स्व. राजा महेन्द्र शाहले छोरी अधिराजकुमारी शान्तिको विवाह गर्ने तयारी गर्दा विदेशी पाहुनालाई राख्ने कुनै स्तरीय होटल भेटेनन्। अधिराजकुमारी शान्तिको विवाहमा धेरै विदेशीलाई निम्तो दिइए पनि राख्ने ठाउँ स्तरीय नभएको महसुस गर्दै नेपालमा तारे होटल अभाव देखे। त्यही बेला प्रिन्सेस हिलेन शाहले दरबारमार्गमा सुविधासम्पन्न घर बनाइरहेका थिए।
खासमा हिलेनले त्यहाँ सुविधासम्पन्न अपार्टमेन्ट बनाइरहेका थिए। राजा महेन्द्रले सोही अपार्टमेन्टलाई होटलको स्वरुप दिने सोच बनाएर हिलेनलाई अनुरोध गरे। सोही अपार्टमेन्टलाई तारे होटलको रुप दिए। सन् १९६५ अगस्त ६ (विसं. २०२२ साउन ६ मा औपचारिक रुपमा होटल सञ्चालनमा आयो। सोल्टी होटल त्यसको एक वर्षपछि अर्थात् वि.सं. २०२३ मंसिर १० मा उद्घाटन भएको थियो।
४० कोठाबाट सुरु गरिएको होटललाई विदेशी ब्रान्डजस्तै लक्जरी बनाइएको थियो। त्यो बेला नेपालमा चेन होटल वा सुविधासम्पन्न होटल सञ्चालन नभइरहेका बेला अन्नपूर्ण सञ्चालन गर्दा महाप्रबन्धकको रुपमा विदेशीलाई नै ल्याइएको थियो। अमेरिकाको विश्वप्रसिद्ध ब्रान्ड हिल्टेनसँगको सहकार्यमा महाप्रबन्धक पठाइएको थियो। उनकै पहलमा विदेशी ब्रान्ड हिल्टेन व्यवस्थापनको रुपमा नेपाल भित्रिएको थियो।
अन्नपूर्ण होटल सञ्चालिका सिर्जना राणाले सुरुमा सञ्चालन गर्दा ज्ञान र सीप नभएकै कारण विदेशीलाई व्यवस्थापकको रुपमा ल्याउनुपरेको बताइन्। पछि हिल्टनले १० वर्षसम्म व्यवस्थापन गरेपछि नेपालीले नै व्यवस्थापन गर्न सक्लान् भन्ने सोचले अन्नपूर्णकै नाममा सञ्चालन गरिएको उनले बताइन्।
नेपाली व्यवस्थापनमा सञ्चालन गरिरहँदा फेरि विश्वप्रसिद्ध ब्रान्ड ताजले प्रस्ताव राखेपछि उसलाई १५ वर्षसम्म जिम्मा दिइएको थियो। पछि अन्नपूर्ण आफंैले व्यवस्थापन सम्हाल्दै आएको छ। कोभिड–१९ पछि ऐतिहासिक महत्त्वको होटल बन्द छ।
होटलका लागि बनेको भवन झन्डै ६ दशक पुरानो भइसकेकाले अहिले अन्नपूर्णलाई पूर्ण रुपमा पुनर्निर्माण तयारी थालिएको सञ्चालिका राणाले जानकारी दिइन्। होटललाई लक्जरी बनाउन र नयाँ रुप दिन साझेदारको रुपमा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ र लिटिल एन्जल स्कुलका सञ्चालक उमेश श्रेष्ठलाई भित्र्याएका छन्। साझेदार भित्रिएसँगै द्रुत गतिमा होटल निर्माण गर्ने र अबको पाँच वर्षभित्रै पुनःसञ्चालनमा ल्याउने योजना बनाइएको छ।
लक्जरी होटल खोल्ने विदेशी नागरिक
तारे होटलको रुपमा अन्नपूर्ण पहिलो भए पनि लक्जरी होटल भने नेपालमा वि.सं. १९५० मा रुसी नागरिक बोरिस लिसानेभिचले काठमाडौंमा खोलेका थिए। बोरिसले त्यो बेला राणा तथा राजपरिवारसँगको सहकार्यक्रमा कान्तिपथमा हाल निर्वाचन आयोग र उपराष्ट्रपति कार्यालय राखिएको बहादुर भवनमा लक्जरी होटल (रोयल होटल) स्थापना गरेका थिए। बोरिसलाई नेपालको पर्यटन उद्योगले पर्यटन क्षेत्रमा पहिलो जग हाल्ने व्यक्तिका रुपमा लिँदै आएको छ। (क्यापिटल म्यागजिनकाे असाेज अंकबाट)