काठमाडौं। महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसद्वारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानी माध्यमबाट नेपालमा भुक्तानी सेवा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपालमा यस्तो समझदारी गर्नेमा महालक्ष्मी पहिलो विकास बैंक बनेको छ।
सम्झौतापछि चीन, हङकङ, मकाओ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया र इटालीजस्ता मुलुकबाट नेपाल घुम्न आएका पर्यटकले अलिपे प्लस नेटर्वकमा आबद्ध भएका विभिन्न डिजिटल भुक्तानीका माध्यम प्रयोग गरी बैंकले उपलब्ध गराएका क्यूआरमा सहज रुपमा क्युआर पेमेन्ट गर्न सक्नेछन्।
यस्ता कार्यबाट नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुग्नुका साथै राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो। हाल बैंकले १०३ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ।