काठमाडौं। ६ महिना अघिसम्म बजारमा खाने तेलको मागनै नभएको भन्दै क्षमता भन्दा धेरै कम उत्पादन गर्दै आएको तेल उद्योगहरु अहिले पूर्ण क्षमता चल्न थालेको छ।
पछिल्लो २ महिनादेखि ती खाने तेलका उद्योगहरु पूर्ण रुपमा चलेको मात्र छैनन्, उत्पादनहरु पूर्ण रुपमा बिक्री समेत हुन थालेको छ। बजारमा उत्पादन मात्र बढेको छैन त्यसमा आबद्ध उद्योगी व्यवसायीहरुको मुहारमा हासोसमेत फर्किएको छ। व्यवसायीहरुको मुहारमा हासो फर्काउने माध्यम बन्यो– भारतमा निकासीको बाटो खुल्नु। भारतले नेपालबाट तेल आयातको बाटो खुला गरेसँगै अहिले उद्योगी व्यवसायीहरु धमाधम तेल उत्पादन बढाउँदै निर्यातमा लागिरहेका छन्।
नेपाल चामल, तेल, दाल उद्योग संघका पूर्वअध्यक्ष सुवोध गुप्ताले नेपालबाट भारतमा तेल निर्यात सुरु भएको बताए। ‘पछिल्लो ढेड, दुई महिनादेखि भारतमा तेल निर्यात हुन थालेको छ,’ पूर्व अध्यक्ष गुप्ताले भने, ‘नेपाली उद्योगका लागि यो सुनौलो अवसर हो।’ भारतले जति पनि तेल लिने भएपछि अहिले उद्योगहरुले पूर्ण क्षमतामा उद्योग चलाउन थालिएको उनले बताए।
वीरगन्जमा मात्र १२ वटा र मुलुकभरी गरी २६ भन्दा बढी तेल उद्योग रहेको छ। ती उद्योगहरुको उत्पादनको ९० प्रतिशत बजार भारत नै हो। तर, केही वर्ष अघि भारतले तेल आयातमा रोक लगाएपछि नेपालको उद्योग शिथिल बनेको थियो। र, अधिकाशं उद्योगहरु बन्द भएका थिए भने चलेका उद्योग आंशिक मात्र चलेका थिए।
नेपालमा रहेका उद्योगको क्षमताको १० प्रतिशत मात्र उत्पादन यहाँ बिक्री हुने गरेको पूर्व अध्यक्ष गुप्ताको भनाइ छ। अहिले भारतले तेल निर्यातको बाटो खुला गरेपछि सबै उद्योगले तयारी थालेको र ठूलो मात्रामा पठाउने तयारी गरिरहेको व्यवसायीहरुको भनाइ छ।
त्रिवेणी ग्रुपका निर्देशक एवंम अमृत आयलका सञ्चालक साकेत संघाइले डेढ महिनादेखि भारतमा तेल निर्यात हुन थालेको बताए। अहिले दैनिक २०० देखि ३०० टनसम्म तेल भारतमा निर्यात हुन थालेको उनको भनाइ छ।
कच्चा पदार्थ अभावको कारण माग अनुसारको तेल उत्पादन गर्न नसक्दा निर्यातमा समस्या भइरहेको उनको भनाइ छ। अहिले त्रिवेणी ग्रुपको अमृत ब्राण्डले सनफ्वार र भटमासको दैनिक १०० टन, निम्बसको ब्यञ्जन ४० टनसम्म भारतमा निर्यात गर्दै आएको छ। यस्तै दुगड, लक्की र गणपतीले पनि सोही संख्यामा तेल निर्यात सुरु गरेको छ।
‘तेल निर्यातको कुनै कोटा नभएकाले जतिसक्दो धेरै उत्पादन गरेर भारत पठाउने तयारीमा थालेका छौं,’ एक उद्योगीले भने, ‘कच्चा पदार्थको अभावले माग अनुसार पठाउन सकिएको छैन।’
खासगरी केही महिना अघिसम्म नेपालमा तेलको खपतनै कम हुँदा व्यवसायीहरुले कच्चा पदार्थ कम मात्रामा ल्याएका थिए। तर भारतले एक्कासी आयातको बाटो खुला गरेपछि नेपाली व्यवसायीहरु धमाधम कच्चा पदार्थ ल्याएर तेल उत्पादनमा लागिरहेका छन्।
शून्य प्रतिशत भन्सारले भारतीय लोभिए
दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सम्झौता अनुसार नेपालबाट भारतमा तेल आयात गर्दा शून्य प्रतिशत भन्सार महसुल हुन्छ। भारतले नेपाल बाहेक अन्य मुलुकबाट तेल आयात गर्दा २० प्रतिशत भन्सार लाग्ने र नेपालबाट शुन्य भन्सारमै तेल आउने भएपछि भारतीय बजारमा नेपाली तेल अन्य मुलुकको भन्दा सस्तो हुन्छ।
त्यही भएर नेपालमा उत्पादन भएको तेलको माग भारतमा अन्य मुलुकको भन्दा राम्रो भएको उद्योगीहरुको भनाइ छ।
भारत निर्यात थालेपछि स्वदेशमा मंहगियो मूल्य
२ महिना यता नेपाली बजारमा खाने तेलको मूल्य आकाशिएको छ। एक लिटर तेलमा ४० रुपैयाँसम्म मूल्य बढेको छ। सुरुमा कच्चा पदार्थको मूल्य बढेको कारणले नेपाली बजारमा मूल्य बढेको बताए पनि भारत निर्यात सुरु भएको कारण बढाएको देखिन्छ।