केही दिनको लामो बिदा भयो कि पदयात्रामा निस्किइहाल्ने हाम्रो टिमको बानी थियो। विश्व हेर्न नपाए पनि आफ्नो देश त घुम्नैपर्छ भन्ने सोच सानैदेखि थियो। हुन त, विश्वका एक दर्जन बढी देश भ्रमण गरेको छु तर, सहरी क्षेत्रमा मात्रै। आफ्नै देशको मनाङ, मुस्ताङ घुमेपछि भने मलाई कम्तीमा वर्षको एकपटक आफ्नै देशको नयाँ ठाउँ घुम्ने हुटहुटी लाग्थ्यो। त्यसैले लामो बिदा या चार्डपर्व समय कतै घुमांै भन्ने योजना मनमनै बनाउँदै थिएँ। तिहारको टीका सकिएसँगै घरमा एक्लै बसिरहको थिएँ। विवेक भान्जाको फोन आयो–मामा लाङटाङ पदयात्रामा जाने? मैले नजाने, केही तयारी छैन भने। भान्जाले केही तयारी चाहिँदैन, जुत्ता, लुगा भए भइहाल्छ भने। मैले जुत्ता छैन भनेपछि अहिले पदयात्रा लक्षित गोल्डस्टार कम्पनीले नयाँ जुत्ता बजारमा ल्याएको छ, सस्तो पनि छ। त्यो भए हुन्छ भनें।
राती अबेर भइसकेको थियो। गोल्डस्टारको सोरुममा फोन गरियो, खुला रहेछ। त्यसपछि २३०० रुपैयाँमा जुत्ता किनेर इसेवामार्फत रसुवाको स्याफ्रुबेंसीसम्मको बस टिकट काटेर कात्तिक १९ गते बिहान लाङटाङ पदयात्रामा जाने कुरा भयो। घरमा कसैलाई भनेको थिइनँ। घरबाट सजिलै अनुमति पाएपछि अरु के नै चाहियो र!
विश्व पर्यटन बजारमा लाङटाङ क्षेत्रले बेग्लै पहिचान बनाएको छ। नेपालको पदयात्रा मार्गमा यो तेस्रो पदयात्रा गन्तव्यका रूपमा चिनिएको छ। रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ मा स्थापना गरिएको हो। १,७१० वर्ग किमि क्षेत्रमा फैलिएको छ भने ४१० वर्गकिलोमिटर मध्यवर्ती क्षेत्रमा समेटिएको छ। ४६ प्रजातिका स्तनधारी, ३१५ प्रजातिका चरा, ११ प्रजातिका घस्रिने जनावर, ३० प्रजातिका माछा, १० प्रजातिका माकुरा र ५८ प्रजातिका पुतलीलगायत हजारभन्दा बढी प्रजातिका वनस्पति पाइन्छन्।
विश्वमै दुर्लभ रेडपान्डा, हिमचितुवा, बँदेल, हिमालयन कालो भालु, घोरल, लंगुर, आसामी बाँदर, सेता बाँदर, झारल, घोरल, कस्तुरी मृगलगायत वन्यजन्तु पाइन्छन्। त्यसकारण पनि ती सबैको अवलोकन वन्यजन्तु र वातावरणबारे जानकारी पाउन सकिने हुँदा मन प्रफुल्लित थियो। हुन त, पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो। आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्नु पनि भएकाले असहजताको बीचमा पदयात्रा जान तयार भएँ।
बिजुली बत्ती छैन, सोलारको धिपीधिपी उज्यालोमा बस्नुपरेको छ। स्याफ्रुबाट यत्ति नजिक पनि सञ्चार सुविधा, टेलिफोन सेवा छैन। टावरै देखाउँदैन, डाटा चल्दैन। मोबाइल चार्ज गर्न कठिन छ। लाङटाङ पुग्नुअघि बेस्सरी थाकें, हिँड्नै गाह्रो हुन थाल्यो। पदयात्रा छाडेर फर्कौं कि जस्तो पनि लाग्यो। मलाई चिसोले समातेको रहेछ। बाटामा भेटिएका यात्रीले टोपी लाउन, लुगा थप्न सल्लाह दिए। मैले चिसिएको जिउमा लुगा थपें, ज्याकेट लाएँ। त्यसपछि अलि आराम महसुस भयो।
आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्न विवेक भान्जासहित हामी ४ जनाको टोलीको गाडी धादिङको गल्छी भएर अगाडि बढ्यो। यात्राको क्रममा बाटो कतै ढलान, कतै कच्ची, कतै पक्की। तन मन सिरिंग हुने बाटो। काठमाडौंबाट हिँडेको करिब ६ घन्टामा धुन्चे (१९६० मि) पुग्यौं। धुन्चेबाट करिब सवा घन्टामा हामी स्याफ्रुबेंसी (१५०३ मि) पुग्यौं। पानी परिरहेकोले प्लास्टिकको छाता ओढेर स्याफ्रुबेंसीमा डुनट र चिया खाएर हिँड्यौं।
बाटामा लाङटाङ खोला जलविद्युत् आयोजनाले २० मेगावाट विद्युत्का लागि बाटो बनाएको रहेछ। मोटरबाटो भए पनि मोटरचाहिँ नचल्ने। आयोजनाका गाडी मात्र चल्ने रहेछन्। बास बस्न हामीलाई ‘ब्याम्बो’ पुग्नु थियो। त्यसैले स्याफ्रुबेंसीमा कत्ति पनि अलमल गरेनौं। भोटेकोसीमाथिको झोलुंगे पुल र लाङटाङ खोलाको पुल तरेर अगाडि बढ्यौं।
लाङटाङ खोलासँगै बाटो हिँड्छ, बाटोसँगै खोला। हामी उसैलाई पछ्याउँदै, उसकै संगीत सुन्दै हिँड्छौं। बुद्धमन्त्र लेखिएका लुङता फहराइरहेको पहिरोमा पुग्यौं। पहिरोमा जाँदा–आउँदा पदयात्रीहरू तथा सहयोगी सुस्ताउने र चिया, खाजा खाना खाने ठाउँ रहेछ। हाइड्रोपावर कटेपछि होटलका आँगन हुँदै हामी चरक्क चर्केको घामसँगै सुनका धर्काधर्की र चाँदीले लेपन गरेका बाटाभरिका ढुंगामा आफ्ना पैताला राख्दै वनैवनको बाटो ब्याम्बो (१९७० मि) पुग्यौं। यो क्षेत्र रेड पान्डाको बासस्थान पनि रहेछ। यहाँ तीन वटा होटल थिए, शेर्पा, ब्याम्बो र टिबेटन। हामी टिबेटनमा बितायौं। यही होटलमा खाना र बास बस्यौ। प्रतिव्यक्ति १५०० तिर्यौ।
बिजुली बत्ती छैन, सोलारको धिपीधिपी उज्यालोमा बस्नुपरेको छ। स्याफ्रुबाट यत्ति नजिक पनि टेलिफोन सेवा छैन। टावरै देखाउँदैन, डाटा चल्दैन। मोबाइल चार्ज गर्न कठिन छ। तैपनि होटल साहूजीलाई अनुरोध गरेर वाइफाई चलाउने सुविधा एकछिन पाएर घरपरिवारसँग कुराकानी भयो। राम्चे (२२२३ मिटर) भीरको एउटा ढुंगामा टाँगिएको फोटो देखेर हाम्रा हिँडाइ टक्क रोकियो। फोटोले २०७२ महाभूकम्पको त्रासदी सम्झायो। लाङटाङ पदयात्रामा निस्केका इजरायली युवाको भूकम्पसँगै ओइरिएको पहिरोमा ढुंगाले किचेर यहीँ मृत्यु भएको रहेछ। उनकै सम्झनामा सो फोटो राखिएको रहेछ। ठाउँठाउँमा भेट्टाइने पहेंलपुर ऐंसलुको स्वाद लिँदै अघि बढ्यौं। दुइटा डाँडाका बीचमा अलिकति आफ्नो अनुहार देखाएर मुसुक्क हाँसेको ‘चदाङ पिक’ देख्दा रमायाैं। झन्डै ३ घन्टे हिँडाइपछि हामी ब्याम्बोबाट लामा होटल (२४१०मि) पुग्यौं। यहाँ १०÷१२ वटा होटल रहेछन्।
पहिले लामा भन्ने व्यक्तिले यता चौंरी पालेर खर्क बनाएर होटल चलाएकाले यस ठाउँलाई उनकै सम्झनामा ‘लामा होटल’ भनिएको रहेछ। त्यसबाट पनि हामी अगाडि बढ्यौं। रिभर साइड (२७६९ मि) पुगेर खाना खायौं।
अघाएको पेट बोकेर हिँड्दा हामी घोडा तबेला पुगियो। केही समय आराम गरेपछि अगाडि बढ्यौं। झोलामा दिदीले हालिदिएको भाइमसला खाँदै हाम्रो यात्रा अगाडि बढे। ठाडै उकालो आयो, गलेको जिउलाई झन् गलायो। उकाली ओराली गर्दै थाङसाप भिलेज (३२०० मि) पुग्यौं। यहाँ २÷३ वटा होटल रहेछन्। हामी टिब्बत होटलमा बास बस्यौं। भोलिपल्टको ब्रेकफास्टपछि फेरि हाम्रो यात्रा निरन्तर अगाडि बढ्यो। चिसो सिरेटो चल्न सुरु ग¥यो। लाङटाङ पुग्नुअघि म त बेस्सरी थाकें, हिँड्नै गाह्रो हुन थाल्यो। पदयात्रा छोडेर फर्कुं कि जस्तो पनि लाग्यो। मलाई चिसोले समातेको रहेछ।
