काठमाडौं। चीनको अग्रणी विद्युतीय सवारी साधन निर्माता कम्पनी बिवाईडीले दक्षिण कोरियाली अटो बजारमा कम लागतका ईभी लन्च गर्ने तयारी थालेको छ। बिवाईडीले औपचारिक रूपमा आफ्ना कम लागतका विद्युतीय गाडीलाई कोरियामा लन्च गर्ने योजना बनाएको घोषणा गरेको हो। यसले घरेलु अटो निर्माता कम्पनी हुन्डाई र कियालाई घरेलु बजारमै चुनौती दिनेछ।
यो साता बिवाईडी कोरिया शाखाले दक्षिण कोरियाली बजारमा यात्रुवाहक कार लन्च गर्ने समीक्षात्मक प्रक्रिया पूरा गरेको घोषणा गरेको छ। बिवाईडीले आगामी वर्षको सुरुमै गाडी लन्च गर्ने योजना बनाए तापनि निश्चित मिति भने तोकेको छैन। कम्पनीले बिक्री र सेवा नेटवर्कका लागि काम गरिरहेकाले यससँग सम्बन्धित थप जानकारी चाँडै सार्वजनिक गर्ने जनाएको छ।
बिवाइडीले कोरियामा २०१६ देखि व्यवसायिक सवारी साधनहरू बेच्दै आए पनि पहिलो पटक यात्रुवाहक गाडी लन्च गर्ने तयारी गरेको हो। बिवाइडी सस्तो ईभी मोडेलहरूको लागि परिचित छ, जसमा सिंगल (विदेशमा डल्फिन मिनी), डल्फिन, र एट्टो ३ यसयूभी सामेल छन्।
बिवाईडीले हुन्डाई र कियालाई सस्तो ईभीमार्फत टक्कर दिने
कोरियाली कम्पनी हुन्डाई र कियाले पनि नयाँ कम लागतका ईभी ल्याउने तयारी गरेका छन्। जुलाईमा हुन्डाईले आफ्नै घरेलु बजारमा नयाँ क्यास्पर इलेक्ट्रिकको प्रि–अर्डर खोलेको छ। जसको मूल्य २३ हजार डलर (३१.५ मिलियन वोन) बाट सुरु हुन्छ।
गत महिना कम्पनीले नयाँ प्रिमियम ट्रिम लन्च गरेको छ, जसको सुरुआती मूल्य २० हजार डलर (२७.४ मिलियन वोन) छ। हुन्डाईको नयाँ ईभी मोडललाई ७ हजार ३ सय डलर (१० मिलियन वोन) मा खरिद गर्न सकिने कम्पनीले बताएको छ। कियाको कम्प्याक्ट ईभी३ इलेक्ट्रिक एसयूभीले पनि कोरियामा गेम चेन्जर बन्ने तयारी गरिरहेको छ।
सस्तो इलेक्ट्रिक एसयूभीको मूल्य ३० हजार ७ सय डलर (४२.०८ मिलियन वोन) बाट सुरु हुन्छ। सेप्टेम्बरमा, कियाले कोरियामा ईभी३ र आगामी ईभी४ मोडल उत्पादन गर्न आफ्नो पहिलो ईभी ओनली प्लान्ट ईभीओ खोलेको थियो। ईभी४ कियाको प्रवेश स्तरको इलेक्ट्रिक सेडान हुनेछ,जुन अर्को वर्ष आउने कम्पनीले जनाएको छ।
ईभीओ प्लान्टले वार्षिक १ लाख ५० हजार कम लागतका ईभी उत्पादन गर्ने क्षमता राख्छ।
कोरियाका अटो निर्माता कम्पनीले बिवाईडीका डल्फिन, एट्टो ३ र सिल जस्ता विद्युतीय मोडलसँग प्रतिस्पर्धा गर्नेछन्। चीनमा बिवाइडीको सीगल ईभीको प्रारम्भिक मूल्य १० हजार डलरभन्दा तल (६९,८०० युआन) राखिएको छ।
ब्राजिल र मेक्सिको जस्ता अन्य बजारमा पनि डल्फिन मिनीको सुरुवाती मूल्य लगभग २० हजार डलर रहेको छ। सस्तो विद्युतीय सवारी साधनको माग बढ्दो क्रममा रहेको हुँदा आगामी वर्षमा कोरियामा ईभी बिक्री कसरी अगाडि बढ्छ भन्ने हेर्न रोचक हुनेछ।