काठमाडौं। चिनियाँ इलेक्ट्रिक सवारीसाधन निर्माता नेटा अटोले पछिल्ला दिनमा गम्भीर आर्थिक समस्या सामना गरिरहेको छ। कम्पनीले झेजियाङ प्रान्तको मुख्य उत्पादन केन्द्र टोंग्सियाङ कारखाना बन्द गर्नुका साथै कर्मचारीको तलबसमेत कटौती गरेको हो।
२०२४ मा नेटाले प्रिमियम मोडल जस्तै, नेटा एस र जीटी सार्वजनिक गरे पनि यी मोडलले बजारमा उल्लेखनीय प्रभाव पार्न सकेनन्। २०२४ अक्टोबरमा कम्पनीले मात्र ४,५०० युनिट गाडी बिक्री गरेको थियो, जुन सेप्टेम्बरको तुलनामा ४० प्रतिशत कम हो। यो भनेको कम्पनीले वार्षिक २००,००० युनिट बिक्रीको लक्ष्य पूरा गर्न असफल रहने संकेत हो।
कर्मचारीको तलब समयमा नदिने, आपूर्तिकर्तालाई भुक्तानी गर्न नसक्ने र उत्पादनमा लगातारको ढिलाइले कम्पनीको आन्तरिक संकटलाई थप उजागर गरेको छ। नेटा अटोको मातृ कम्पनी होजोन अटोले तीन वर्षदेखि निरन्तर घाटा बेहोर्दै आएको छ।
नेटा अहिले दक्षिणपूर्व एसिया र ल्याटिन अमेरिकाका बजारमा विस्तार गर्ने प्रयास गरिरहेको छ। तर, कमजोर आर्थिक अवस्थाका कारण यो अभियान प्रभावकारी हुनेमा गम्भीर शंका गरिएको छ।
नेटा अटोको यो अवस्था चीनको इलेक्ट्रिक वाहन उद्योगमा देखापरेका चुनौतीको प्रतीक हो, जहाँ प्रगतिका लागि विशाल लगानी र व्यवस्थापन आवश्यक छ। नेटालाई नेपाली बजारमा चौधरी ग्रुपको सीजी मोर्टर्सले भित्र्याएको थियो। २ वर्ष बीचमा ३ सय हाराहारीमा नेपालमा बिक्री भएका यी कारको अब बिक्रीपछिको सेवा कस्तो हुने र आयात हुने/नहुने विषयमा अन्योल सिर्जना गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा कारखाना बन्दको प्रभाव बिक्रीमा परेको देखिएको छ। ४० प्रतिशतले निर्यात कम हुँदै गएपछि नेपालमा आउने/नआउने अनिश्चितता बढेको हो।