काठमाडौं। भारतपछि नेपालबाट तेस्रो मुलुक बंगलादेशमा आजबाट विधिवत विद्युत् निर्यात सुरु भएको छ। नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेसँगै विद्युत् निर्यात सुरु भएको घोषणा गरिएको हो।
आज १२ः४५ बजेबाट सुरु भएको ४० मेगावाट विद्युत् निर्यात राती १२ बजेसम्म निरन्तर रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।असोज १७ मा भएको नेपाल, भारत र बंगालादेशबीचको त्रिपक्षिय विद्युत् निर्यात सम्झौताअनुसार हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म (५ महिना) मात्रै बंगलादेशमा विद्युत् निर्यात हुनेछ। दैनिक ४० मेगावाटका दरले एक वर्षमा ५ महिनासम्म विद्युत् निर्यात हुँदा एक वर्षमा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ।
बंगलादेशसँगको विद्युत् निर्यात सम्झौता अवधि ५ वर्षको रहेको विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए। आज एक दिन (११ घन्टा) मा निर्यात हुने बिजुलीको बजार मूल्य करिब ३७ लाख ९३ हजार ४३३ रुपैयाँ ६० पैसा हुने प्रवक्ता घोषले बताए। प्रतियुनिट ६.४० अमेरिकी सेन्टअनुसार विद्युत् निर्यात भएको हो। यसरी नेपालले मासिक ३३ करोड रुपैयाँ आम्दानी गर्नेछ।
२५ मेगावाटको त्रिशूली जलविद्युत आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाबाट बंगालादेशमा विद्युत् पठाइएको हो। बंगलादेश विद्युत् निर्यात गर्न भारतीय भूमि र प्रसारण लाइन प्रयोग गर्नुपर्ने हुन्छ। यसले असोजमा त्रिपक्षिय सम्झौता भएको थियो।
बिहीबार भारतको केन्द्रीय विद्युत् नियमन आयोगले आफ्नो भूमि र प्रसारण लाइन प्रयोग गर्न स्वीकृत दिएसँगै नेपालबाट बंगलादेशमा विद्युत् निर्यातको बाटो खुलेको हो। नेपालबाट ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनमार्फत भारतको मुजफ्फरपुर बिन्दुसम्म विद्युत् जानेछ।
मुजफ्फरपुरबाट बहरामपुर–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन प्रयोग गरेर बंगालादेशसम्म विद्युत् निर्यात् हुने प्राधिकरणले जनाएको छ। बंगलादेश निर्यात भएको विद्युत मिटर भने भारतको मुजफ्फरपुरमा रहनेछ। भारतले पनि आफ्नो प्रसारण लाइन प्रयोग गर्न दिएबापत केही शुल्क लिनेछ।
एक देशबाट अर्को देशमा निर्यात हुने विद्युत् दैनिक ४० मेगावाट मात्रै हुनु थोरै जस्तो देखिए पनि यसको महत्व धेरै रहेको प्राधिकरणले जनाएको छ। असोज १७ मा काठमाडौंमा भएको सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम र भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)का प्रमुख कार्यकारी अधिकृत रेणु नारङले हस्ताक्षर गरेका थिए।
विद्युत् निर्यातको भर्चुअल उद्घाटनमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर र बंगलादेशका विद्युतमन्त्री मोहम्मद फौउजुल कबिर खान सहभागी थिए। नेपालबाट बंगलादेश विद्युत् निर्यात गर्न सन् २०१८ मै सहमति भएको थियो। तर, उक्त सहमति द्विपक्षीय अर्थात् भारतको स्वीकृति नहुँदा समय लम्बिएको हो।