काठमाडौं। पछिल्लो पुस्तामा सूचना प्रविधि (आईटी) स्टार्टअपप्रतिको उत्साह निकै बढेको छ। खासगरी विद्यालयमा भरखरै हुर्कँदै गरेका विद्यार्थी तथा युवा पुस्तामा नयाँनयाँ स्टार्टअप विकास गर्ने, इनोभेसन गर्ने, परीक्षण गर्ने र अभ्यास गर्ने क्रम बढ्दो छ।
नयाँनयाँ अनलाइन प्लेटफर्म तथा एप विकास गरेर लन्च गर्ने, विश्वमा चलेका प्रविधि प्रयोग र उत्पादनको प्रयत्न गर्ने कार्यमा नयाँ पुस्ता रोचक ढंगमा लागिपरेका छन्।
नेपालमा थुप्रै विद्यालय तथा क्याम्पसले पनि आफ्ना विद्यार्थीलाई आईटी क्षेत्रमा उत्प्रेरित गर्ने खाले योजना, काम र प्लेटफर्म उपलब्ध गराउँदै आएका छन्। आईटी–स्टार्टअप क्षेत्रको शिक्षा दिएर पछिल्लो पुस्तालाई यही क्षेत्रमा अब्बल बनाउने विद्यालयको प्रयासले पनि आईटीप्रतिको चासोलाई थप मजबुत बनाएको छ। पछिल्लो समय हुने हरेक आईटी–स्टार्टअप प्रदर्शनीमा युवा पुस्ताको उत्साहपूर्ण उपस्थिति र उनीहरुको नयाँनयाँ प्रयत्न तथा इनोभेसन देख्न सकिन्छ।
कात्तिक २९ गतेबाट सुरु भएको टेकस्पायर स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४ मा पनि युवापुस्ताको उपस्थिति निकै उत्साहपूर्ण देखिन्छ। काठमाडौंमा सुरु भएको दुई दिने स्टार्टअप एन्ड आईडिया फेस्टमा सातै प्रदेशका विभिन्न ठाउँबाट करिब एक सया बढी आईटी–स्टार्टअप प्रदर्शनमा राखिएका छन्। उक्त प्रदर्शनी देखाउन तथा आफ्ना विद्यार्थीलाई पनि त्यसमा प्रेरित गर्न दजनौं विद्यालयले आफ्ना विद्यार्थी त्यहाँ पुर्याइरहेका छन्।
तर, सरोकारवाला पछिल्लो पुस्तामा देखिएको आईटी–स्टार्टअपप्रतिको उत्साहलाई मुलुकको उत्पादन र रोजगारीमा रुपान्तरण गर्न नीति र लगानी आवश्यक भएको बताइरहेका छन्। लिभिङ वीथ आइसिटीका अध्यक्ष राजन लम्साल पछिल्लो युवा पुस्तामा देखिएको आईटीतर्फको आकर्षणलाई सम्बोधन गरी यस क्षेत्रको विकासका लागि सरकारले नीतिगत सुधारमा ध्यान दिनुपर्ने बताउँछन्।
‘पछिल्लो समय आईटी तथा स्टार्टअप क्षेत्रमा नयाँनयाँ प्रविधि विकास गर्नेक्रम बढ्दो छ भने यसप्रति धेरैको चासो पनि बढेर गएको छ,’ लम्साल भन्छन्, ‘सरकारले नीतिगत सुधार गरेर यस क्षेत्रमा लागेका व्यक्तिलाई प्रोत्साहन गरेर जान आवश्यक छ।’ उनले आईटी तथा एआईसम्बन्धी कानुन, सरकारको लगानी तथा निजी क्षेत्रलको प्रोत्साहन आवश्यक भएको बताए। निजी क्षेत्रले गरिरहेको स्टार्टअप इकोसिस्टमको विकासमा, रिसर्च, इन्नोभेसन, इन्क्युबेसन र प्रवर्द्धनमा सरकारले अग्रसरता लिनुपर्ने लम्सालको तर्क छ।
नेपाल चेम्बर अफ कर्मसको स्टार्टअप एन्ड आइडिया कमिटीका अध्यक्ष पंकज जलान आईटी क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक भएको बताउँछन्। पछिल्लो हरेक आईटी तथा स्टार्टअप प्रदर्शनी तथा कार्यक्रममा विद्यार्थी, युवा पुस्ता तथा नागरिकको प्रयत्न देखिएको समयमा यसलाई सहयोग गरेर विकासमा योगदान गर्नुपर्ने जलानको तर्क छ। युवा पुस्ताले गरेको प्रयत्नलाई सहयोग गरे यसले मुलुकको आर्थिक विकास र रोजगारी सिर्जनामा योगदान गर्ने उनले बताए।
