काठमाडौं। उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग मिलेर अघि बढ्न चाहेको बताएका छन्। आज विराटनगरमा मोरङ चेम्बर अफ कमर्शले आयोजना गरेको छलफलमा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।
कार्यक्रममा मोरङका व्यवसायीले निजी क्षेत्रले व्यवसाय दर्तादेखि अहिले भोगिरहेका समस्याबारे जानकारी गराउँदै समाधानका लागि उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए।
मन्त्री सिंहले सरकारको अहिलेको मुख्य प्राथमिकता आर्थिक समृद्धि रहेको भन्दै अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए। उपप्रधानमन्त्री सिंहले ०७२ को भूकम्प, त्यसपछि कोभिडका कारण समस्यामा परेको अर्थतन्त्र उठाउन सरकारले काम गरिरहेको जानकारी दिए।
उनले देशको अर्थतन्त्र सुदृढ बनाउन उत्पादनको क्षेत्रमा जोड दिन आग्रह गर्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको भन्दै व्यवसायीलाई विश्वस्त रहन आग्रह गरे।
नेपाली कांग्रेसको नेतृत्वमा ०४८ मा बनेको सरकारले लिएको खुला बजार अर्थनीतिकै कारण देशमा निजी क्षेत्रको विकास भएको पनि उपप्रधानमन्त्री सिंहले स्मरण गराए।
‘०४६ अगाडि निजी क्षेत्रका व्यवसायीले भोगेका समस्या अहिलेको भन्दा धेरै गुणा बढी थिए। अहिले व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य बनाउन खोजिएको छ। व्यवस्था मात्र होइन, अवस्था पनि क्रमिक रूपमा सबै क्षेत्रमा परिवर्नन भएको छ’, उपप्रधानमन्त्री सिंहले भने, ‘शिक्षा, स्वास्थ्य, सडक, आर्थिक क्षेत्रलगायतमा क्रमिक रूपमा परिवर्तन भएको छ। तर, समयअनुसार नयाँ चुनौति आउँछन् । त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरामा अब जोड दिनुपर्छ। सरकार त्यसमा गम्भीर छ।’
सरकार अस्थिर हुँदा अरू क्षेत्रले जस्तै आर्थिक क्षेत्रले पनि समस्या भोगिरहेको चर्चा गर्दै उनले राजनीतिक स्थायित्वकै लागि संसद्का दुई ठूला नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपरेको बताए।
उपप्रधानमन्त्री सिंह शनिबार जदाहा गाउँपालिकामा गणेशमान सिंह फाउन्डेसन मोरङले आयोजना गरेको स्वास्थ्य शिविरमा पनि सहभागी भए। उनले फाउन्डेसनले आयोजना गरेको शिविरबाट लाभ लिनबाट जदाहाका कोही पनि नछुट्ने गरी संयोजन गर्न आग्रह गरे।
शिविरबाट करिब १ हजार नागरिकले स्वास्थ्य सेवा लिनेछन्। उपप्रधानमन्त्री सिंहले जदाहामा बनिरहेको जदाहा गाउँपालिकाको प्रशासनिक भवनको पनि निरीक्षण गरे।