क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ। कात्तिक २५ गते कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि रविमाथि थप अनुसन्धान गर्न पुनः म्याद थपिएको हो। रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि १३ दिन म्याद थप गरिएको छ।
कोसीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन्। मानव तस्करी आरोप लागेका अधिकारीलाई कात्तिक २५ गते अदालतबाट अनुमति लिएपछि प्रहरीले पक्राउ गरेको हो। अधिकारीलाई प्रहरीले मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ। कात्तिक २५ गते पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।
गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका छन्। ज्यान मार्ने उद्योगअन्तर्गतको कसुरमा सर्वोच्च अदालतबाट दोषी ठहर भएको एक सातामै उनलाई पक्राउ गरेर कारागार पठाइएको हो। गुन्डा नाइकेका रूपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई खुकुरी प्रहार गरी घाइते बनाएको २० वर्षअघिको घटनामा मनाङेलाई सर्वोच्चले गत कात्तिक २० मा दोषी ठहर गर्दै ५ वर्ष कैद हुने गरी फैसला गरेको थियो।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठकले उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको छ। कात्तिक २७ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बसेको प्राधिकरण बोर्ड बैठकले उक्त निर्णय गरेको हो। डेडिकेटेड र ट्रंकलाइन बक्यौता तिर्न ३ महिनाको समय सकिएको भन्दै विद्युत प्राधिकरणले कात्तिक ८ मा ३४ उद्योगमा बिजुलीको लाइन काटेको थियो।
नेपालले विधिवत् रुपमा बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ। गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले कात्तिक ३० देखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्न थालेको हो। विद्युत् निर्यातको उद्घाटन भर्चुअल रुपमा भारत, नेपाल र बंगलादेशका ऊर्जामन्त्रीले गरेका हुन्। दैनिक ४० मेगावाटका दरले ५ महिनासम्म निर्यात हुँदा एक वर्षमा १ लाख ४४ हजार मेगावाट आवर बिजुली बंगलादेश बेचिनेछ।
वायुसेवा कम्पनीले आफूखुसी हवाई भाडा बढाएपछि आलोचित हुँदै आएको सरकारले देशी–विदेशी वायुसेवा कम्पनीसँग भाडा नियन्त्रण गर्न पाँचबुँदे सहमति गरेको छ। कात्तिक २४ गते हवाई भाडा नियन्त्रणका लागि बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), सरकार र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका प्रतिनिनिधिबीचको छलफलपछि भाडा नियन्त्रण गर्न पाँचबुँदे सहमति भएको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए।
पर्यटकीय तथा सांस्कृति सम्पदा स्थल काठमाडौं विश्वकै छैटौं प्रदूषित सहर बनेको छ। कात्तिक २९ गते मापन गरिएको आईक्यू एयर मापनमा काठमाडौं विश्वकै छैटौं प्रदूषित सहर बनेको हो। काठमाडौंको एक्यूआई १ सय ७० रहेको छ, जुन हावाको गुणस्तरलाई अस्वस्थ मानिन्छ।
नागढुंगादेखि सिस्नेखोला सडक खण्ड कात्तिक ३० बाट आंशिक गरिएको छ। उक्त सडक खण्ड आगामी मंसिर ५ गतेसम्म आंशिक रुपमा बन्द हुने भएको हो। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार दैनिक बिहान ११ देखि दिउँसो २ बजेसम्म सडक बन्द रहने छ। धादिङतर्फ सुरुङको मुखमा स्लोप कटिङको काम गर्नुपर्ने भएकाले उक्त अवधिभर उक्त सडकखण्ड आंशिक रुपमा बन्द रहने आयोजनाले जनाएको छ।
यो साता सेयर बजार ७३.२७ अंकले बढेको छ। साताको पाँच कारोबार दिनमा दुई कारोबार घटेर तीन कारोबार बढेदा सेयर बजार ७३.२७ अंकले बढेर २७४८.७८ बिन्दुमा सीमित भएको छ। गत साताको दुई कारोबार दिनमा दुई दिन नै घट्दा २.११ अंकले घटेर सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६७५.५१ बिन्दुमा रोकिएको थियो। यस साता नेप्सेमा कुल ४६ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता भने ९ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।