काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारी लगानीका बैंकमा बेथिति बढेको बताएका छन्। नेपाल बैंकको ८८औं वार्षिक उत्सवको अवसरमा गभर्नर अधिकारीले गल्ती गर्नेलाई सरकारी स्वामित्व भन्दैमा अब सरकार र नियामकले छुट दिँदै ‘रेस्क्यु’ नगर्ने बताएका हुन्।
‘यो बैंक धेरै दुःख गरेर यो रिकभर भएको बैंक हो, कुनै समय ६० प्रतिशतसम्म एनपिएल थियो। त्यसमा राज्यले नियामकले ठुलो लगानी गरेर, बाह्य ऋण समेत लिएर यसलाई रिकभर गरेको हो। त्यसपछि बैंकले जे जस्तो नीति निर्देशन बनायो र त्यसलाई कार्यान्यवन गराउन जुन प्रकारको नयाँ म्यानपावर त्यसले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई वास्तवमै नयाँ रुप दिएको हो।’–कार्यक्रममा गभर्नर अधिकारीले भने।
‘यी बैंकहरुमा हिजोको सबै मिसम्यानेजमेन्ट हटेर पूर्ण रुपमा बैंक नयाँ तबरमा स्थापित भएको हो। पूनः मिसम्यानेजमेन्ट हुँदैछ भन्ने कुरा हामीले सुन्न नपरोस्। यो बोर्ड र सिनियर म्यानेजमेन्ट दुवैलाई अनुरोध हो। भोलीको दिनमा यो कुरा मास्तिर नआवोस् राष्ट्र बैंकले हस्तक्षेप गर्नु नपरोस्।’
नेपाल राष्ट्र बैंक नियामक भएको नाताले सबै बैंकहरुलाई एउटै घेरा भित्र राखेर नियमन तथा सुपरीवेक्षण गर्ने गभर्नर अधिकारीले बताए। सरकारी होस् या निजी लगानीका बैंक सबैले राष्ट्र बैंकको नीति निर्देशन पालना गरेर प्रतिस्पर्धात्मक रुपले बैंकिङ सेवाहरु प्रवाह गर्नु पर्ने नीति राष्ट्र बैंकले लिएको छ।
‘कहिले काँही नियामवाली संसोधनको विषय आउँलान कहिले अन्य केही विषय होलान्, त्यसमा कहि कतै कसैले फरक पाउँनु भएमा त्यसको सुनुवाइ गर्न राष्ट्र बैंक जुनसुकै बेला पनि तप्पतर छ,’ गभर्नर अधिकारीले भने।
‘व्यक्तिगत तबरबाट र राष्ट्र बैंकको तर्फबाट पनि यहाँहरुले अन्य निजी बैंक र सरकारी बैंकले फरक प्रकारको व्यवहार राष्ट्र बैंकले गर्दैन, सरकारी बैंकले अन्य निजी बैंकहरुसँग प्रतिस्पर्धा गरेर व्यवसाय गर्नु पर्छ। सरकारी बैंकले एक दिन पनि निर्णय गर्न ढिला गर्दा ग्राहकले त्यो काम अर्कोबाट गराउँन सक्छन्।’
बैंकले आफ्नो कर्मचारीलाई सन्तुष्ट राख्न सबैमात्रै उदेश्य पुरा गर्न सक्ने र कर्मचारीहरुसँग पनि सन्तुष्ट ग्राहक हुन जरुरी हुने अधिकारीको भनाइ छ।
नेपाल बैंकको ८८औं वार्षिक उत्सवमा बैंक कर्मचारी युनियनहरुले बैंकमा कमजोर संस्थागत सुसाशन, बैंकले वार्षिक बजेट र पञ्च वर्षिय योजना कागजमा मात्रै सीमित रहेको, बजारमा अन्य बैंकहरुसँग प्रतिस्पर्धा गर्दै व्यवसाय गर्न बैंक उच्च व्यवस्थापन तथा बोर्ड नै अनिच्छुक रहेको लगायतका दजनौं असन्तुष्टी व्यक्ति गरेका थिए।
कर्मचारी युनियनका प्रतिनिधिहरु सुरेन्द्र सुरेन्द्र श्रेष्ठ, गोविन्द प्रसाद सुवेदी र जिवराज ढकालले नेपाल बैंक भित्र रहेको बेथिति बारे राष्ट्र बैंकको ध्यानाकर्षण गराएको थिए।
उनीहरुले बैंकले कर्जा लगानी र निक्षेप संकलनमा तथ्य विहिन र अनुमानको भारमा भावी लक्ष्य राखिएको, बैंकले अन्य आफ्ना कर्जा तथा निक्षेपका नयाा योजनाहरु बजारमा अन्य बैंकहरुले भन्दा ढिला ल्याउने गर्दा बैंकका सम्भावना रहेका शाखाहरुले समेत व्यवसाय गर्न नसकेको, बैंकका उच्च व्यवस्थापन व्यवासाय वृद्धि नीति ल्याउन असक्षम रहेको, नयाँ शाखा स्थापना सम्भावना नभएको स्थानमा खोलिएको, बैंकले ३५ सय जना कर्मचारीबाट उचित काम लगाएर त्यसको फाइदा लिन नसकेको भन्दै राष्ट्र बैंकले समयैमै शुधारका लागि आवश्यक काम गर्नु पर्नेे औल्याएका थिए।
सरकारको लगानी भएको बैंकलाई ढुबाउनतर्फ बैंक सञ्चालक समिति र व्यवस्थापन लागेको, कोर बैंकिङ सेवा खरिद प्रकृया अघि नबढ्दा अन्य बैंकहरुसँग प्रतिस्पर्धा गरेर ग्राहकलाई सेवा दिन नसकेको, बैंक व्यवस्थापनले खाली रहेको पदपुर्तिका लागि ध्यान नदिएको लगायत विषय कर्मचारी युनियनहरुले उठान गरेका थिए।
कार्यक्रममा गभर्नर अधिकारीले कर्मचारी युनियनका प्रतिनिधिबाट आएको विषयलाई प्राथमिकतामा राखेर बैंकलाई सुधार हुन निर्देशन दिए। कर्मचारीको उच्च मनोवल नै व्यवस्थापन सफल हुनुको सबैभन्दा ठुलो कारण हुन्छ। नेपाल बैंकका कर्मचारी र व्यवस्थापनबीचको गुनासोमा राष्ट्र बैंकको ध्यानाकर्षण भएको उनले बताएका छन्।
जनताको निक्षेप लिएर सञ्चालन भएको पब्लिक बैंकले कुन क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने, संस्थागत सुसाशन कुन हदसम्मको कायम गर्ने भन्ने विषय सबैभन्दा पहिले बैंकको बोर्ड अवगत भएर सोहीअनुसारको काम गराउनु पर्ने उनले बताए।