नेपाल उद्योग परिसंघ आईटी काउन्सिल अध्यक्ष अजित शाहले सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय सरकारले चासो देखाएपनि यसलाई थप बढाउँदै लग्न आवश्यक भएको बताए। टेकस्पायर कलेजका सीईओ तथा प्रिन्सिपल लक्ष्मण पोखरेलले आईटी क्षेत्रमा हरेक वर्ष नयाँनयाँ जनशक्ति तयार गर्ने उद्देश्यले काम गरिरहेको बताए। आफू र आफ्नो कलेजले सँधै आईटी तथा स्टार्टअप क्षेत्रमा चासो राख्ने व्यक्तिलाई प्रोत्साहन तथा फन्डको व्यवस्था गर्दै आएको उल्लेख गरे।
आइसिटी अवार्ड २०२४ को प्रि–इभेन्टको रूपमा आयोजना भएको फेस्टमा सातै प्रदेशबाट छनौट गरेर ल्याइएका ३० बढी स्टार्टअपका साथै आइसिटी अवार्ड २०२४ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १० स्टार्टअप, १२ राइजिङ स्टार इन्नोभेसन तथा उत्कृष्ट १३ प्रडक्ट र सोसल इन्नोभेसन प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा युवा पुस्ताको उत्साहजनक उपस्थिति देखेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस क्षेत्रका लागि नीतिगत तथा पूर्वाधार विकासमा काम गर्ने उल्लेख गरे।
‘हाम्रोमा आईटी दशक घोषणा गर्ने, पार्कहरु बनाउने कुरा गर्ने तथा बजेट नछुट्याउने प्रवृत्ति देखिएको छ। यसर्थ, यस वर्ष हामी नीतिगत सुधारको काम गरेर आगामी आर्थिक वर्षदेखि बजेटको व्यवस्था गरेर पूर्वाधारमा काम गर्नेछौं,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘नयाँ पुस्तामा देखिएको उत्साहलाई लक्षित गर्दै सरकार लगानी गरेर अगाडि जानेछ।’ उनले आगामी आर्थिक वर्षबाट निश्चित कार्यक्रम छुट्याएर बजेटको व्यवस्था गर्दै रोजगारी सिर्जना र उत्पादनमा काम गर्ने बताए।
स्टार्टअप फेस्टमा अभियान्त्रिक कर्मशाला, बसियो सर्भिसेस, क्रिम्सन टेक, डार्क म्याटर गेम प्रडक्सन, फेन्टासी गेम्स, जियोभेसन नेपाल, हेल्थ याद आयो, ट्याकुम डिजिटल, युवासफ्ट टेक्नोलोजिज र ज्याप सर्भिसेस, बिबाबो, बजेट ३६०, कम्प्रेहेन्सिभ रिकन्सिलेसन सिस्टम, इमेडिओयर, इनिर्माण, जिकवज, खातापाना, कोइली, मुनिसिपालिटी सर्भिस पोर्टल, माइ पालिका र तेज हेल्थ केयरजस्ता नयाँ स्टार्टअप देख्न सकिन्छ।
एरोगार्ड, एआई इमेज डिटेक्सन, बालि विज्ञान, साइफरभोट, डिआर फिस, एआइ पोलिसी ट्रयाकर, विपद पोर्टल, कता हो, इकागजपत्र, जियोकृषि, ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट नेपाल, केयु कृषि, एलएमसी अलर्ट, लोकल लेभल जस्टिस म्यानेज्मेन्ट सिस्टम, मोबाइल हेल्थ फर केयर कोअर्डिनेसन, एनएस एप, सफा नेपाल, टेलिमेडिसिन ब्रिजिङ हेल्थकेयर ग्याप जस्ना आधुनिक फिचरसहितका स्टार्टअप पनि युवा पुस्ताले प्रदर्शनीमा राखेका छन्। साथै, रकेट साइन्स एक्जिबिसन, स्टिम क्याप र रोबोटिक प्रतिस्पर्धा जस्ता दजनौं प्रोडक्ट पनि प्रदर्शनीमा राखिएका छन्।