काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा कुल रू. १ अर्ब ९२ करोडभन्दा बढी नाफा कमाएका छन् । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १८ दशमलव ६२ प्रतिशत बढी हो । गत आवमा यी कम्पनीहरूले कुल रू. १ अर्ब ६२ करोड नाफा कमाएका थिए ।
यी १४ जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी छ । यस कम्पनीले पहिलो त्रैमासमा रू. २५ करोड ३७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ५ दशलमव १२ प्रतिशतले बढी हो । सो अवधिमा कम्पनीले रू. २४ करोड १३ लाख नाफा कमाएका थिए ।
चालू आवको समीक्षा अवधिमा सर्वाधिक नाफा कमाउने जीवन बीमा कम्पनीको सूचीमा दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । यो कम्पनीले रू. २० करोड ५४ लाख नाफा कमाएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफले पहिलो त्रैमासमा रू. १९ करोड ९३ लाख, सन नेपाल लाइफले रू. १६ करोड ६१ लाख र आइएमई लाइफले रू. १४ करोड ५० लाख नाफा कमाएका छन् ।
१५ कम्पनीहरूमध्ये राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९४ प्रतिशत घटेको छ भने बाँकी सबै कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा वृद्धि भएको छ ।
राष्ट्रिय बीमा कम्पनीले गत आवमा रू. ३ करोड ७८ लाख नाफा कमाएकोमा चालू आवमा रू. २२ लाख ६७ हजारमा सीमित भएको छ । जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा कम नाफा कमाउनेमा पनि राष्ट्रिय जीवन बीमा कम्पनी छ ।
प्रतिशतका आधारमा गत आवको तुलनामा चालू आवमा सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा सबैभन्दा बढी ८३ दशमलव १६ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ७ करोड १४ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. १३ करोड ९ लाखभन्दा बढी पुगेको छ ।
समीक्षा अवधिमा प्रतिशतका आधारमा सर्वाधिक नाफा कमाउनेको सूचीमा दोस्रोमा रिलायबल नेपाल लाइफ छ । यो कम्पनीको नाफा ६६ दशलमव ९९ प्रतिशत वृद्धि भएको छ । यस कम्पनीले गत आवमा रू. ११ करोड ९४ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. १९ करोड ९३ लाख पुगेको हो ।