ। यो इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ। दुवै मोटरसाइकलमा ६ स्पिड गियरबक्स जडान गरिएको छ। यसको टप स्पिड १६७ किलोमिटर प्रतिघन्टा रहेको छ।
रोयल इन्फिल्ड स्क्राममा ४११ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन दिइएको छ। यो इन्जिनले २४.३ बीएचपी पावर र ३२ एनएमको टर्क जेनेरेट गर्छ। रोयल इन्फिल्ड ४११ मा ५ स्पीड गियरबक्स जडान गरिएको छ। यसको टप स्पिड १३० किलोमिटर प्रतिघन्टा रहेको छ।
माइलेज
ट्रायम्फ बाइकको फ्युल ट्यांक १३ लिटरको रहेको छ। यो बाइकले २३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ।रोयल इन्फिल्ड स्क्राम ४११ को फ्युल ट्यांक १५ लिटरको रहेको छ। यो बाइकले ३५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको भनाइ छ।
फिचर
ट्रायम्फमा ४३ मिलिमिटरको अपसाइड–डाउन फोक्र्स, प्रिलोड एड्जस्टेबल रियर मोनोशक र १७ इन्चको आल्मुनियम ह्विल छ। साथै, ग्राहकले राइड–बाइ–वायर थ्रोटल, स्विचेबल ट्रयाक्सन कन्ट्रोल, एबीएस, एलइडी लाइटिङ र थप सुरक्षाका लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्नेछन्। बाइकमा ट्रयाक्सन कन्ट्रोल, स्लिपर क्लच, राइड वाई वायरजस्ता अत्याधुनिक फिचर छन्।
त्यसैगरी ड्युल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट, एलइडी लाइट्स, हिटेड ग्रीप, गोल्ड यूएसडी फर्क र अलोय ह्वीललगायत फिचर यी दुई मोटरसाइकलमा छन्। यी दुई मोडलमा समान फिचर रहेका छन्।
रोयल इन्फिल्ड स्क्राम ४११ मा सस्पेन्सनका लागि फ्रन्टमा ४१ एमएम टेलिस्कोपिक फोर्क र मोनोसक फोर्क दिइएको छ। बाइकको मुख्य इन्स्ट्रयुमेन्ट पोडमा फ्युल गेज, टाइम, ट्रिपमिटर, ओडोमिटर आदिका लागि डिजिटल रिड आउटको साथ एनालग स्पिडोमिटर छ। ट्विन पोड एनालग–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ र यसमा पोड ट्रिपर नेभिगेसन सिस्टम छ।
गोलाकार पोडमा एलसीडी स्क्रिन छ, जसले फ्युल स्तर, ट्रिप मिटर र ओडोमिटर तथा समय देखाउँछ। दुवैतर्फ डिस्क ब्रेक र साथमा रहेको एबीएस फिचरले यसलाई सुरक्षित बनाएको छ।