काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सवारीसाधन कर्जा (ओटोलोन) को सीमामा हेरफेरको संकेत गरेपनि नेपाल राष्ट्र बैंकले भने तत्काल यसमा नगर्ने भएको छ ।
राष्ट्र बैंकले अटोलोनमा गरेको ५० प्रतिशत डाउन पेमेन्टको व्यवस्थाले व्यवसाय ओरालो लागेपछि व्यवसायीहरु सरकार गुहार्दै अर्थमन्त्री डा. खतिवडा र राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबि नेपाललाई भेटेर सीमा घटाउन आग्रह गरेका थिए ।
गत साता नाडा अटो मोबाइल्स एशोसिएशनको नयाँ कार्य समिति अर्थमन्त्री भेट्न मन्त्रालय पुगेको थियो । सो भेटघाटमा राष्ट्र बैंकको नेतृत्व गर्दै डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी मन्त्रालय पुगेका थिए ।
सो भेटमा अर्थमन्त्री खतिवडाले अटोलोनको डाउन पेमेन्टमा लचकता अपनाउने आश्वासन व्यवसायीलाई दिएका थिए । त्यस लगत्तै व्यवसायीहरु अटोलोन सीमाको नयाँ निर्देशन कुरेका छन । तर राष्ट्र बैंक तत्काल सीमा घटाउने पक्षमा छैन ।
‘तत्काल अटो लोनको सीमा घटाउने विषयमा कुरा भएको छैन ।’ डेपुटी गभर्नर शिवाकोटीले क्यापिटल नेपाललाई भने । अटो बजारको अवस्था हेरेर यस विषयमा पुर्नविचार भने गर्न सकिने उनले स्पष्टपारे । समितिका संयोजक समेत रहेका शिवाकोटीले यस विषयमा छलफल नै नभएको जानकारी दिए ।
राष्ट्र बैंकको नीतिकै कारण अटो बजार ६० प्रतिशतको हाराहारीमा ओरालो लागेको छ । नाडा अध्यक्ष दुलालले डाउन पेमेन्टमा लचिलो हुन सरकारलाई आग्रह गरेको बताए ।
राष्ट्र बैंकका अनुसार चालु आवको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरुले २ अर्ब ३७ करोड ९० लाख बराबरको अटोलोन प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुले ९ अर्ब ६५ करोड ८६ लाख रुपैयाँको अटोलोन प्रवाह गरेका थिए । गत वर्षको तुलनामा यो वर्ष ७ अर्ब २६ करोड ९६ लाख रुपैयाँ अटोलोनमा कमी आएको छ ।
त्यसका साथै बैंकहरुले ऋण दिन कडाइ गरेको तथा ऋण लिन कर चुक्ताको प्रमाणपत्र पेश गर्नुपर्ने प्रक्रियागत झन्झट बढाइदिएकोले पनि अटोलोन घटेको व्यवसायीहरुको भनाई छ ।
बैंकहरुले कर्जामा कडाई गरेका कारण पनि अटो लोनमा कमी आएको हो । त्यस्तै,सरकारले व्यापारघाटा कम गर्न अति विलासीताका बस्तुको आयातमा कडाई गरेका कारण पनि अटो क्षेत्रको कारोबारमा कमी आएको छ ।
।