काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले बंगलादेश विद्युत निर्यात थालिनु नेपालका लागि ऐतिहासिक कोसेढुंगा भएको बताएका छन्।
नेपालमा उत्पादित विद्युत आजदेखि बंगलादेश निर्यात शुभारम्भ कार्यक्रममा ऊर्जामन्त्री खड्काले बंगलादेशमा पहिलो पटक विद्युत निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुंगा भएको बताएका हुन्। ‘यो कोसेढुंगा दक्षिण एसियामा दिगो र अन्तरसम्बन्धित ऊर्जा भविष्यका लागि साझा दृष्टिकोणको प्रतिवम्बि हो,’मन्त्री खड्काले भने।
ऊर्जामन्त्री खड्काले नेपाल विद्युत प्राधिकरण, बंंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत व्यापार निगमबीच गत असोज १७ गते त्रिपक्षीय विद्युत बिक्री सम्झौतामा हस्ताक्षरले यस उपलब्धिको लागि मार्ग प्रशस्त गरेको बताए। उनले बंगलादेशमा विद्युत निर्यातमा सहजीकरण गर्ने भारत सरकार र विद्युत आयत गर्ने बंगलादेश सरकारलाई धन्यवाद दिए।
उनले सम्झौता र निर्यातले दुई देशबीचको आर्थिक विकासलाई सहयोग पुग्नुका साथै एकताबद्ध हुन सहयोग पुगेको उल्लेख गरे। नेपाल–भारत र बंगलादेशबीच गत असोज १७ मा त्रिपक्षीय सम्झौता भएर भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत निर्यात अनुमति दिएसँगै आजदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात सुरु गरिएको हो।
नेपालका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री खड्का, भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिर खानले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको स्वीच अन गरेर औपचारिक थालनी गरेका थिए।
कार्यक्रममा भारतका विद्युतमन्त्री खट्टरले भारतको प्रसारण लाईन प्रयोग गरेर दक्षिण एशियाली मुलुकमा विद्युत विस्तार गर्ने काम सराहनीय भएको बताए। उनले नेपालका विभिन्न जलविद्युत परियोजनामा भारतले लगानी गरेको भन्दै उक्त परियोजनाका सम्पन्नताले विद्युत विस्तारमा थप सहजीकरण हुने उल्लेख गरे। मन्त्री खट्टरले नेपालको विद्युत उत्पादन विकासमा भारत सहयोग गर्न तयार रहेको बताए।
बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार खानले क्षेत्रीय उर्जा समन्वयका लागि यस्ता सम्झौताले ठूलो सहयोग पुगेको जनाए। यस्ता सहकार्यले एकीकृत ऊर्जा विकासमा दक्षिण एसियाली देशलाई समृद्ध बनाउँदै दिगो विकासलाई सहयोग पुग्ने उनको भनाइ थियो।
उनले कार्बन उत्सर्जनलाई शून्यमा झार्ने नीति लिएको बंगलादेशलाई नवीकरणीय ऊर्जाको बाटोमा जान नेपालका जलविद्युतले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले त्रिदेशीय ऊर्जा सम्झौता र निर्यात दक्षिण एसियाको इतिहासमा लामो समयसम्म स्मरणीय हुने बताए।
सम्झौताअनुसार नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत बङ्गलादेश निर्यात गर्नेछ । नेपालले निर्यात गरेको विजुली ४०० केभी प्रसारण लाइन हुँदै ढल्केबरबाट भारतको मुजफ्फरपुर–बहरामपुर हुँदै बंगलादेशको भेरमारासम्म पु¥याइनेछ । यो याममा आज एक दिन मात्र बिजुली निर्यात हुनेछ।
कार्यक्रममा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ, मन्त्रालयका वरिष्ठ ऊर्जा प्रबल अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, ऊर्जा मन्त्रालयका सहसचिवद्वय चिरञ्जीवी चटौत र जीवछ मण्डल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी थिए।