डाँडामा रहेको होटलवालाले टोपी लाउन, लुगा थप्न सल्लाह दिए। मैले चिसिएको जिउमा लुगा थपेँ, ज्याकेट लाएँ। त्यसपछि अलि आराम महसुस भयो। त्यही बेला ‘इनर्जी जुस पनि खाएँ। एक गिलास जुसको ३ सय रुपैयाँ पर्दोरहेछ। लाङटाङ पुग्नुअघिको एउटा बस्ती ढुंगैढुंगाले पुरिएको रहेछ। ७२ भूकम्पको क्षति रहेछ, त्यो। भूकम्पसँगै आएको ठूलो हिउँ पहिरोले सिजनको बेला भएकाले धेरै जनधनको नोक्सानी भएको रहेछ। लामो यात्रापछि लाङटाङ भिलेज (३४७५ मि)पुग्यौं।
विशेष खालको फलामे चिम्नी चुल्होमा दाउरा हालेर आगो सल्काएपछि कोठा रनक्क तात्यो। त्यसकै वरिपरि बसेर तातो भात खायौं। तरकारी भने जुन होटलमा पनि आलुकै पाइने वन–साग अलिअलि मिसाएको र स्कुसको तरकारी मात्रै पाइने। सबै होटलमा सुकेको याक चौंरीको मासु मात्र पाइने रहेछ।
यात्रामा भेटिएका सबैले बोन पो धर्म मान्ने यताकाले आफ्नो डाइनिङ हलको एउटा छेउमा बुद्धधर्मअनुसारको मन्दिर स्थापना गरेका हुँदा रहेछन्। सबै ठाउँमा दलाई लामाका फोटा पनि देखिन्थे। क्यानजिन गुम्बा (३८५० मि) तिर निरन्तर अगाडि बढ्यौं। खुटा दुःखेर हिँड्न नसक्ने अवस्था थियो तथापि विस्तारै यात्रालाई निरन्तरता दिइरह्यौं।
बाटामा पानीबाट चलाइएको माने, छोर्तेन, लुङदार र साना गुम्बा देख्दा मनै आनन्दित भयो । ढुंगैढुंगाको अजंगका भिराला पहाड, ढुंगाकै लामा लामा छोर्तेन, ढुंगै छापेका बाटा, ढुंगैले ठडिएका घर र गुम्बा अनि बाटाभरि फुलेका फूलले हाम्रो मन प्रफुल्लित थियो। लाङटाङ र क्यानजिनको बीचमा पर्ने दुई वटा मुन्दुम (३२१३ मि) र सिन्दुम (३५५५ मि) लुङता फहराइरहेका भ्याली काटेर सानो उकालो चढ्नेबित्तिकै क्यानजिनका होटल र छेउका चौंरीखर्क छयाङ देखिए। क्यानजिन रि (४३५०) चढ्न तयारी थियो तर, सन्चो नभएर मैले चढिनँ।
यसरी लाङटाङको यात्रा सफलतापूर्व पूरा गरी क्यानजिनबाट हामी एकै दिनमा स्याफ्रुबेंसी पुग्न सक्दैनथ्यौं। बीचमा कहीँ न कहीँ बास बस्नैपर्ने थियो। हिजो–अस्ति हिँडेका बाटासँग फेरि पिरती गाँस्दै लामा होटलमै बास बसियो। लामा होटलबाट हिँडेर बाटा, जंगल र लाङटाङ खोलासँग अन्तरंग गर्दै स्याफ्रुबेंसी आइपुग्यौं। स्याफ्रु बजार घुम्यौं।
अविस्मरणीय लाङटाङ, क्यानजिन भ्याली र क्यानजिन रिको सम्झना बोकेर आठौं दिनका दिन काठमाडौं आइपुग्यौं। लाङटाङ पदयात्रामा बाटाभरि कहिले इजरायली, कहिले क्यानेडियन, न्युजिल्यान्डबासी, जापानी, भारतीय र इन्डोनेसियन, अझ बढी त इटालियन, कोरियन, कोही एकल, कोही जोडी, कोही गाइड र सहयोगीका साथ हिँडिरहेका भेटिन्थे। सबैजसोलाई दुई हात जोडेर नमस्ते भन्थें। मुसुक्क हाँसेर उनीहरू पनि नमस्ते फर्काउँथे।
दुःख, गाह्रो त भयो तर घरै बसेको भए यो भूस्वर्ग, यो हिमाली जनजीवन, यहाँको संस्कृति, यहाँको भू–बनोट, कहाँ देखिनु र कहा भोग्न पाउनू! बाटो सम्झिँदा कष्टकर लागे पनि यात्राको क्रममा नयाँ कुरा देख्न, भोग्न र सिक्न पाउने हुनाले यात्रा सकिनेबित्तिकै मान्छेले आनन्दानुभूति गर्छ। जीवनमा एकपटक यात्रा गर्नैपर्ने गन्तव्य हो–लाङटाङ।